तिनी अमेरिकामा जन्मेका थिए । ११ वर्ष पुगेपछि तिनले चुरोट तान्न थाले र रक्सी पिउन सुरु गरे । तिनी विश्वविद्यालयबाट निष्कासित गरिए । खराबभन्दा खराब मानिसहरूसित तिनको सङ्गत हुन पुगेको थियो ।
किशोर अवस्था नाघेपछि तिनको जीवनले दुर्व्यसनी, निराशा र हिंसाको टाकुरा छोएको थियो । तिनले आफूलाई मात्र घृणा गर्थेनन्, तर आफूभन्दा राम्रो देखिने जोसुकैलाई पनि । बारम्बार झगडामा सामेल हुनु तिनको आदत बनेको थियो । जीवनदेखि निराश भएर धेरै पटक तिनले आत्महत्या गर्ने कोसिस नगरेका पनि होइनन्, तर ती सबै प्रयास असफल बने ।
हत्याको आरोप लागेका तिनी पक्रिए र झ्यालखानामा हालिए । थुनामा पर्दा तिनी केवल २१ वर्षका थिए । तिनमा कुनै आशा थिएन न त तिनका सङ्गीहरू थिए न त तिनको परिवार नै ।
कारागारमा दिनहरू बित्दै थिए । एक दिन तिनले झ्यालखानामा एउटा बाइबल फेला पारे । तिनले पहिले कहिल्यै बाइबल पढेका थिएनन् । तिनले बाइबल पढ्न सुरु गरे र येशू र उहाँको प्रेमको विषयमा सिके ।
मत्ती ५:४ मा येशूले भन्नुभएको वचनले तिनलाई सान्त्वना दिए जहाँ लेखिएको छ, “धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् ।” तिनले आफ्नो जीवनमा पहिले कहिल्यै त्यस्तो सान्त्वना, शान्ति र साँचो प्रेमको महसुस गरेका थिएनन् । तिनले जीवनमा पहिलो पटक प्रार्थना गरे र परमेश्वरलाई आफ्नो जीवनमा आउन निमन्त्रणा दिए ।
तिनले पिता परमेश्वरको यस्तो प्रेमको महसुस गर्न पाएका थिए कि तिनी आत्माको गहिराइबाट रुन थाले । तिनी सदाको लागि बद्लिए । तिनले परमेश्वरलाई पछ्याउने सङ्कल्प गरे । तिनले बाँकी जीवन उहाँको चरणमा सुम्पिदिए ।
परमेश्वरको अनुग्रहद्वारा पछि तिनी जेलमुक्त भए । तिनी शारीरिक रूपमा मात्रै फुक्क भएनन्, तर आत्मिक रूपमा पनि ।
तिनी विश्वासी बनेर मात्र रहेनन् । परमेश्वरको बोलावटलाई आदर गर्दै तिनी पास्टर बने । तिनले बिहे गरे । केही वर्षभित्रमा नै तिनको दर्द र दुःखकष्टको जीवन आनन्द र शान्तिको जीवनमा रूपान्तरण भयो । तिनको नाउँ हो— जोन क्रेनर ।