पिटर भी. डिजन अमेरिकाको टेक्सासस्थित पार्क सिटिज प्रेसबिटेरियन चर्चका सहायक पास्टर हुन् । तिनले लेखेका एउटा पुस्तकको नाउँ हो, द प्रायोरिटी अफ नोइङ्ग गड । यस पुस्तकमा लेखकले भारतका रमद नाउँ गरेका एक जना व्यक्तिको कथालाई समावेश गरेका छन् ।
रमद लुटेराहरूको समूहका एक सदस्य थिए । एक दिन कुनै एउटा घर लुट्न लाग्दा कालो गाता भएको सानो किताबले तिनको ध्यान खिँच्यो । त्यसका पानाहरू निकै पातला थिए जुन चुरोटको लागि उपयुक्त हुन्थे । तिनले उक्त किताबलाई लिएर गए ।
हरेक बेलुका रमदले त्यस किताबको एउटा पानालाई निकाली त्यसलाई चुरोट पिउनको लागि प्रयोग गर्थे । ती पानाहरूमा तिनको आफ्नै भाषामा लेखिएका शब्दहरू देखेपछि चुरोटको लागि प्रयोग गर्नुभन्दा पहिले तिनले ती वचनहरूलाई पढ्न थाले । एक साँझ एउटा पानाबाट पढेपछि तिनले घुँडा टेके र आफ्ना पापको क्षमाको लागि प्रभु येशूसित बिन्ती गरे । सबैलाई छक्क पार्दै तिनले आफैलाई प्रहरीकहाँ सुम्पिदिए । लुटेरा भनी चिनिएका रमद येशू ख्रीष्टका अनुयायी बने । आफ्ना अपराधहरूका लागि झ्यालखानामा दण्ड भोगिरहँदा तिनले धेरै बन्दीलाई मुक्तिदाता प्रभु येशूमा डोर्याए । रमदको लागि परमेश्वरको वचन उद्धारमा लैजाने शक्ति साबित भयो ।
“तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो” (भजनसंग्रह ११९:१०५) ।