असल लेखक असल पाठक पनि हो

धार्मिक परिवारमा हुर्के तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारण १५ वर्षको उमेरमा सी. एस. लेविस नास्तिक बने । तिनी ख्रीष्टियान नहुन खोजेका थिए । तर आफ्ना सहकर्मीसाथै मित्र जे. आर. आर. टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस बिस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के र ३३ वर्षको उमेरमा तिनले येशूलाई प्रभुको रूपमा स्वीकारे । अन्तत: तिनले आफूलाई ख्रीष्टियान रक्षाशास्त्रको दुनियाँमा पनि अब्बल स्रष्टाको रूपमा स्थापित गरे । सम्भवत: तिनी बिसौँ शताब्दीकै सर्वश्रेष्ठ रक्षाशास्त्री बने । लेविस ख्रीष्टियानसाथै गैरख्रीष्टियान जगत्‌का अनमोल स्रष्टा हुन् ।

अक्सफोर्डक्याम्ब्रिजजस्ता विश्वप्रसिद्ध विश्वविद्यालयहरूमा पढाएका लेविसका प्रसिद्ध कृतिहरूमा मेएर क्रिस्चियानिटी, क्रोनिकल्स अफ नार्निया, मिराकल्स आदि पर्दछन् । ७० ओटाभन्दा बेसी पुस्तकका लेखक लेविसले साहित्यका विविध विधाहरूमा कलम चलाएका छन् । तर्क र विश्वासलाई वैरीको रूपमा नभई साखको रूपमा देख्ने लेविसको बुझाइमा तर्क विश्वासतर्फ डोर्‍याउने एउटा उपयुक्त मार्ग हो ।

लेविसको “कथाले विश्वव्यापी सत्यतालाई व्यक्त गर्छ: लेखकहरू पठनबाट जन्मन्छन् । सृजनशील कृतिहरू पढेर लेखकले सृजनाशीलता सिक्छ । लेखकको कल्पनाशक्ति कल्पनाशील कथाहरूको उजागरबाट फराकिलो पारिन्छ । लिखित वचनसँगै समय बिताएर लेखकले भाषाप्रति अन्तर्ज्ञानयुक्त भावनाको विकास गर्छ । लेखनको सुरुआतको लागि पढ्न थाल्नुहोस् ।” यो अंश सी. एस. लेविस एन्ड द आर्ट अफ राइटिङ्ग नामक पुस्तकबाट साभार गरिएको हो ।

पुस्तक पठन यात्रामा यो मेरो ४१ औँ पुस्तक हो । मैले यसलाई सात दिन (जुलाई ८-१४) मा पढेर सकेँ । यसका लेखक हुन्, कोरी लट्टा । २५२ पृष्ठको यो पुस्तक ख्रिस्टाब्द २०१७ मा छापिएको थियो । यस पुस्तकमा ५० ओटा छोटा-छोटा पाठ पाइन्छन्

लेविसले साहित्यका विविध क्षेत्रमा कलम चलाए । निबन्धकार, कवि, उपन्यासकार, साहित्यिक समालोचक, ख्रीष्टियान रक्षाशास्त्री, आत्मकथाकार, ईश्वरशास्त्रीको रूपमा तिनले लेखनबारे हामीलाई के सिकाएका छन् भनी पुस्तकमा अभिलिखित गरिएको छ । लोट्टाद्वारा लेविसलाई लेखकहरूका लेखको सम्मान दिइएको छ जसको लागि लेविस योग्य पनि छन् ।

वास्तविक लेखकको जाँच भनेको उसले कहाँ र के प्रकाशित गर्छ भन्ने होइन, न त आफ्नो जीवनयापनको लागि उसले पेसेवार लेखकको रूपमा लेख्छ भन्ने हो । बरु वास्तविक लेखकको चिन्ह भनेको उसका रचनाहरूले जीवनको लागि अर्थ दिन्छ कि दिँदैन भन्ने हो । लेविसका लेखनमा शिर र हृदय दुवैलाई रूपान्तरण गर्ने खुबी छ । तिनका अनुसार लेखनले अर्थ ल्याउँछ र सबै अर्थ परमेश्वरका हुन् अनि तिनै परमेश्वर अर्थात् अनन्त वचनले आफूलाई लेखनद्वारा प्रकट गर्नुहुन्छ । लेविस लेखक मात्र थिएनन्, तर पाठक पनि थिए अर्थात् तिनले जीवनमा मनग्गे पुस्तकहरू पढे । तिनको लागि पठन र लेखन दुवै सँगसँगै अगाडि बढ्थे । असल किताबहरू अन्त्यहीन प्रेरणा हुन् भनी असल लेखकहरूलाई थाहा छ । असल लेखक असल पाठक पनि हो भनेर भुल्नुहुँदैन ।

लेविस कहिल्यै पनि प्रसिद्ध ईश्वरशास्त्री वा उपन्यासकार हुन चाहेनन्, यद्यपि ती क्षेत्रमा पनि तिनी दख्खल प्राप्त सर्जक थिए । बाल्यावस्थादेखि नै तिनको लक्ष्य भनेको कवि बन्नु थियो । यो पुस्तक लेखनबारे लेविसको दर्शनशास्त्र, शैलीसाथै तौरतरिकाबारे समर्पित छ । हामीजस्ता लेखकलाई लेविसले दिएका पाँचवटा अति आवश्यक सरसल्लाह यस प्रकार छन्:

(१) आफूले व्यक्त गर्न खोज्नुभएको कुरोलाई प्रस्ट पार्नुहोस् ।

(२) सरल भाषामा व्यक्त गर्ने कोसिस गर्नुहोस् ।

(३) मूर्त नामले काम गर्छ भने कहिल्यै पनि अमूर्त नामको प्रयोग नगर्नुहोस् ।

(४) कुनै कुरो बताउनुको साटो त्यसको बयान गर्नुहोस् ।

(५) ठुलठुला शब्दहरूको प्रयोग नगर्नुहोस् ।

तपाईं लेखक बन्न चाहनुहुन्छ भने लेविसले तपाईं र मलाई दिएको सल्लाह हो, “अभ्यास गर्नुहोस् ।”

Facebook Comments

Powered by Youth Circle