लूकाले व्यक्त गरेका छन्, “जब उहाँ घरमा पुग्नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन । सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्नुभयो, ‘नरोओ, त्यो मरेकी छैन, तर सुतेकी छे'” (लूका ८:५१-५२) । बालिका मरिसकेकी थिइन् किनकि पद ५५ मा प्रस्टसँग लेखिएको छ, “अनि त्यसको प्राण फर्केर आयो, र त्यो तुरुन्तै उठी ।” बालिका मरिसकेकी थिइन् भने किन येशूले ‘सुतेकी’ भन्नुभयो ?
यी बालिका १२ वर्षकी थिएन् जो याइरसकी छोरी थिइन् । याइरस सभाघरका शासक थिए । छोरीको मृत्युपश्चात् बुबाले येशूलाई छोरीको चङ्गाइको निम्ति बिन्ती गरे अनि येशूले बालिकालाई पुनर्जीवन दिनुभयो । तर येशूले मरिसकेकी बालिकालाई किन ‘सुतेकी’ भन्नुभयो ?
बालिका ‘सुतेकी’ छन् भन्नुहुँदा येशूले अङ्कित गर्दै हुनुहुन्थ्यो कि उनको मृत्यु केवल अस्थायी थियो । उनी सदाका लागि मरेकी थिइनन् । जसरी राती सुतेको मान्छे बिहान उठ्छ, त्यसै गरी उनी पनि उठ्नेथिइन् भनी येशूले व्यक्त गर्दै हुनुहुन्थ्यो । येशूको उपस्थितिमा मृत्यु केवल सुताइ हो किनकि सुताइ अस्थायी हुन्छ । येशूले मृत्युको अस्थायी अवस्थाबाट उनलाई आश्चार्यपूर्ण रूपमा जगाउनुभयो । येशूको भनाइलाई हामी यसरी सरल भाषामा बुझ्न सक्छौँ, “बालिका स्थायी रूपमा मरेकी छैनन्, तर अस्थायी रूपमा मात्र । आलङ्कारिक भाषामा भन्नुपर्दा उनी केवल सुतेकी छन् र चाँडै नै उनले अलौकिक रूपमा पुन: जीवन पाउने छिन् ।”