येशू कहाँबाट स्वर्गारोहण हुनुभयो— बेथानिया वा जैतून पर्वत ?

तेस्रो सुसमाचारीय लेखक डा. लूकाको विवरणअनुसार येशू बेथानियाबाट स्वर्गारोहण हुनुभयो, “त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो । उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो” (लूका २४:५०-५१) । तर उही लेखकको दोस्रो पुस्तकमा भनिएको छ, “उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो । … तब तिनीहरू जैतून भनिने पहाडबाट यरूशलेम फर्के” (प्रेरित १:९-१२) । यी दुईवटा विवरणलाई एक आपसमा जुधाएर अध्ययन गर्दा उहाँको स्वर्गारोहणको वास्तविक स्थलबारे विरोधाभास देखिन्छ । येशू कहाँबाट स्वर्ग जानुभयो— बेथानिया या जैतून पर्वत ?

येशू पहिलो शताब्दीको प्यालेस्टाइनमा बाँच्नुभयो । उक्त देशको भूगोलको ज्ञान नहुने व्यक्तिले उहाँको स्वर्गारोहणबारे यी दुईवटा विवरणलाई पढेर बाइबलमा भुल छ भन्ने गलत निष्कर्षमा पुग्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

बेथानिया जैतून पर्वतको पूर्वपट्टि फेदनिर अवस्थित गाउँ थियो । यो गाउँ जैतून पर्वतमा नै पर्दथ्यो (लूका १९:२९) । यो गाउँ यरूशलेमबाट लगभग दुई माइल पूर्वमा थियो ।

‘स्वर्गारोहणको पर्वत’ भनेर चिनिने जैतून पहाडको उच्चतम टाकुरा समुद्र सतहदेखि २,७०० फिट उचाइमा रहेको छ । यो टाकुरा पहाडको मध्य भागमा पर्छ जहाँबाट येशू स्वर्ग जानुभयो भन्ने परम्परागत विश्वास रहिआएको छ । यहीँ नै सम्राज्ञी हेलेनाले येशूको स्वर्गारोहणको सम्झनामा मण्डली भवन बनाएकी थिइन् ।

येशूको स्वर्गारोहणको वास्तविक स्थलबारे छलफल गर्दा परम्परागत विश्वास त्रुटिपूर्ण छ जस्तो देखिन्छ किनकि लूकाको विवरणअनुसार उहाँ बेथानियाबाट स्वर्गारोहण हुनुभएको प्रस्ट छ । येशू जैतून पर्वतको मध्य भागमा पर्ने उच्चतम टाकुराबाट स्वर्ग नगई त्यहाँदेखि एक माइल टाढा पर्ने बेथानियाबाट स्वर्गारोहण हुनुभयो । यो अनुच्छेदमा परम्परागत दृष्टिकोणमा खोट छ जस्तो देखिएको छ भन्न खोजिएको हो, बाइबलीय विवरणमा भने होइन ।

म ठैबमा बस्छु जुन ललितपुर जिल्लामा पर्छ । म कहाँ बस्छु ? जवाफमा ठैब र ललितपुर दुवै नै सही छन् । फरक यति मात्र हो कि एउटाले सानो ठाउँलाई जनाउँछ भने अर्कोले ठुलो ठाउँलाई ।

स्वर्गारोहणको बारेमा बताउने दुवै विवरणका लेखक डा. लूकाले दुवै ठाउँलाई ख्रीष्टको स्वर्गारोहणको सामान्य स्थलको रूपमा उल्लेख गरेका छन् । येशू कहाँबाट स्वर्ग जानुभयो भन्ने प्रश्नको उत्तरमा दुवै (बेथानिया र जैतून पर्वत) नै सही छन् । एउटाले सानो क्षेत्रलाई उल्लेख गर्छ भने अर्कोले ठुलो इलाकालाई ।

Facebook Comments

Powered by Youth Circle