पूरै बाइबलमा जम्माजम्मी १८१७ ओटा अगमवाणी पाइन्छन्— पुरानो करारमा १२३९ र नयाँ करारमा ५७८ । पूरै बाइबलको २७ प्रतिशत भाग अगमवाणीसित सम्बन्धित छन् ।
जे. बार्टोन पाइने, लेखक
बाइबलमा सयौँ वर्षअगि भनिएका सयौँ भविष्यवाणीहरू हुबहु पूरा भएका छन् । ख्रीष्टको जन्मको समय (दानिएल ९), सहर (मीका ५:२) र प्रकृति (यशैया ७:१४) को विषयमा पुरानो करारमा भविष्यवाणी गरिएको थियो । यसका अतिरिक्त उहाँको जीवनी, मृत्यु र पुनरुत्थानबारे दर्जनौँ भविष्यवाणी गरिए (यशैया ५३ लाई हेर्नुहोस्) । एदोमको विनाश (ओबदिया १), बेबिलोनमाथि सराप (यशैया १३), टुरोस (इजकिएल २६) र निनवे (नहूम १–३) को विनाश अनि आफ्नो देशमा इस्राएलको फिर्ती (यशैया ११:११) आदिजस्ता अनगिन्ती भविष्यवाणीहरू पनि पूरा भइसकेका छन् । अन्य पुस्तकहरू जस्तैः कुरआन, मोर्मोनको पुस्तकसाथै वेदका अंशहरूले पनि ईश्वरीय प्रेरणाको दाबी गर्छन् । तर यी कुनै पनि पुस्तकमा भविष्यवाणी पाईंदैन । फलतः पूरा भएको भविष्यवाणी बाइबलको अद्वितीयसाथै ईश्वरीय प्रेरणाको एउटा मजबुत सङ्केत हो ।
नर्मन गेइस्लर र विलियम निक्स
पुरानो करारमा मसीहको सम्बन्धमा ३०० भन्दा बेसी सन्दर्भ पाइन्छन् जुन येशू ख्रीष्टमा पूरा भए । यी भविष्यवाणीहरूमध्ये केवल ८ ओटामा सम्भाव्यताको विज्ञानलाई प्रयोग गरी गणना गर्ने हो भने कुनै व्यक्तिले केवल ८ ओटा भविष्यवाणीलाई पूरा गर्ने सम्भावना १०१७ मा १ हुन्छ ।
फ्रिज रिडनुर
सबै साक्षीले अङ्कित गर्छन् कि येशू नै मसीहसम्बन्धी भविष्यवाणीहरूको ईश्वरीय रूपमा नियुक्त गरिनुभएको समाप्ति हुनुहुन्छ । उहाँ परमेश्वरका चिन्हहरूद्वारा प्रमाणित गरिनुभएका परमेश्वरका मानिस हुनुहुन्थ्यो ।
नर्मन गेइस्लर, रक्षाशास्त्रीसाथै ईश्वरशास्त्री
पूरा भएको भविष्यवाणीको साक्षी धर्मशास्त्र परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो भनी बताउने शङ्कारहित प्रमाण हो भनी बाइबल आफैले बताउँछ ।
ग्रान्ट आर. जेफ्री, लेखक
एदोमको निर्जनताको विषयमा पटक–पटक भविष्यवाणी गरिएको छ । अगमवक्ताहरूका समयमा यस्तो भविष्यवाणी बिलकुल पूरा हुँदैन जस्तो देखिन्थ्यो । एदोमीहरूलाई धपाएपछि पनि नबाती कुलका मानिसहरूले त्यहाँ समृद्ध सभ्यताको विकास गरे जुन शताब्दीऔंसम्म जारी रह्यो । तर परमेश्वरले भन्नुभएको छ, ‘म त्यसलाई उजाड पार्नेछु ।’ आज यो भूमि मरुभूमिमा परिणत भएको छ । परमेश्वरको साँचो वचनको लागि यो मूक साक्षी हो । पेट्रा [एदोमको राजधानी] यस भविष्यवाणीको अक्षरशः समाप्तिको उल्लेखनीय उदाहरण हो । ४००० मानिस अटाउने रङ्गशाला, मन्दिरहरू, वेदीहरू र स्मारकहरू भएको यो भव्य प्राचीन राजधानी अहिले मौन र एकलो छ । समयको वेगसँगै यी नष्ट हुँदै आएका छन् ।
डेभिड सी. हिगिङ्ग्स
झन्डै २,००० वर्षसम्म आफ्नो प्राचीन मातृभूमिबाट टाढा भएपछि दस लाखभन्दा बढी यहूदीहरूको इस्राएल भूमितर्फ भएको फिर्ती इतिहासकै सबैभन्दा उदेक र उल्लेखनीय आश्चर्यकर्महरूमध्ये एक हो । आफ्नो मातृभूमितर्फ भएको यहूदीहरूको आधुनिक फिर्तीको बारेमा भएको अझै चकित पार्ने कुरो त यो हो कि यस विषयमा यर्मिया अगमवक्ताले २,५०० वर्षअगि सविस्तार ढङ्गमा भविष्यवाणी गरेका थिए ।
जर्ज डेभस
भविष्यवाणी ज्ञानको एउटा आश्चर्यकर्म हो । आश्चर्यकर्मको शक्तिजस्तै यो पनि वास्तवमा अलौकिक अस्तित्वको अधीनमा पर्छ । तसर्थ बाइबलमा हामी सविस्तार ढङ्गमा पूरा भएका भविष्यवाणीहरू पाउँछौँ भने यसका लेखकहरूसित अलौकिक बुद्धि थियो भन्ने प्रस्ट साक्षी हामीसँग छ ।
चार्ल्स एलियोट
टुरोसको अन्तिम विनाश पूरा हुनेथियो किनभने यो सहर फेरि कहिल्यै पुनर्निर्मित हुनेछैन भनी परमेश्वरले पूर्ववाणी गर्नुभएको थियो । एक समयको वाणिज्यको ठुलो केन्द्र आज भग्नावशेष भएको छ । यसको वरिपरिको ठाउँ पुनर्निर्माण गरिएको छ, तर सुरुको त्यो स्थल परमेश्वरको भयानक दण्डको मौन साक्षी बनेको छ ।
चार्ल्स एच. डायर
१२ अक्टोबर ५३९ ख्रिस्टपूर्वमा बेबिलोन फारसका कोरेसको हातमा पर्यो र त्यस समयदेखि सहरको पतनको थालनी भयो । जर्सिसले यसलाई लुटे । अलेक्ज्यान्डर महान्को समयमा तिनले यसको भव्य मन्दिरलाई पुनर्निर्माण गर्ने सोच बनाए तर रकम बढी लाग्ने भएकोले त्यस विचारलाई स्थगित गरिदिए । अलेक्ज्यान्डरका उत्तराधिकारीहरूको समयमा यो क्षेत्र तीव्र रूपमा विनाश हुँदै गयो र छिट्टै यो उजाड-स्थानमा परिणत भयो । टाइग्रिसमा बेजोड सिलुकिया सहरको निर्माण गर्ने सिलुकस निकाटोर (३१२–२८० ख्रिस्टपूर्व) को समयबाट सुन्दर बेबिलोन कहिल्यै बिउँतेन ।
मेरिल अङ्गर, टिप्पणीकार, विद्वान्साथै ईश्वरशास्त्री
यो सहर [निनवे] हराउनेथियो भन्ने भविष्यवाणी उल्लेखनीय रूपमा पूरा भएको तथ्य सर्वविदितै छ । निनवेको पतनपश्चात् यो इतिहासबाट पूर्ण रूपमा गायब भयो । ख्रिस्टाब्द १८४२ बाट फ्रान्सेली बोट्टा र अङ्ग्रेजद्वय लेयार्ड र रलिन्सोनले यस क्षेत्रको उत्खनन गरे र एक पटक गौरवपूर्ण यस सहरका भग्नावशेषहरू पत्ता लगाए ।
चार्ल्स फेनवर्ग
म एक मात्र अपरिवर्तनशीलसाथै अनन्त परमेश्वरमाथि विश्वास गर्दछु जसले प्रेम र इच्छासहित सारा स्वर्गलाई हल्लाउनुहुन्छ । र यस्तो विश्वासको लागि मसँग भौतिक र पराभौतिक प्रमाणहरू मात्र छैनन् तर मोशा, अगमवक्ताहरू, भजनसंग्रह र सुसमाचारहरूबाट आउने सत्यता पनि छन् ।
डान्टे