हामीले बुद्धिको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ ।
हामीले सद्गुणको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ ।
हामीले न्यायको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ ।
हामीले शान्तिको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ ।
हामीले सत्य, जीवन र छुटकाराको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ ।
एम्ब्रोज, बिशप
नासरतका येशूले जीवनी र शिक्षाद्वारा, मृत्यु र पुनरुत्थानद्वारा हामीलाई परमेश्वरको विश्वमाथि शासन गर्ने नैतिक र आत्मिक सिद्धान्तहरू दिनुभएको छ ।
एच. ह्विलर रोबिन्सन, लेखक
आफ्नो स्वर्गारोहणद्वारा हाम्रा प्रभु स्वर्गमा प्रवेश गर्नुहुन्छ र मानव-जातिको लागि ढोका खोलिदिनुहुन्छ ।
ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारकसाथै लेखक
येशूले सिकाउनुभएको हरेक कुरोले सत्यताको वरिपरि चक्कर लगाएको थियोः संसारको विषयमा भएको सत्यता, सम्बन्धको विषयमा भएको सत्यता र परमेश्वरको विषयमा भएको सत्यता । उहाँले सिकाउनुभएका कुराहरू र उहाँले सिकाउनुभएको तरिकाले उहाँपछि उदय भएका महान् शिक्षकहरू सबैका लागि नमुना स्थापित गरे ।
ब्रुस बिकेल र स्टान जान्ज
उहाँको पछि लाग्ने मानिसहरू तिनीहरूको पुस्ताका अद्वितीय मानिसहरू थिए । तिनीहरूले पृथ्वीलाई उलटपुलट पारिदिए, किनकि तिनीहरूको हृदय ठिक किसिमले उलटपुलट पारिएका थिए । संसार फेरि कहिल्यै उही भएन ।
बिल्ली ग्राहम, सुसमाचार प्रचारक
येशूको कथा हालसम्म भनिएको सबैभन्दा महान् कथा हो । यो यस धरतीमा बाँच्नुहुने सबैभन्दा महान् व्यक्तिको विषयमा भनिएको कथा हो । बाइबलमा उल्लिखित येशूको विषयमा भएको वर्णनले हाम्रा जीवनमा परमेश्वरले काम गरिरहनुभएको छ भनी प्रकट गर्छ । हामी उहाँको शक्ति देख्छौँ । हामी उहाँको सोर सुन्छौँ । हामी उहाँको प्रेमको अनुभूति गर्छौं । कुनै पनि समयका महान्तम मानवीय प्राणीहरूमध्ये येशू सबैभन्दा माथि हुनुहुन्छ किनकि उहाँ परमेश्वर हुनुहुन्छ ।
एडवार्ड हिन्डसन तथा एडवार्ड डोबसन
ख्रीष्टलाई आश्चर्यपूर्ण घटनाहरूबाट अलग गर्न सकिँदैनः उहाँको जन्म, उहाँका सहयोगहरू र उहाँको पुनरुत्थान सबैमा आश्चर्यकर्महरू पाइन्छन्, र मानवीय हृदयमा उहाँको धर्मले ल्याउने परिवर्तन अटुट आश्चर्यकर्म हो ।
विलियम जेनिङ्ग्स ब्राएन, वक्तासाथै राजनीतिज्ञ
येशू ख्रीष्टको विषयमा भएका धेरै तथ्यहरू सेकुलर दिमागको लागि आकर्षक छन् । गरिबहरू र चोट पाइरहेका मानिसहरूप्रति उहाँले विनम्र आत्मा र महान् दया देखाउनुभयो । न्याय कृपासहित सन्तुलित हुनुपर्छ भनी उहाँले निरन्तर आग्रह गर्नुभयो । उहाँका परिवर्तनकारी शिक्षाहरू अरूहरूको सल्लाहभन्दा पूर्णतः विपरीत थिएः येशूले बदलाको पक्षमा वकालत गर्नुको साटो मानिसहरूले आफूलाई प्रेम गरेजस्तै गरी छिमेकीहरूलाई प्रेम गर्नुपर्छ भनी सिकाउनुभयो । तर आफ्नो विषयमा येशूको एउटा दाबी छ, जुन हाम्रो बहुलवादी समाजको लागि निकै अपमानजनक छः उहाँमाथिको विश्वास मात्र स्वर्गको लागि बाटो हो भन्ने सत्यता ।
एडवार्ड हिन्डसन तथा एडवार्ड डोबसन
ख्रीष्ट जन्मनुभएको छः उहाँको महिमा गर्नुहोस् । ख्रीष्ट स्वर्गबाट आउनुहुन्छः उहाँलाई भेट्न जानुहोस् । ख्रीष्ट पृथ्वीमा ओर्लनुहुन्छः हामी माथि उचालिऔँ ।
ग्रेगोरी, प्रधना बिशपसाथै ईश्वरशास्त्री
ख्रीष्ट दार्शनिक वा धेरै शब्द प्रयोग गर्ने डाक्टर वा हल्ला गर्ने संवादकर्ता वा बुद्धिमान् शिक्षक वा सिपालु शास्त्रीको रूपमा आउनुभएन, तर उहाँले मानिसहरूसित बिलकुल सरलतामा बोल्नुहुन्थ्यो, र उहाँको जिउने तरिका, उहाँको भलाइ र उहाँका आश्चर्यकर्महरूमा तिनीहरूलाई सत्यताको मार्ग देखाउनुभयो ।
एङ्गेला अफ फोलिङ्गो, रहस्यवादी
चाहे तपाईं मौन रहनुभएको होस् वा बोलिरहनुभएको होस्, चाहे तपाईं एकलै हुनुभएको होस् वा अरूहरूसित हुनुभएको होस्, तपाईंका सारा कार्य र वचनमा तपाईंले येशूलाई आफ्नो आदर्श व्यक्तित्वको रूपमा हेर्नुपर्छ ।
बोनाभेन्चुर, ईश्वरशास्त्रीसाथै दार्शनिक
उहाँको आश्चर्यपूर्ण गर्भधारणबाट विश्वास, उहाँको साधारण जन्मबाट विनम्रता, उहाँको दुःखकष्टबाट धैर्यता, उहाँको क्रुसबाट ममा भएको पापलाई क्रुसमा टाँग्ने शक्ति, उहाँको दफनबाट असल कामहरूमा मेरा सबै दुष्ट विचारको दफन प्राप्त गर्न मलाई मदत पुर्याउनुहोस् ।
ल्यान्सलोट आन्द्रुज, बिशपसाथै विद्वान्
ख्रीष्टको चरित्र महान्तम आश्चर्यकर्मभन्दा उदेकको थियो ।
अल्फ्रेड लर्ड टेन्निसन, कवि
येशूको शिक्षाले सबै मानिसलाई छक्क पार्यो र आनन्दित तुल्यायो, किनकि यसले सबैको लागि स्वतन्त्रताको प्रतिज्ञा गरेको थियो । येशूको शिक्षा यशैयाका अगमवाणीहरूका समप्ती थियो, जसअनुसार परमेश्वरद्वारा चुनिनुभएका जनले मानिसहरूमा ज्योति ल्याउनुपर्थ्यो, खराबीलाई पराजित गर्नुपर्थ्यो र सत्यतालाई स्थापित गर्नुपर्थ्यो, हिंसाद्वारा होइन, तर कोमलपना, विनम्रता र भलाइद्वारा ।
लियो टाल्सटाय, लेखक
डाँडाको उपदेश ख्रीष्टको जीवन हो । हरेक वाक्य उहाँले पहिले नै कार्यहरूमा लेखिसक्नुभएको छ । यस उपदेशले उहाँको जीवनीलाई भाषामा रूपान्तरण गरेको मात्र हो ।
थोमस राइट, लेखक
चेलापन येशू ख्रीष्टको भक्तिमा आश्रित छ, कुनै विश्वास वा विश्वासको सारको अनुसरणमा होइन,
ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारकसाथै लेखक
येशू आफै नै एक विश्वास दिलाउने र स्थायी आश्चर्यकर्म हुनुहुन्थ्यो ।
एयान म्याकलरेन
उहाँका वचनहरू सत्यताका सार हुन् । … येशूले कहिल्यै रायहरू व्यक्त गर्नुभएन । उहाँले कहिल्यै अनुमान गर्नुभएन । उहाँलाई थाहा थियो र थाहा छ ।
ए. डब्लु टोजर, पास्टरसाथै लेखक