“मिखाएल फाराडे, ग्यालिलियो ग्यालिली, विलियम केल्भिन, गुग्लिल्मो मार्कोनी, आइज्याक न्युटन, लुई पास्चर र एडमन्ड ह्विटकरजस्ता अनगिन्ती प्रतिष्ठित वैज्ञानिकहरूले परमेश्वरले विश्वको सृष्टि गर्नुभयो भनी विश्वास गरे ।” यो १०१ गुड रिजन्स टु बिलिभ: अ कम्प्रेहेन्सिभ केस फर क्रिस्चियानिटी नामक पुस्तकबाट साभार गरिएको अंश हो । ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास नभई यो वैज्ञानिकसाथै तर्कसङ्गत विश्वास हो भन्नाका लागि पुस्तकमा १०१ ओटा असल कारण प्रस्तुत गरिएका छन् ।
पुस्तक पठन यात्रामा यो मेरो ३९ औँ पुस्तक हो । यसका लेखक हुन्, जेम्स डी. सिडेरस । २३९ पृष्ठको यस पुस्तकलाई मैले ८ दिन (जुन २३-३०) लगाएर पढेर सिद्ध्याएँ । यो ख्रिस्टाब्द २०१८ मा प्रकाशित कृति हो ।
पुस्तकको नामबाटै बुझ्न सकिन्छ कि यो ख्रिस्टियमतको पक्षमा लिखित कृति हो र लेखकले यसमा ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने १०१ ओटा असल कारण प्रस्तुत गरेका छन् । सातवटा भागमा विभाजित यस कृतिमा १०१ ओटा पाठ अर्थात् तर्क पाइन्छन् ।
वैज्ञानिक, ऐतिहासिकसाथै प्रयोगसम्बन्धी साक्षीहरूद्वारा समर्थित यो पुस्तक परमेश्वरको अस्तित्वमाथिको विश्वास तर्कसङ्गत छ भन्ने अवधारणासँगै सुरु भएको छ । पहिलो भागमा लेखकले मानवीय विवेक, इच्छा, सौन्दर्य, कारण, आश्चर्यकर्मजस्ता विविध क्षेत्रबाट परमेश्वरको अस्तित्वको लागि दार्शनिक तर्कहरू पेस गरेका छन् ।
दोस्रो भागमा सृष्टिसाथै बौद्धिक रचनाको पक्षमा गतिला साक्षीहरू पेस गरिएका छन् । यो विश्व अनन्त छैन, न त अकस्मात् यसको उदय भएको हो । विश्वको उत्पत्तिसाथै जीवशास्त्रबारे विगत ६० वर्षमा आविष्कार गरिएका खोजहरूले यस्ता-यस्ता तथ्यहरू बाहिर ल्याइदिएका छन् कि यो सम्पूर्ण विश्वको अस्तित्व संयोगको नतिजा होइन, बरु यसको पछाडि एक जना बुद्धिमान् रचनाकार हुनुहुन्छ जसको प्रकृति बाइबलीय परमेश्वरसित सोर्है आना मेल खान्छ । ख्रिस्टाब्द १८५९ मा चार्ल्स डार्बिनले अन द ओरिजिन अफ स्पिसिज (अर्थात् जाति-प्रजातिहरूको उत्पत्तिबारे) नामक पुस्तक लेख्दा यी वैज्ञानिक साक्षीहरू पत्ता लागिसकेका थिएनन् । स्मरण रहोस्, तिनको पुस्तकमा मानव-जाति संयोगको नतिजा हो भनी बयान गर्ने दुस्साहस गरिएको छ ।
पाठ तीन येशूको जीवनमा केन्द्रित छ । येशूको ऐतिहासिकताको लागि बाइबलेतर अर्थात् बाइबलबाहिरका साक्षीहरू पनि पेस गरिएका छन् । ख्रीष्टियानसाथै गैरख्रिस्टियान इतिहासकारहरूको मूल्याङ्कनले नयाँ करारमा वर्णित येशूको जीवनी, मृत्यु र पुनरुत्थानको तस्बिरलाई मजबुत बनाउँछ ।
पाठ चारमा ख्रिस्टियमत र संसारका अन्य प्रमुख धर्महरूबिचको भिन्नताबारे प्रकाश पारिएको छ । सबै धर्मले उही परमेश्वरकहाँ पुर्याउँछन् भन्ने दाबी जतिसुकै लोकप्रिय भए तापनि तार्किक दिमागले यसलाई स्वीकार गर्न सक्दैन किनकि संसारका प्रमुख धर्महरूका मुख्य-मुख्य शिक्षाहरू नितान्त फरक छन् ।
आलोचकसाथै सन्देहवादीहरू यस्ता प्रश्नहरू तेर्साउँछन्: सबै थोक परमेश्वरले सृष्टि गर्नुभएको हो भने उहाँलाई चाहिँ कसले सृष्टि गर्यो ? परमेश्वर असल हुनुहुन्छ भने संसारमा किन दुष्ट्याइँ छ ? कसरी प्रेमिलो परमेश्वरले आफ्नै सृष्टिलाई नरकमा पठाउन सक्नुहुन्छ ? पाठ पाँचमा ख्रिस्टियमतको विरुद्धमा उठाइएका यस्ता प्रश्नहरूको जवाफ दिने कोसिस गरिएको छ । ख्रीष्टियान विश्वासलाई अङ्गाल्न तगारो बनेका यस्ता प्रश्नहरूको ईश्वरशास्त्रीय दृष्टिकोणबाट तार्किक ढङ्गमा जवाफ दिइएका छन् ।
विविध पृष्ठभूमिका मानिसहरूले कसरी येशू ख्रीष्टलाई पाएका छन् भनी पाठ ६ मा तिनीहरूका गवाही प्रस्तुत छन् । विख्यात दार्शनिक सी. एस. लेविस, प्राध्यापक रोजारिया, प्रसिद्ध खगोलविद् अलान स्यान्डेज, विश्वप्रसिद्ध गणितज्ञ जर्ज एलिस, विकासवादी जीवशास्त्री रिचार्ड लुम्सडेन, प्रतिष्ठित वैज्ञानिक फ्रान्सिस कोलिन्स, विजयी पत्रकार पिटर हेचिन्स आदिजस्ता विश्व रङ्गमञ्चमा नाउँ कहलिएका सेलिब्रेटीहरूले कसरी येशूलाई व्यक्तिगत रूपमा मुक्तिदाताको रूपमा अङ्गाले भनी तिनीहरूको पढ्न लायक गवाही यस भागमा उल्लिखित छन् ।
सातौँ अर्थात् आखिरी भागमा मानव-जातिको दुई स्थायी गन्तव्य (स्वर्ग र नरक) को पक्षमा वकालत गरिएको छ । मृत्यु नजिक पुगेका विविध मानिसहरूको बयानलाई उल्लेख गरी लेखक आफ्नो मुद्दा मजबुत बनाउँछन् ।
वैज्ञानिक, ऐतिहासिक, दार्शनिक दृष्टिकोणबाट ख्रीष्टियान विश्वदृष्टिकोणलाई मूल्याङ्कन गर्दा यो जाँचपडतालमा टिक्छ । तपाईंले जे विश्वास गर्नुहुन्छ त्यो किन गर्नुहुन्छ भन्नाका लागि यो एउटा उत्कृष्ट कृति हो । मैले निकै रुचिकासाथ मात्र यसलाई पढिनँ, तर पढ्दा निकै आनन्द पनि आयो । म आशा गर्दछु कि यस पुस्तकमा अभिलिखित तर्कहरूले तपाईंलाई त्यही निष्कर्षमा पुर्याउँछन् जुन निष्कर्षमा म पुगेँ: ख्रिस्टियमत साक्षीमा आधारित मार्ग हो ।