दिनेस डिसुजा लेखकसाथै फिल्म निर्माता हुन् । ख्रिस्टाब्द १९६१ मा हाम्रै छिमेकी मुलुक भारतमा जन्मेका तिनी १९९१ अमेरिकी नागरिक बने । दर्जनभन्दा बेसी पुस्तकका लेखक तिनी ख्रीष्टियान रक्षाशास्त्री पनि हुन् । हालै प्रकाशित तिनको कृतिको नाउँ हो, युनाइटेड स्टेट्स अफ सोस्यालिज्म ।
पुस्तक पठन यात्रामा यो मेरो ३८ औँ पुस्तक हो । ३०४ पृष्ठको लामो यस पुस्तकलाई पढेर सिद्ध्याउन मलाई १३ दिन (जुन १०-२२) लाग्यो । यस कृतिमा लेखकले समाजवादको खरो रूपमा विरोध गरेका छन् । अमेरिकाको आसन्न चुनावको मुखैमा प्रकाशित यस कृतिले पक्कै पनि चुनावी नतिजामा कुनै न कुनै भूमिका खेल्ने छ ।
लेखकको आफ्नै भनाइअनुसार यस कृति लेख्नुको पछाडि दुईवटा उद्देश्य छन्: पहिलो, समाजवादको विरुद्धमा नैतिक तर्क पेस गर्नु र दोस्रो, खुला बजार पुँजीवादको पक्षमा नैतिक तर्क पेस गर्नु ।
तर्कसङ्गत भन्न सकिन्छ कि समाजवाद इतिहासकै सबैभन्दा अपमानित अवधारणा हो भनी प्रस्तावनामै दाबी गरिएको छ । यसलाई दास प्रथासित तुलना गरिएको छ । दास प्रथा बरु शताब्दीऔँसम्म टिक्यो जब कि समाजवादले छोटो समयमा नै कुख्याति कमायो । ख्रिस्टाब्द १९१७ मा जोसेफ स्टालिनले प्रथम समाजवादी राज्यको स्थापना गरेसँगै सुरु भएको यो अवधारणाले दीर्घायु पाएन । समाजवादी शासनमुनि बाँचेका जनताहरूले यसलाई दास प्रथाकै स्वरूप ठानेकाले यो ढल्न पुग्यो ।
संसारका जुन-जुन मुलुकमा समाजवादले ठाउँ पायो ती मुलुकहरूलाई यसका शासकहरूले नरक बनाए भनी डिसुजा तर्क गर्छन् । सबैभन्दा ठुलो परीक्षण रुसी साम्राज्यमा नै भयो । पोल्यान्ड, युगोस्लाभिया, अल्बानिया, चेकोस्लाभिया, हङ्गेरी, रोमानिया र पूर्वी जर्मनीमा यसको परीक्षण गरियो । भियतनाम, लाओस, क्याम्बोडिया, उत्तर कोरियासाथै चीन एसियाली मुलुकहरू हुन् जहाँ समाजवाद हावी भयो । क्युबा, निकारागुआ, बोलिभिया, भेनेजुएलाजस्ता दक्षिण अमेरिकी मुलुकहरूले पनि समाजवादको कोसिस गरे । उपनिवेशवादपश्चात् एङ्गोला, घाना, तान्जानिया, बेनिन, माली, मोजाम्बिक, जाम्बिया, जिम्बाबेजस्ता अफ्रिकी मुलुकहरूमा पनि समाजवाद प्रबल भयो । समाजवादको परीक्षण गरिएका यी २५ ओटा मुलुकमा के हात पर्यो ? लेखकको अवलकन रहेको छ: विपत्तीको थुप्रो ।
समाजवादको क्रुरतम स्वरूप तानाशाही नै साबित भयो । अभूतपूर्व मानवीय हत्याले सँगसँगै ठाउँ पायो । रुसी साम्राज्यमा मात्रै समाजवादी शासकहरूले झन्डै २ करोडको सङ्ख्यामा आफ्नै नागरिक मार्नुका अतिरिक्त करोडौँको मानिसलाई दास बनाए । माओत्सेतुङको सांस्कृतिक क्रान्ति भनेर चिनिएको समयावधिमा चिनियाँ समाजवादीहरूले थप २ करोडभन्दा बेसी मानिस मारे । नाजीहरूबाट थप मानवीय नरसंहार भएको थियो ।