सातौँ-छैटौँ शताब्दी ख्रिस्टपूर्वका अगमवक्ता इजकिएलले लेखे, “किनकि हरेक जीवित प्राण मेरै हो— बाबु र छोरा दुवै एकैजस्तै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्छ” (१८:४) । तर प्राण (वा आत्मा) अमरणशील छ भनी बाइबलले प्रस्ट रूपमा सिकाउँछ । उदाहरणार्थ, पत्रुस लेख्छन्, “तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ” (१ पत्रुस ३:४) । के प्राण मर्छ ? इजकिएलको भनाइको मतलब के हो ?
‘प्राण’ को लागि इजकिएलले प्रयोग गरेका हिब्रू शब्द हो, नेफेस । यहाँ यो शब्दलाई जीवित व्यक्तिको अर्थ लाग्ने गरी प्रयोग गरिएको छ । यहाँ प्राण भन्नाले व्यक्तिको कुनै हिस्सा नभई पूर्ण व्यक्ति नै हो । तसर्थ “जुन प्राणले पाप गर्छ, त्यही मर्छ” भन्दा यसको अर्थ हुन्छ कि “जुन व्यक्तिले पाप गर्छ, त्यही मर्छ ।” यर्मिया १८:२० अर्को उदाहरण हो जहाँ व्यक्तिको लागि ‘प्राण’ को उल्लेख गरिएको छ, “के भलाइको सट्टामा खराबी गरिन्छ ? तर मेरा विरोधीहरूले मेरो प्राणको लागि एउटा खाडल खनेका छन् । तपाईंको क्रोध तिनीहरूदेखि पर हटाउनलाई तिनीहरूका पक्षमा कुरा गर्न म तपाईंको सामुन्ने खडा भएँ, सो सम्झनुहोस् ।”
बुबाका पापको कारण उसका छोराछोरीले दु:ख भोग्दै थिए र मर्दै थिए भनी इजकिएलको समयमा कतिपय मानिसहरूले सिकाउँदै थिए । आफ्नो दुर्भाग्यको लागि अरूलाई दोष लगाई मानिसहरूले आफ्नै दोषचाहिँ इन्कार गर्दै थिए । अन्तर्निहित पापको सिद्धान्तबारे भएको गलत बुझाइको विरुद्मा लड्नु इजकिएलको आशय थियो ।
आफ्नो दोषको लागि अरूलाई दोश्याउनु गलत हो किनकि परमेश्वरको सामु हरेक व्यक्ति व्यक्तिगत रूपमा जवाफदेही छ । “हरेक आफ्नै पापको निम्ति मर्नेछ । जसले अमिलो अङ्गूर खान्छ त्यसैको दाँत कुँडिन्छ” (यर्मिया ३१:३०) । यो कुरो विगतको पुस्ताको लागि जति साँचो थियो, वर्तमान र भविष्यको पुस्ताको लागि पनि उत्तिकै साँचो छ ।