कसरी प्रभावशाली ख्रीष्टियान बन्ने ?

“सुकरातले भनेका थिए कि जाँच नगरिएको जीवन जिउन लायक छैन । आफ्नो जीवन जाँच्नु भनेको त्यसबारे सोच्नु हो, मूल्याङ्कन गर्नु हो । मूल्याङ्कनको लागि मूल्य-मान्यता र प्रणालीको खाँचो पर्छ । हामी सबैका मूल्य-मान्यताहरू छन् । जीवन के हो भन्ने बारेमा हामी सबैको कुनै न कुनै हेराइ छ । हामी बसेका संसारबारे हामी सबैको कुनै न कुनै दृष्टिकोण छ । हामी सबै दार्शनिक होइनौँ, तर हामी सबैको दर्शनशास्त्र छ । हामीले त्यस दर्शनशास्त्रबारे धेरै सोचविचार गरेका छैनौँ होला, तर एउटा कुरो भने पक्का छ र त्यो हो: हामीले त्यसलाई कार्यान्वयन गरेका छौँ । हामी जसरी जिउँछौँ त्यसले जीवनबारे हाम्रो गहनतम निश्चयतालाई प्रकट गर्छ । हामीले कसरी सोच विचार गर्छौं भन्ने विषयमा हाम्रा पुस्तकहरूले भन्दा हाम्रा जीवनले बेसी कुरा बताउँछन् । हामीले प्रचार गर्ने सिद्धान्त सधैँ हामीले वास्तवमै विश्वास गरेका सिद्धान्त हुँदैनन् । हामी जुन सिद्धान्तअनुसार जिउँछौँ तीचाहिँ वास्तवमै हामीले विश्वास गरेका हुन्छौँ ।” यो मेकिङ्ग अ डिफिरेन्स: इम्प्याक्टिङ्ग कल्चर एन्ड सोसाइटी एज अ क्रिस्चियान नामक पुस्तकबाट उद्धृत अंश हो । आर. सी. स्प्रौल यसका लेखक हुन् । तिनी ईश्वरशास्त्री, पास्टरसाथै लेखक थिए । तिनी १०० ओटाभन्दा बढी कृतिका लेखक हुन् ।

पुस्तक पठन यात्रामा यो मेरो ३७ औँ पुस्तक हो । २१२ पृष्ठको यस पुस्तक पढेर सिद्ध्याउन मलाई ८ दिन (जुन २-९) लाग्यो । यो ख्रिस्टाब्द २०१९ मा प्रकाशित कृति हो ।

यस पुस्तकमा दुईवटा भाग छन् । पहिलो भागमा विश्वदृष्टि (worldview) हरूको चिरफार गरिएको छ भने दोस्रोमा समाजमा ख्रीष्टियानको भूमिकाबारे वर्णन गरिएको छ । पहिलो भागलाई आठवटा अध्यायमा विभाजन गरिएको छ भने दोस्रोलाई पाँचवटा । पहिलो भागमा सांसारिकवाद, निराशवादी अस्तित्ववाद, भावनात्मक मानतावाद, व्यावहारिकतावाद, प्रत्यक्षवाद, बहुलवाद तथा सापेक्षतावाद र सुखभोगवादको वर्णन गरी तिनका कमी कमजोरीहरू केलाइएका छन् । दोस्रो भागमा ख्रीष्टियान दृष्टिकोणबाट अर्थतन्त्र, विज्ञान, कला, साहित्य र सरकारलाई हेरिएको छ ।

बाइबल अर्थतन्त्रसम्बन्धी पाठ्यपुस्तक नभए तापनि रुपियाँ-पैसाबारे बाइबलमा धेरै नै चर्चा गरिएको छ । लेखकका अनुसार अर्थशास्त्रबारे चारवटा आधारभूत ख्रीष्टियान सिद्धान्त छन्: (१) निजी सम्पत्ति, (२) निष्पक्षता, (३) उद्योग र (४) दया ।

अर्थतन्त्रपश्चात् लेखक विज्ञानमा प्रवेश गरेका छन् । परमेश्वरले सृष्टिको समयमा दिनुभएको आदेशसँगै विज्ञानको थालनी भएको थियो एद्यपि आधुनिक विज्ञान भने धेरै पछि मात्र सुरु भयो । वैज्ञानिकहरूले आफ्नो पेसालाई परमेश्वरको बोलावटको रूपमा लिन्थे । प्रकृतिबारे वैज्ञानिकहरूद्वारा गरिने अध्ययन र धर्मशास्त्रबारे ईश्वरशास्त्रीहरूद्वारा गरिने अध्ययनको बिचमा एकता थियो ।

विज्ञानलाई सम्बोधन गरेपछि लेखक स्प्रौल ख्रीष्टियान दृष्टिकोणबाट कलाको वर्णन गर्छन् । इतिहासका मनग्गे विश्वविख्यात कलाकारहरू ख्रीष्टियान थिए । कलाको सुरुआत सृष्टिमै देखिन्छ । सौन्दर्यको लागि आखिरी जग र आधार भनेको सृष्टिको कार्य नै हो । परमेश्वर चित्रकार मात्र हुनुहुन्न, उहाँ कालिगड पनि हुनुहुन्छ । सृष्टिबाट हामी बाइबलीय इतिहासमा आउँदा पनि कलामा परमेश्वरको संलग्नतालाई छर्लङ्ग देख्न सक्छौँ । ख्रीष्टियान कला असल, साँचो र सुन्दर हुन्छ ।

कलापश्चात् साहित्यबारे सम्बोधन गरिएको छ । पाश्चात्य इतिहासका कालखण्डहरूमा बौद्धिक ख्रीष्टियान व्यक्तित्वहरूले सङ्गीत र कलामा मात्र नभएर साहित्यमा पनि औधी प्रभाव पारेका थिए । बाइबल धार्मिक ग्रन्थ मात्र नभएर साहित्यिक ग्रन्थ पनि हो । साहित्यिक प्रभावमा बाइबल अतुलनीय पुस्तक हो ।

साहित्यपछि सरकारबारे लेखिएको छ । केही इतिहासकारहरूका अनुसार प्रेरित पावलद्वारा लिखित रोमी १३ अध्याय पाश्चात्य सभ्यताको राजनीतिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण दस्ताबेज हो । यस अध्यायमा पावलले सरकारप्रति नागरिकका उत्तरदायित्त्वहरू अभिलिखित गरेका छन् । समाजवादी, साम्यवादी, राजतन्त्रात्मक, बहुलवादी, गणतान्त्रिक आदि संसारमा विद्यमान कुनै पनि किसिमको सरकार एउटा शक्ति हो । मानवीय जीवन र सम्पत्तिको सुरक्षा नै सरकारको जिम्मेवारी हो ।

लेखक अमेरिकी हुन् र तिनले अमेरिकामा विद्यमान विश्वदृष्टिको चिरफार गरे तापनि ती विश्वदृष्टिहरू हाम्रो देशसाथै समाजमा पनि हावी भइसकेका छन् । यस्ता विश्वदृष्टिहरूसितको बौद्धिक मुकाबिला वर्तमान ख्रीष्टियानहरूका लागि चुनौति बनेको छ ।

तपाईं मिसनरी हुनुहुन्छ । जीवनका हरेक परिस्थितिमा हामी परमेश्वरको साक्षी बन्नुपर्छ । तपाईं जहाँ हुनुहुन्छ त्यहीँ नै येशूको अदृश्य राज्यलाई दृश्य बनाउनु नै प्रभावशाली ख्रीष्टियानको काम हो ।

Facebook Comments

Powered by Youth Circle