किन एस्तरको पुस्तकमा परमेश्वरको नाउँ उल्लेख भएको छैन ?

नेपाली बाइबलमा एस्तरको पुस्तक सत्रौँ पुस्तक हो । बाइबलका ६६ ओटा पुस्तकमध्ये दुईवटा स्त्रीको नाउँबाट राखिएको छ: रूथ र एस्तर । पूरै बाइबलमा एस्तरको पुस्तक मात्र यस्तो पुस्तक हो जहाँ परमेश्वरको नाउँ उल्लेख भएको छैन ।

एस्तरको पुस्तकमा एस्तरको कथा पाइन्छ । पुस्तकअनुसार साधारण यहूदी एस्तर रानी बन्न पुगिन् । दुष्ट हामानले उनको जातिलाई नरसंहार गर्ने षड्यन्त्र रचे । तिनी असफल मात्र भएनन् तर आफ्नो कुटिल योजनाको आफै सिकार बने । अन्तत: तिनलाई फाँसी दिइयो । हामानको षड्यन्त्रबाट यहूदीहरू बाँचेको उपलक्ष्यमा तिनीहरूले एउटा चाडको सुरुआत गरे जसलाई पुरिम भनिन्छ ।

यस पुस्तकमा परमेश्वरको नाउँलाई देख्न नपाइए तापनि उहाँको हातलाई भने छर्लङ्ग देख्न पाइन्छ । मानवीय गतिविधिमाथि परमेश्वरको बन्दोवस्तले यो पुस्तक ओतप्रोत छ । आफ्नो जातिलाई बचाउन परमेश्वर सक्रिय हुनुहुन्थ्यो ।

यस पुस्तकमा परमेश्वरको नाउँ उल्लेख नहुनुका विविध कारण हुन सक्छन् । परमेश्वरले पर्दापछाडि काम गर्दै हुनुहुन्थ्यो भनी देखाउनु एस्तरको पुस्तकको जोड थियो । पुस्तक लेखनको परिस्थितिको कारण पनि परमेश्वरको नाउँ सिधै उल्लेख नभएको हुन सक्छ । परमेश्वरको बन्दोवस्तलाई जोड दिनु यो पुस्तकको अर्को लक्ष्य हो ।

निष्कर्मा यस पुस्तकमा परमेश्वरको नाउँ सिधै उल्लेख नभए तापनि उहाँको काम भने प्रस्ट छ । पुस्तकमा उहाँको नाउँ उल्लेख नभए तापनि उहाँको काम भने सर्वत्र छ । एस्तर रानी बन्नु, हामानको षड्यन्त्र उल्टिनु, यहूदी जाति नरसंहारबाट जोगिनु आदिजस्ता दृश्यमा परमेश्वरको हात देख्न पाइन्छ ।

Facebook Comments

Powered by Youth Circle