अकस्मात् पत्ता लाग्यो बाइबलीय विवरणको पुष्टि गर्ने २,७०० वर्ष पुरानो शिलालेख

ख्रिस्टाब्द १८८० मा जेकब स्पाफोर्ड नाउँ गरेका जवान ठिटोले यरूशलेमको पूर्वपट्टि पर्ने सिलवान गाउँमा एउटा शिलालेख फेला पारे जसलाई सिलोआमको शिलालेख भनिन्छ । सिलोआम तलाउमा पानी लैजाने सुरुङ पार गर्ने क्रममा तिनले अकस्मात् उक्त शिलालेख पत्ता लगाएका थिए ।

यहूदाका राजा हिजकियाले आठौँ शताब्दी ख्रिस्टपूर्वमा सिलोआम तलाउको निर्माण गरेका थिए । गीहोन नदीको माथिल्लो मूललाई थुनेर १,७७७ फिट लामो चट्टानको सुरुङमार्फत राजाले यस तलाउमा पानी ल्याएका थिए । अश्शूरीहरूको सम्भाव्य आक्रमणबारे राजा हिजकिया दूरदर्शी थिए । त्यसैले आक्रमणको बेलामा यरूशलेममा पानीको हाहाकार नहोस् भन्ने हेतुले राजाले सुरुङ खनेर पानी ल्याएका थिए ।

यहूदाका तेर्‍हौँ राजा हिजकियाद्वारा निर्मित सिलोआमको सुरुङको पूर्णताबारे बयान गरिएको यस शिलालेखलाई ७०० ख्रिस्टपूर्वको मिति दिइएको छ । यसको अर्थ हुन्छ कि यो आजभन्दा लगभग २,७०० वर्ष पुरानो शिलालेख हो । प्राचीन हिब्रू भाषामा लेखिएको यस खोजमा जम्माजम्मी ६ ओटा हरफ छन् । १.३२ मिटर चौडाइ र ०.२१ मिटर उचाइ भएको यस शिलालेखलाई हाल टर्कीको इस्तानबुल आर्खियोलोजी म्युजियम्समा राखिएको छ ।

बाइबलीय पुरातत्त्वविद्याको अध्ययनमा सिलोआमको शिलालेख महत्त्वपूर्ण छ । २ राजा २०:२० ले बताउँछ, “हिजकियाको राजकालका अरू घटनाहरू र तिनका सबै उपलब्धिहरू, र तिनले कसरी पोखरी र सुरुङ बनाएर सहरमा पानी ल्याए के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?” नयाँ करारमा सिलोआमको तलाउको उल्लेख येशूको आश्चर्यकर्मसित जोडिएर आएको छ, “यी कुरा भनेर उहाँले भूइँमा थुक्नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो । अनि उहाँले त्यसलाई भन्नुभयो, ‘जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल ।’ त्यसले गएर पखाल्यो, र देख्ने भएर फक्र्यो” (यूहन्ना ९:६–७) ।

आठौँ शताब्दी ख्रिस्टपूर्वका राजा हिजकियाले सुरुङ खनेर यरूशलेममा पानी ल्याएका थिए भन्ने बाइबलीय विवरणसित यो खोज सोर्‍है आना मेल खान्छ । बाइबलको ऐतिहासिकताको पुष्टि गर्ने यो अर्को महत्त्वपूर्ण खोज हो ।

Facebook Comments

Powered by Youth Circle