बाइबलअनुसार यो पृथ्वी कति वर्ष पुरानो छ ?

पुस्तक पठन यात्रामा यो मेरो ३५ औँ पुस्तक हो । पुस्तकको नाउँ हो, अ बिब्लिकल केस फर एन ओल्ड अर्थ (पुरानो पृथ्वीको लागि बाइबलीय आधार) । डेभिड स्नोक यसका लेखक हुन् । लेखक पिट्सवर्ग विश्वविद्यालयमा भौतिकशास्त्रसाथै खगोल विज्ञानका सहयोगी प्राध्यापक हुन् । मण्डलीका एल्डरसमेत रहेका तिनले ७० ओटाभन्दा बेसी वैज्ञानिक लेखसाथै दुईवटा वैज्ञानिक पुस्तक प्रकाशित गरिसकेका छन् । मैले ९ दिन (मे १५-२३) लगाएर यो कृति पढेर सकेँ । २२५ पृष्ठको यो कृति ख्रिस्टाब्द २००६ मा छापिएको थियो ।

के ज्ञानको वृद्धिसँगै बाइबलीय अर्थ खोलाइमा बद्लाउ आउँछ ? अर्को तरिकाले भन्नुपर्दा, विज्ञान, पुरातत्त्वविद्या, भाषा, संस्कृतिजस्ता विविध क्षेत्रबारे हाम्रो ज्ञानमा वृद्धि भएसँगै बाइबलका खण्डहरूलाई बुझ्ने हाम्रो दृष्टिकोणमा परिवर्तन आउँछ ? यसको जवाफ हुन्छ, आउँछ । यसको अर्थ बाइबलीय खण्डको अर्थ बद्लिएको भन्ने होइन, तर त्यसबारे हाम्रो अर्थ खोलाइचाहिँ बद्लिएको भन्ने हो । बाइबलीय खण्डको अर्थ हिजो जे थियो आज पनि त्यही हुन्छ । तर हाम्रो बुझाइमा भने भिन्नता आएको छ भन्ने हो ।

एउटा उदाहरण हेरौँ । सोर्‍हौँ शताब्दीमा मनग्गे बौद्धिक व्यक्तिहरूले पनि यो पृथ्वी स्थिर छ भनी तर्क गर्थे । लुथर, काल्भिनसाथै मेलाङ्थोनजस्ता प्रभावशाली ईश्वरशास्त्रीहरूले यो पृथ्वी घुम्छ भन्ने अवधारणालाई इन्कार गरे । बाइबलमा लेखिएको छ, “पृथ्‍वीको जग सुदृढ छ, त्‍यो कहिल्‍यै डग्‍नेछैन” (भजनसंग्रह ९१:१; ९६:१० र १०४:५ लाई पनि हेर्नुहोस्) । बाइबलका यस्ता खण्डहरूबाट तिनीहरूले पृथ्वी स्थिर छ भनेर बुझे । यी महान् मानिसहरू ‘गँवार’ थिएनन् । तर त्यस बेला पृथ्वीको घुमाइको लागि वैज्ञानिक साक्षी गौण थियो । तथापि त्यस समयपछि विज्ञानबारे हाम्रो ज्ञानमा क्रान्ति आएको छ र आज विज्ञानको सामान्य विद्यार्थीलाई पनि थाहा छ कि पृथ्वी स्थिर छैन, यो घुम्छ । त्यसो हो भने, बाइबलका यी खण्डहरू वैज्ञानिक दृष्टिकोणबाट गलत छन् त ? कदापि होइन । यी पद्यात्मक अभिव्यक्ति हुन् जसले पृथ्वीप्रति परमेश्वरको सुरक्षा र हेरचाहलाई व्यक्त गर्छन् । पृथ्वीको घुमाइसित यी पदहरूको कुनै लेनदेन छैन ।

यहाँ अर्को उदाहरण छ । दानिएल ५:१ मा लेखिएको छ, “बेलसजर राजाले आफ्‍ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए र उनीहरूसित उनले दाखमद्य पिए ।” उन्नाइसौँ शताब्दीमा मध्यपूर्वबारे जानेका ज्ञाताहरूले बाइबलको यस खण्डको उपेक्षा गरे र बाइबलमा भुल छ भनी निष्कर्ष निकाले किनकि बाइबलले भनेझैँ त्यस बेला बेलसजर शासक थिएनन् । तर अहिले पुरातत्त्वविद्याले पुष्टि गरिदिएको छ कि बेलसजर प्रतिशासक थिए भने तिनका पिता नाबोनिदस शासक थिए । दानिएलले बेलसजरलाई राजा भन्दा यसको अर्थ हुन्छ कि तिनी पनि शासनको ओहोदामा थिए अर्थात् प्रतिशासक थिए ।

फेरि एक पटक, के बाइबलका खण्डहरूबारे हाम्रो अर्थ खोलाइमा परिवर्तन आउँछ ? यसको जवाफ हुन्छ, आउँछ । तपाईंले माथि दुईवटा उदाहरण हेरिसक्नुभयो ।

यति हेरिसकेपछि म तपाईंलाई मूल प्रश्नमा लैजान चाहन्छु: यो पृथ्वी कति वर्ष पुरानो छ ? यसको जवाफको लागि ख्रीष्टियान वृत्तमा मूलत: दुईवटा अवधारणा पाइन्छ । हालैको पृथ्वी र पुरानो पृथ्वी । केही मानिसहरूको धारणाअनुसार यो पृथ्वी हालैको हो अर्थात् यो केही हजार वर्ष मात्र पुरानो छ । अर्को धारणाअनुसार यो पृथ्वी पुरानो हो अर्थात् यो अरबौँ वर्ष पुरानो भइसकेको छ ।

यस पुस्तकका लेखकचाहिँ यो पृथ्वी पुरानो छ भन्ने पक्षमा छन् । तिनी लेख्छन्, “यस पुस्तकमा पुरानो पृथ्वीमाथिको अडान बाइबलको तर्कसङ्गत, पुरातनवादी र कट्टरवादी अर्थ खोलाइ हो भनी म तर्क गर्दछु ।” अर्को ठाउँमा तिनी लेख्छन्, “पुरानो पृथ्वीको दृष्टिकोण बाइबलसित मेल खान्छ भनी विश्वास गर्दछु । तथापि मेरो अर्थ खोलाइ ‘प्रस्ट’ अर्थ खोलाइ नभएर ‘सम्भाव’ अर्थ खोलाइ हो ।”

यो पुस्तकमा लेखकले वैज्ञानिक तर्कलाई पनि समावेश गरे तापनि मूलत: लेखकले यो पृथ्वी पुरानो छ भन्नाका लागि बाइबलबाट तर्क गरेका छन् । लेखकले उत्पत्ति १ अध्यायमा उल्लिखित ‘दिन’ लाई युगको रूपमा अर्थ खोलेका छन् । परमेश्वरले मानिसलाई सृष्टि गर्नुभन्दा पहिले नै अन्य जीवजन्तुहरू सृष्टि गर्नुभएको थियो जसमध्ये केही मांसाहारी थिए । तिनीहरू मांसाहारी भएकाले पक्कै पनि तिनीहरूले प्राणीहरू मारेर खाए । जसको अर्थ हुन्छ कि आदम र हव्वालाई सराप दिनुअगि नै मृत्यु अस्तित्वमा थियो भन्ने लेखकको तर्क रहेको छ । नोआको समयमा आएको जलप्रलय स्थानीय थियो भन्नाका लागि विविध तर्कहरू पेस गरिएका छन् ।

यो पृथ्वी कति वर्ष पुरानो छ ? बाइबलले हामीलाई जवाफ दिँदैन । यो पृथ्वी पुरानो अर्थात् अरबौँ वर्ष पुरानो छ भनी बाइबलबाट अर्थ खोल्न सकिन्छ भन्ने लेखकको दाबी रहेको छ । उत्पत्ति १ अध्यायमा सृष्टिको वर्णन गरिए तापनि ‘कहिले’ भन्ने प्रश्नको जवाफ पाईंदैन र बाइबलमा यसको जवाफ खोज्नु मुनासिब पनि हुँदैन किनकि बाइबल वैज्ञानिक पाठ्यपुस्तक नभई धार्मिक ग्रन्थ हो । बाइबलमा यसको जवाफ खोज्नु भनेको औषधी पसलमा चाउचाउ खोज्नुजस्तै हो । यसको जवाफको लागि तपाईं र म विज्ञानमा जानुपर्छ र विज्ञानअनुसार साढे चार अरब वर्षअगि यो पृथ्वी अस्तित्वमा आयो । विज्ञानले त्यो पृथ्वीको अध्ययन गर्छ जसलाई परमेश्वरले अस्तित्वमा ल्याउनुभयो जुन परमेश्वरको प्रेरणाबाट बाइबल लेखियो । तसर्थ बाइबल र विज्ञान एक-अर्कामा मेल खानैपर्छ ।

Facebook Comments

Powered by Youth Circle