फुटबलको दुनियाँमा नाउँ कमाएका काकाको मनपर्ने पुस्तक हो— बाइबल

“एउटा खेलाडीको रूपमा मैले यस वर्ष हासिल गरेका सबै विजय र जितका लागि म परमेश्वरलाई धन्यवाद चढाउँछु र म वेदीमा दुईवटा पुरस्कार लिएर आउँछु । पहिलो हो— मेरो जन्मनै लागेको पहिलो छोरो । दोस्रो हो— फिफाबाट प्राप्त हुने ट्रफी जुन म परमेश्वरलाई अर्पण गर्न चाहन्छु ।” यो भनाइ अरू कसैको नभएर विश्व फुटबल जगत्‌मा काका भनेर चिनिने ब्राजिलका साविक फुटबल खेलाडीको हो ।

१८ वर्षको किशोरावस्थामा व्यावसायिक क्लबबाट डेब्युट गरेका काकाले २००२, २००६ र २०१० मा गरी तीन पटक विश्वकपमा भाग लिँदा २००२ मा तिनको टोलीले ट्रफी उचालेको थियो ।

काका एक भक्त इभान्जलिकल ख्रीष्टियान हुन् जो साओ पाउलोस्थित रिबर्थ इन क्राइस्ट चर्चका सक्रिय सदस्य थिए । “म येशूको हुँ” लेखिएको टिसर्ट देखाउन तिनले आफ्नो जर्सी खोल्ने गर्थे । २००२ को विश्वकपमा रेफ्रीद्वारा अन्तिम सिटी फुकिएपछि तिनले सार्वजनिक रूपमै प्रार्थना गर्थे । २००५ कन्फेडेरेसन कपको फाइनलमा अर्जेन्टिनामाथि ४-१ को जित हात पारेपछि तिनी र तिनको टोलीका सदस्यहरूले उत्सव मनाउँदा विभिन्न भाषामा लिखित “येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ” टिसर्ट लगाएका थिए ।

२००७ मा फिफा वर्ल्ड फुटबलरको पुरस्कार जित्दा तिनले भनेका थिए, कि तिनी जवान छँदा तिनी साओ पाउलोको लागि व्यावसायिक फुटबल खेलाडी बन्न चाहन्थे र ब्राजिल राष्ट्रिय टोलीको लागि एउटा खेल खेल्न चाहन्थे, तर परमेश्वरले तिनले मागेका भन्दा बढी दिनुभयो । गोल गर्दा तिनी साधारणतया आकाशमा हेर्ने गर्थे जुन परमेश्वरप्रति तिनको धन्यवाद ज्ञापनको सङ्केत हो । काकालाई सुसमाचारसम्बन्धी गीत निकै मन पर्छ । एउटा अन्तर्वार्तामा तिनले पास्टर हुने इच्छासमेत व्यक्त गरेका थिए । ३८ वर्षका काकालाई मनपर्ने पुस्तक हो– बाइबल ।

Facebook Comments

Powered by Youth Circle