कारेसेको सिलिन्डरः बाइबलीय पात्रको उल्लेख गर्ने २,६०० वर्ष पुरानो पुरातात्त्विक खोज

कोरेसको सिलिन्डर प्राचीन माटोले बनेको एउटा सिलिन्डर हो जसमा फारसका राजा कोरेसको नाउँ उल्लेख गरिएको छ । ख्रिस्टाब्द १८७९ मा मेसोपोटामियाको बेबिलोन (अर्थात् आधुनिक इराक) मा यसलाई पत्ता लगाइएको हो । छैटौँ शताब्दी ख्रिस्टपूर्व अर्थात् आजभन्दा २,६०० वर्षअगि बनाइएको यस सिलिन्डरलाई अहिले ब्रिटिस सङ्ग्राहलयमा राखिएको छ । ५३९ ख्रिस्टपूर्वमा फारसले बेबिलोनी साम्राज्यमाथि विजय हासिल गरेपछि राजा कोरेसले यसको निर्माण गरेका थिए । करिब ९ इन्च लामो यो माटोको सिलिन्डरलाई हर्मोन रासमले पत्ता लगाएका थिए ।

यस सिलिन्डरमा राजा कोरेसले बेबिलोनी सहरमाथि आफूले प्राप्त गरेका विजयलाई वर्णन गरेका छन् । आफूले कब्जा गरेका देशसाथै तिनीहरूका देवीदेवता र धर्मको सम्बन्धमा पनि तिनले आफ्नो नीतिलाई यस सिलिन्डरमा उल्लेख गरेका छन् ।

बाइबलका विद्यार्थीहरूका लागि कोरेस कुनै अपरिचित नाउँ होइन । तिनी क्याम्बिसस प्रथमका छोरा थिए । फारस साम्राज्यका संस्थापक कोरेस सर्वप्रथम ५५९ ख्रिस्टपूर्वमा सिंहासनमा बसेका थिए । नौ वर्षपश्चात् तिनले मादीहरूलाई जितेर मादी–फारसलाई संयुक्त राज्य बनाए । ५३९ ख्रिस्टपूर्वमा कोरेसले बेबिलोनलाई आफ्नो हातमा पारेका थिए । बेबिलोन कब्जा गरिएको केही वर्ष बित्न नपाउँदै मन्दिरको पुनर्निर्माण गर्न यहूदीहरू आफ्नो देशमा फर्केर जान सक्छन् भनी तिनले उर्दी निकाले ।

एज्राले तिनको घोषणालाई यसरी अभिलिखित गरेका छन्, “फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून् । सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस् । बाँचेको प्रत्येक यहूदी जहाँ–जहाँ छ त्यस ठाउँका बासिन्दाहरूले यरूशलेम स्थित परमेश्वरका मन्दिरको निम्ति त्यसलाई सुन, चाँदी, धन–सम्पत्ति र गाईबस्तुहरू तथा राजीखुशीको भेटी जुटाइनुपर्नेछ’” (एज्रा १:२–४) ।  यरूशलेममा मन्दिर पुनर्निर्माण गरिनुपर्छ र यस महान् कार्यको लागि इच्छुक निर्वासित व्यक्तिहरूलाई जान अनुमति छ (एज्रा १:१–११) भन्ने बाइबलको विवरणसित यस नवआविष्कृत पुरातात्त्विक खोज बेमेल छैन ।

बाइबलीय विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने यो एउटा महत्त्वपूर्ण पुरातात्त्विक खोज हो । किनकि यसले बाइबल धर्मशास्त्रले भनेझैँ फारसका राजा कोरेस, बेबिलोनमाथि तिनको विजय र मन्दिर पुनर्निर्माणको निम्ति प्रदान गरिएको तिनको अनुमतिलाई उल्लेख गर्छ ।

Facebook Comments

Powered by Youth Circle