किन येशूले कनानी स्त्रीलाई कुकुरको संज्ञा दिनुभयो (मत्ती १५:२६) ?

येशू टुरोस र सीदोनको इलाकामा जानुभयो जुन गैरयहूदी क्षेत्र थियो । एक जना कनानी स्त्री येशूकहाँ आइन् र आफ्नी छोरीको चङ्गाइको निम्ति उहाँलाई बिन्ती गरिन् । येशूले उनलाई जवाफ दिनुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन” (मत्ती १५:२६) । किन येशूले कनानी स्त्रीलाई कुकुरको संज्ञा दिनुभयो ? के यो अपमानजनक अभिव्यक्ति भएन र ?

येशूको समयमा यहूदीहरूले गैरयहूदीहरूलाई ‘कुकुर’ (ग्रिकमा कुओन) भन्थे । यहूदीहरूले गैरयहूदीहरूको उपस्थितिमा हुनुलाई पनि अशुद्ध मान्थे । यस खण्ड (मत्ती १५:२१-२८) मा येशूले आफ्ना चेलाहरूसाथै ती स्त्रीलाई आफ्नो सेवाकार्यको प्राथमिकताबारे व्याख्या गरिदिनुभयो । उहाँको मूल मिसन यहूदीहरूका लागि थियो, गैरयहूदीहरूका लागि होइन । यही प्रसङ्गमा उहाँले भन्नुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन ।” ‘कुकुर’ को लागि प्रयोग गरिएको ग्रिक शब्द कुनारिओन हो । यसले सानो कुकुर वा पालिने कुकुरलाई जनाउँछ । कुकुरको लागि प्रयोग गरिने ग्रिक शब्दभन्दा यो फरक शब्द हो र यसले फरक अवधारणालाई प्रस्तुत गर्छ ।

ती स्त्रीको प्रतिक्रियाबाट उनको महान् विश्वास झल्कन्छ । येशूले उनको विश्वासको तारिफ गर्दै भन्नुभयो, “ए नारी, तिम्रो विश्‍वास ठूलो रहेछ । तिमीले इच्‍छा गरेबमोजिम तिमीलाई होस्‌” (मत्ती १५:२८) ।

यस खण्डको सन्दर्भ र भाषालाई अध्ययन गर्दा हामी प्रस्ट हुन सक्छौँ कि येशूले ती स्त्रीलाई ‘कुकुर’ भन्नुभएको थिएन । उहाँको अभिव्यक्ति अमानवीय थिएन, न त अपमानजनक । उहाँले यहूदीलाई ठुलो ठानी गैरयहूदीलाई सानो ठान्नुभएको होइन । उहाँको दृष्टिकोणमा चाहे यहूदी होस् वा गैरयहूदी, दुवै समान छन् । यहाँ येशूले प्राथमिकताको विषयमा चर्चा गर्दै हुनुहुन्छ । उहाँ पहिले यहूदीका लागि आउनुभएको थियो, त्यसपछि गैरयहूदी । उहाँले ती स्त्रीको विश्वासको जाँच गर्दै हुनुहुन्थ्यो र आफ्ना चेलाहरूलाई पनि महत्त्वपूर्ण पाठ सिकाउँदै हुनुहुन्थ्यो ।

Facebook Comments

Powered by Youth Circle