बाइबलमा अभिलिखित गिबोनको पोखरी पत्ता लाग्यो

२ शमूएल २:१२–१७ मा लेखिएको छ, “नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे । अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे । तिनीहरूले एक–अर्कालाई गिबोनको पोखरीनेर भेटे, र एउटाले पोखरीको वारि र अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे । अबनेरले योआबलाई भने, ‘तिम्रा र मेरा जवान मानिसहरूमध्येका कोही आएर हाम्रो सामुन्ने एक–एक जना गरी लडून् ।’ योआबले जवाफ दिए, ‘हुन्छ, तिनीहरूले त्यसै गरून् ।’ यसैकारण तिनीहरू आए, र बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतका तर्फका बाह्र जना र दाऊदका बाह्र जना एक–एक जना गरी आफ्नो स्थानमा खडा भए । तब तिनीहरू हरेकले आ–आफ्नो विरोधीको टाउको समातेर कोखामा छुरी रोपिदियो । यसरी तिनीहरू एकसाथ ढले । यसैकारण गिबोनको त्यस ठाउँलाई हेल्कत–हज्जुरीम भनियो । त्यस दिन घमासान युद्ध भयो, अनि अबनेर र इस्राएलका मानिसहरू दाऊदका फौजको सामु हारे ।”

संयुक्त इस्राएल राज्यका प्रथम राजा शाऊलको मृत्युपश्चात् दाऊद हेब्रोनमा गए र यहूदाका मानिसहरूले तिनलाई राजा नियुक्त गरे । त्यही समयमा अबनेरले शाऊलको छोरो ईश्बोशेतलाई इस्राएलका राजा बनाए । दाऊद र ईश्बोशेतका सेनाहरू युद्धको लागि गिबोनको पोखरीनेर भेला भए । ईश्बोशेतका मानिसहरू पराजित भए । अन्ततः दाऊद यहूदा र इस्राएल अर्थात् संयुक्त इस्राएल राज्यका द्वितीय राजा बने ।

बाइबलको विवरणअनुसार राजा दाऊदको जीवन काल (करिब १,००० ख्रिस्टपूर्व) मा गिबोनको पोखरी अस्तित्वमा थियो । यसको अर्थ हुन्छ कि गिबोनको पोखरी कम्तीमा पनि ३,००० वर्ष पुरानो पोखरी हो । बाइबलमा धेरै पटक यसको चर्च गरिएको छ । निस्सनदेह, यो एउटा महत्त्वपूर्ण ऐतिहासिक पोखरी थियो ।

बिसौँ शताब्दीको उत्तरार्द्धमा गरिएको पुरातात्त्विक उत्खननले यस पोखरीलाई पत्ता लगाएको हो । वर्तमान प्यालेस्टाइनको अलजिब नाउँ गरेको गाउँमा यो ऐतिहासिक स्थल फेला परेको हो । यो गाउँ यरूशलेमदेखि दश किलोमिटर उत्तर–पश्चिममा पर्छ ।

पेन्सलभेनिया विश्वविद्यालयका पुरातत्त्वविद् जेम्स बी. प्रिटचार्डद्वारा अगुवाइ गरिएको पुरातत्त्वविद्हरूको टोलीले ख्रिस्टाब्द १९५६–१९६२ सम्म गिबोन क्षेत्रको उत्खनन गर्ने क्रममा १९५७ मा तिनीहरूले पोखरी फेला पारेका हुन् । ८८ फिट गहिरो यस पोखरीको आविष्कारले पोखरीबारे भएको बाइबलीय विवरणको पुष्टि गरेको छ ।

Facebook Comments

Powered by Youth Circle