यहूदीहरूको निस्तार चाडको अवसरमा येशू यरूशलेम जानुहुँदा अठतिस वर्षदेखि बिरामी पर्दै आएका एक पक्षाघातीलाई येशूले चङ्गाइ गर्नुभयो भनी यूहन्नाले लेखेका छन् (यूहन्ना ५:१–१५) । तिनको बयानअनुसार भेडा–ढोकाको नजिक पर्ने यस जल–कुण्डमा पाँचवटा दलान थिए ।
चौथो सुसमारीय लेखक यूहन्नाले वर्णन गरेका ठाउँहरूमध्ये केही ठाउँहरू पुष्टि नभएकाले आलोचकहरूले तिनको सुसमाचारमाथि आशङ्काका बिउहरू छर्दै आएका थिए । ससाना वर्णनहरूमा चुकेकाले तिनी येशूको जीवनीका प्रत्यक्षदर्शी हुन सक्दैनन् भनी केही विद्वान्हरूले आरोप लगाएका थिए । यूहन्नाको सुसमाचारमा येशूले गर्नुभएका आश्चर्यकर्महरूमध्ये पक्षाघातीको चङ्गाइ निकै चर्चित छ । हिब्रूमा बेथस्दा भनेर चिनिने यस जल–कुण्डमा पाँचवटा दलान थिए भन्ने यूहन्नाको वर्णन त्रुटिपूर्ण छ भनी लामो समयदेखि दाबी गरिँदै आएको थियो किनकि उन्नाइसौँ शताब्दीसम्म यूहन्नाको सुसमाचारभन्दा बाहिर यस कुण्डको बारेमा कुनै जानकारी प्रकाशमा आएको थिएन ।
तर बाइबलको भौगोलिक वर्णनमा फेरि एक पटक पुरातत्त्वविद्याले आलोचकहरूलाई स्तब्ध पारिदिएको छ । उन्नाइसौँ शताब्दीमा यस क्षेत्रको उत्खनन गरियो । तर यसलाई बेथस्दाको जुल–कुण्डको रूपमा पहिचान गर्न पुरातत्त्वविद्हरूलाई झन्डै १०० वर्ष लाग्यो । फेला पारिएका अवशेषहरू बेथस्दाको तलाउसित ठ्याक्कै मेल खान्छ । यरूशलेमस्थित सन्त अन्ने मण्डली नजिकै उत्खनन गर्दा यो कुण्ड फेला परेको हो । वास्तवमा यस जल–कुण्डका दुईवटा भाग थिए । उत्तरपट्टिको जलाशयभन्दा दक्षिणपट्टिको जलाशय ठुलो थियो ।
उन्नाइसौँ शताब्दीमा पुरातत्त्वविद्हरूले यस कुण्डलाई पत्ता लगाएपछि बिसौँ शताब्दीमा गरिएको थप उत्खननले यूहन्नाले दिएका वर्णनजस्तै यसमा पाँचवटा दलान भएको पुष्टि गर्यो । यसरी पुरातत्त्वविद्याले बाइबलको भौगोलिक वर्णनलाई पुष्टि गरी सन्देहवादीहरूको आशङ्कालाई दूर गराइदिएको छ ।