के यो सम्पूर्ण विश्व संयोगद्वारा अस्तित्वमा आएको हुन सक्छ ?

हाम्रा आँखाले देख्न सक्ने र देख्न नसक्ने अनि नजिक र टाढा भएका यी यावत् थोक कहाँबाट आए ? सम्पूर्ण पदार्थ, शक्ति, अन्तरिक्ष र समय कहाँबाट अस्तित्वमा आए ? अर्को तरिकाले भन्नुपर्दा, यो सम्पूर्ण विश्व अर्थात् युनिभर्स कहाँबाट आयो ? उन्नाइसौँ शताब्दीको अन्त्यसम्मको गैरख्रिस्टियान जवाफ हुन्थ्यो: यो अनन्त भएकोले सधैँभरि अस्तित्वमा छ । तर बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले यस अवधारणामाथि बज्रपात गरेको छ किनकि यी खोजहरूले यो अनन्त नभई निश्चित बिन्दुमा यसको थालनी भएको थियो भनी देखाउँदै छन् । विश्व अस्तित्वमा आएको हो भने यसको कर्ता को हो ? तर्कशास्त्रले दुईमध्ये एउटाको माग गर्छ: परमेश्वर कि संयोग । यी एक-अर्कामा परस्परविरोधी छन् ।

“कुनै आकार, स्वरूप वा रूपमा संयोगको अस्तित्व छ भने परमेश्वर अस्तित्वमा हुन सक्नुहुन्न । यी दुई परस्परविरोधी छन् । संयोग अस्तित्वमा हुने हो भने यसले परमेश्वरको सर्वसत्तालाई नष्ट गर्छ । परमेश्वर सार्वभौम हुनुहुन्न भने उहाँ परमेश्वर हुनुहुन्न । उहाँ परमेश्वर हुनुहुन्न भने उहाँ अस्तित्वमै हुनुहुन्न । संयोग अस्तित्वमा छ भने परमेश्वर अस्तित्वमा हुनुहुन्न । परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने संयोग अस्तित्वमा छैन ।” यो नट अ चान्स: गड, साइन्स, एन्ड द रिभोल्ट एगेन्स्ट रिजन्स नामक पुस्तकबाट साभार गरिएको अंश हो ।

पुस्तक पठन यात्रामा यो मेरो ४० औँ पुस्तक हो । यो किताब पढेर सक्न मलाई सात दिन (जुलाई १-७) लाग्यो । आर. सी. स्प्रौल र केइथ मत्तिसोन यसका लेखक हुन् । २५६ पृष्ठको यो कृति ख्रिस्टाब्द २०१४ मा छापिएको थियो । पुस्तकमा १० ओटा पाठ र एउटा परिशिष्ट छन् । अगिल्ला नौवटा पाठ स्प्रौलद्वारा लेखिएका हुन् भने दसौँ पाठ र परिशिष्टचाहिँ मत्तिसोनद्वारा ।

यो संयोगको अस्तित्व र यसको प्रकृतिबारे लिखित कृति हो । यो सम्पूर्ण विश्व संयोगको नतिजा हो भनी दाबी गर्ने प्राकृतिक भौतिकवादीहरू कसरी तर्कसङ्गत छैनन् भनी लेखकद्वयले ‘संयोग’ को चिरफार गरी तार्किकसाथै वैज्ञानिक ढङ्गमा आफ्ना विचार प्रस्तुत गरेका छन् ।

वैज्ञानिक सिद्धान्तहरूको नाउँमा देखा परेका तर्कशास्त्रको उल्लङ्घन गर्ने भनाइहरूको खण्ड गर्ने उद्देश्यले यो कृति लेखिएको हो । संयोगसित त्यस्तो कुनै शक्ति नहुने भएकोले यो सम्पूर्ण विश्व आफसे आफ अस्तित्वमा आएको हो भन्ने दाबी तार्किक दृष्टिकोणबाट असम्भव छ भनी देखाउनु लेखकद्वयको उद्देश्य हो ।

संयोगद्वारा यो सम्पूर्ण विश्व अस्तित्वमा आएको हो भन्ने दाबी दन्त्यकथा हो । संयोगको कुनै आकार हुँदैन, न त यसको कुनै शक्ति हुन्छ । संयोगवश: यावत् थोक देखा परे भन्ने दाबि जादुगरले टोकरीबाट बिरालो निकालेर देखाउनुभन्दा पनि वाहियात कुरो हो किनकि जादुमा त कमसे कम जादुगर र टोकरी पहिले नै अस्तित्वमा हुन्छन् । संयोगमा यो विश्व अस्तित्वमा ल्याउने शक्ति छ भनी दाबी गर्दा भौतिकशास्त्रको राज्यलाई छाडी विचारकहरू जादुमा प्रवेश गरेका हुन्छन् । संयोग नै तिनीहरूको जादु बन्छ जसले टोकरीबाट बिरालो मात्र देखाउँदैन, तर सम्पूर्ण विश्वलाई नै अस्तित्वमा ल्याइदिन्छ ।

ल्याटिन भाषामा एउटा प्रभावशाली वाक्यको प्रयोग गरिन्छ, “एक्स निहिलो, निहिल फिट ।” यसको अर्थ हुन्छ कि शून्यताबाट शून्यता नै आउँछ । शून्यताले संयोगलाई माध्यम बनाई कुनै वस्तुलाई अस्तित्वमा ल्याउन सक्दैन । संयोगमा त्यस्तो कुनै ताकत हुँदैन । यो कुनै सृजनशील, बुद्धिमान् र शक्तिशाली वैयक्तिक अस्तित्व होइन ।

यो सम्पूर्ण विश्व कहाँबाट आयो ? आफसे आफ आएको होइन भने कोहीद्वारा अस्तित्वमा ल्याइएको हो । यो विश्वको अस्तित्वको लागि विश्वभन्दा परको अस्तित्वको खाँचो पर्छ जसलाई ख्रीष्टियानलगायत आस्तिकहरू परमेश्वर भन्छन् ।

तर्कशास्त्र र बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले तपाईं र मलाई बाइबलको पहिलो पदमा नै डोर्‍याउँदै छन्, “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभुयो” (उत्पत्ति १:१) । यो हामीले दिएका जवाफ होइन, तर सृष्टिकर्ता स्वयम्‌ले प्रकट गर्नुभएको जवाफ हो । परमेश्वरको अस्तित्वलाई इन्कार गर्नेहरूले अन्य वैकल्पिक व्याख्याहरू अगाडि सारे तापनि ती न वैज्ञानिक छन्, न ती तर्कशास्त्रको राज्यमा टिक्छन् । ती आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्ने वाहियात विकल्प साबित भएका छन् ।

यो सम्पूर्ण विश्व कहाँबाट आयो ? परमेश्वरले सृष्टि गर्नुभएकोले यो अस्तित्वमा आएको हो भन्नु नै सर्वोत्कृष्ट जवाफ हो ।

Facebook Comments

Powered by Youth Circle