किन येशूले पत्रुसलाई शैतान भन्नुभयो (मर्कूस ८:३३) ?

येशूले पत्रुसलाई यसो भनी हप्काउनुभयो, “तर फर्केर आफ्‍ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्‍काउनुभयो, ‘ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्‍वरपट्टि छैन, तर मानिसपट्टि छ'” (मर्कूस ८:३३) ? किन येशूले पत्रुसलाई शैतान भन्नुभयो ?

येशूले आफ्नो मृत्यु र पुनरुत्थान आवश्यक थियो भनी आफ्ना चेलाहरूलाई भर्खरै बताउनुभएको थियो, “मानिसको पुत्रले धेरै दु:ख भोग्‍नु, र धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट इन्‍कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्‌नु आवश्‍यक छ” (पद ३१) । पत्रुसले येशूको यो वचनलाई प्रस्ट रूपमा बुझेका थिए तर ‘मसीह’ बारे तिनको दृष्टिकोणसित यो वचनलाई मिलाउन सकेनन् किनकि येशूले भविष्यवाणी गर्नुभएको मसीहले दु:खकष्ट भोगी मृत्यु वरण गर्नुपर्नेथियो । मसीह विजयी राजाको रूपमा आई रोमी दासत्वबाट आफ्ना मानिसहरूलाई छुटाउनुहुनेथियो भन्ने गलत तर लोकप्रिय अवधारणालाई पत्रुसले अङ्गालेका हुनुपर्छ । पत्रुसको बुझाइअनुसार मसीह मर्नुपर्नेथियो भने उहाँ विजयी राजा हुन असम्भव थियो । त्यसैले पत्रुसले येशूलाई हकारे । यही प्रसङ्गमा उहाँले पत्रुसलाई भन्नुभयो, “ए शैतान, मबाट हटिजा ।”

पत्रुसले जे भने त्यसको पछाडि शैतान थियो भनी येशूले जान्नुभयो । येशूलाई क्रूसमा जानदेखि रोक्न शैतानले उहाँकै चेलालाई समेत प्रयोग गर्दै थियो । शैतान स्रोत थियो भने पत्रुस माध्यम । परमेश्वरको योजना विफल बनाउने प्रयासमा यहाँ शैतानले पत्रुसलाई प्रयोग गर्दै थियो । त्यसैले येशूले पत्रुसलाई शैतान भन्नुभयो । तर शैतानको प्रयत्न सफल भएन किनकि आफ्नो भविष्यवाणीमुताबिक उहाँ सम्पूर्ण मानव-जातिको लागि क्रूसमा टाँगिनुभयो र तेस्रो दिनमा पुनरुत्थान हुनुभयो ।

Facebook Comments

Powered by Youth Circle