मल्कीसेदेक को थिए (उत्पत्ति १४:१८-२०) ?

मल्कीसेदेक रहस्यमय पात्र मात्र नभएर कौतुहुल जगाउने पात्र पनि हुन् । तिनको बारेमा बाइबलका तीनवटा पुस्तकमा उल्लेख गरिएको छ (उत्पत्ति १४:१८-२०; भजनसंग्रह ११०:४; हिब्रू ५:६-११; ६:२०-७:२८) ।

बाइबलीय विवरणअनुसार मल्कीसेदेक शालेम अर्थात् यरूशलेमका राजा र सर्वोच्च परमेश्वरका पुजारी थिए । तिनको नाउँको अर्थ हुन्छ, ‘धार्मिकताका राजा ।’ हामी तिनलाई पहिलो पटक उत्पत्ति १४ अध्यायमा भेट्छौँ जहाँ तिनले अब्राहामलाई रोटी र दाखमद्य दिएका छन् अनि अब्राहामलाई आशिष् दिनुका अतिरिक्त अब्राहामलाई युद्धमा विजय दिनुभएकोमा परमेश्वरलाई प्रशंसा चढाएका छन् ।

बाइबलमा मल्कीसेदेकका मातापिताको उल्लेख गरिएको छैन, न त तिनको जन्म वा मृत्युको बारेमा केही बताइएको छ । उल्लेख नगर्नुको कारण हिब्रू ७:३ मा व्यक्त छ, “विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्‍त्‍य नभएका, तर परमेश्‍वरका पुत्र स्‍वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्‍छन्‌ ।” सन्दर्भले प्रस्ट पार्छ कि मसीहको प्रतिरूपको रूपमा देखाउन मल्कीसेदेकलाई दृश्यमा ल्याइएको थियो । तिनको यही प्रतीकात्मक विशेषता देखाउन बाइबलीय विवरणले तिनको जन्म, मातापितासाथै पुर्खाहरूको उल्लेख गरेको छैन । निस्सन्देह, मल्कीसेदेक एक साँचा विश्वासी थिए जो एक साँचो परमेश्वरको आराधना गर्नमा विश्वासयोग्य थिए ।

मल्कीसेदेक को थिए ? तिनको पहिचानको विषयमा विषयमा विविध अनुमान अगाडि सारिएका छन् ।

कसैले मल्कीसेदेकलाई मानवीय चोला धारणा गरेका स्वर्गदूतको रूपमा हेर्छन् । तर पुजारीपद मानवीय गतिविधि भएकोले यो धारणा सम्भवजस्तो देखिँदैन ।

कतिपयले मल्कीसेदेकलाई परमेश्वर-दर्शन ठान्छन् । परमेश्वर-दर्शन भनेको देहधारण गर्नुअगि पुरानो करारमा येशूको प्रकटिकरण हो । तर हिब्रूको पुस्तकमा मल्कीसेदेकलाई परमेश्वरका पुत्रजस्तो पात्रको रूपमा बयान गरिएको छ, परमेश्वरका पुत्रको रूपमा होइन ।

तसर्थ मल्कीसेदेकलाई ख्रीष्टका प्रतिरूपसाथै एक ऐतिहासिक पात्रको रूपमा लिनु उत्तमजस्तो देखिन्छ ।

Facebook Comments

Powered by Youth Circle