जातीय भेदभावविरुद्ध ७ ओटा तर्क

नेपालमा कानुनी रूपमा जातीय भेदभाव दशकौँ अगि हटे तापनि व्यावहारिक रूपमा यो विद्यमान नै छ । विविध कारणले हाम्रो समाजमा यसले स्थान पाइरहेको छ । यस आलेखमा जातीय भेदभावविरुद्ध ७ ओटा तर्क पेस गरिएका छन् ।

  1. जातीय भेदभाव सृष्टिको विवरणको विरुद्धमा छ

मानव जाति यस धरतीमा कसरी आयो भन्ने सवालमा पवित्र धर्मशास्त्र बाइबल प्रस्ट छ । परमेश्वरको प्रत्यक्ष सृष्टिद्वारा उहाँले मानिसलाई अस्तित्वमा ल्याउनुभयो, “फेरि परमेश्‍वरले भन्‍नुभयो, ‘मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌ ।’ यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो । परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो” (उत्पत्ति १:२६-२७) । बाइबलीय विवरणअनुसार परमेश्वरले केवल पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो, कथित माथिल्लो र तल्लो जातिलाई होइन ।

  1. जातीय भेदभाव प्रभु येशूको शिक्षाको विरुद्धमा छ

येशू ख्रीष्ट त्रिएकताको दोस्रो व्यक्तित्व हुनुहुन्छ जसले आजभन्दा झन्डै २,००० वर्षअगि मानवीय चोला धारणा गर्नुभयो । करिब साढे तेत्तिस वर्ष यस धरतीमा रहनुभएका उहाँका वचन र क्रियाकलापहरू मूलत: नयाँ करारका अगिल्ला चारोटा पुस्तक (मत्ती-यूहन्ना) मा पाइन्छन् ।

केही खण्डहरू पढ्दामा नै जातीय भेदभावबारे येशूको दृष्टिकोण छर्लङ्ग हुन्छ । यूहन्ना ४ अध्याय उत्कृष्ट उदाहरण हो । यहूदी र सामरीहरूका बिचमा लामो समयदेखि भेदभाव थियो । यहूदीहरूले आफूलाई ठुलो जाति मान्थे भने गैरयहूदीहरूलाई सानो जाति । तर येशू यहूदी हुनुभए तापनि सामरी स्त्रीसित बातचित मात्र गर्नुभएन, तर सामरीहरूको अनुरोधमा दुई दिन सामरियमा नै बस्नुभयो । येशूले जानाजानी सामाजिक मूल्य-मान्यता उल्लङ्घन गर्नुभयो । किन ? किनकि जातीय भेदभाव अमानवीय थियो भनी उहाँलाई थाहा थियो ।

येशूले भन्नुभएका झन्डै तीन दर्जन दृष्टान्तमध्ये एउटा असल सामरीको दृष्टान्त हो (लूका १०:२५-३७) । यस दृष्टान्तमा येशूले अछुत भनेर चिनिने सामरीको उपकारलाई प्रस्तुत गर्नुभएको छ । डाँकुहरूद्वारा पिटिई बाटैमा अधमरो पारी छोडिएको त्यस यात्रीलाई न पुजारीले सहयोग गर्‍यो, न त लेवीले । तर सहयोगीको रूपमा खडा भयो एक जना सामरी । येशूको यो दृष्टान्त इतिहासमा यति प्रभावशाली ठहरियो कि यसकै आधारमा परोपकारसम्बन्धी ठुलठुला सङ्घसंस्थाहरू खडा भएका छन् ।

  1. जातीय भेदभाव पावलको शिक्षाको विरुद्धमा छ

आदि मण्डलीलाई उग्र रूपमा सतावट गर्ने पावल पुनरुत्थान हुनुभएका येशूलाई भेटेपछि नाटकीय रूपमा परिवर्तन भएका थिए । नयाँ करारमा तिनले १३ ओटा पत्र कोरेका छन् । तिनले कसरी युरोपलाई सुसमाचारको पानीले सिँचित गरे र सुसमाचारलाई यरूशलेमदेखि रोमसम्म पुर्‍याए भनी प्रेरितको पुस्तकमा पढ्न पाइन्छ । येशूलाई ग्रहण गरेपछि कुटाइ–पिटाइ, हुलदङ्गा, भोक, कैद आदिजस्ता सबै किसिमका आपद्–विपद् भोगेका पावल सहिद बनी यस धरतीबाट बिदा भएका थिए ।

आफ्नो एउटा पत्रमा समानताको पक्षमा तिनले लेखे, “अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) । ख्रीष्टमा माथिल्लो जात र तल्लो जातको वर्गीकरण हुँदैन, हामी सबै ‘राजकीय पुजारी’ हौँ ।

  1. जातीय भेदभाव नेपालको संविधानको विरुद्धमा छ

बाइबल मात्र जातीय भेदभावको विरुद्धमा छैन, तर नेपालको वर्तमान संविधानले पनि छुवाछुतलाई गैरकानुनी मान्छ । नेपालको संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत समानताको हकमा लेखिएको छ, “सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन । राज्यले नागरिकहरूका बिच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन ।”

  1. जातीय भेदभाव मानव अधिकारको विश्वव्यापी घोषणापत्रको विरुद्धमा छ

१९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा हस्ताक्षर गरियो र त्यसको ५२ वर्षपछि ख्रिस्टाब्द २००० मा नेपालमा पनि राष्ट्रिय मानव अधिकार आयोग स्थापना भयो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा ३० ओटा धारा रहेका छन् । कुनै पनि व्यक्तिलाई जाति, वर्ण, लिङ्ग, भाषा, धर्म आदिको आधारमा भेदभाव गरिनुहुँदन भनी धारा २ मा प्रस्टसित लेखिएको छ, “जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनैतिक विचार, राष्ट्रिय वा सामाजिक उत्पति, सम्पत्ति वा अरू कुनै मर्यादाको आधारमा भेदभाव नगरी प्रत्येक व्यक्तिलाई यस घोषणामा उल्लिखित अधिकार र स्वतन्त्रताको अधिकार हुने छ । यसको अतिरिक्त, चाहे कुनै देश स्वतन्त्र होस् वा संरक्षित, स्वशासनरहित वा परिमित प्रभुसत्ता भएको होस्, त्यहाँका व्यक्तिहरूमा राजनैतिक, क्षेत्रीय वा अन्तर्राष्ट्रिय भेदभाव गरिने छैन ।”

  1. जातीय भेदभाव मानवीय संरचनाको विरुद्धमा छ

हरेक मान्छेमा भौतिक र अभौतिक पक्ष हुन्छन् । हाड, छाला, नाक, कान आदि भौतिक पक्ष हुन् भने तर्क, विवेक, प्रेम, रिस आदि अभौतिक पक्ष हुन् । यो कुरो अमेरिकाको राष्ट्रपतिदेखि सुडानको भिकारीसम्म र ब्राह्मणदेखि विकसम्म लागु हुन्छ । हामी सबैको शारीरिक संरचना एउटै छ । जातको आधारमा कोही धेरै बाँच्ने त कोही थोरै बाँच्ने हुँदैन । कसैको रगत कालो त कसैको रातो हुँदैन । हामी सबैको धडकन समान छ । तल्लो भनिएको जातिकी स्त्रीलाई बच्चा जन्माउन १५ महिना र माथिल्लो भनिएको जातिकी स्त्रीलाई ९ महिना भन्ने हुँदैन । हाम्रो भित्री अङ्गदेखि बाहिरी अङ्गसम्म सबैको शारीरिक बनोट उस्तै हुन्छ ।

  1. जातीय भेदभाव विद्वान्‌हरूको बुझाइको विरुद्धमा छ

अठारौँ-उन्नाइसौँ शताब्दीका भारतका कविसाथै लेखक रवीन्द्रनाथ ठाकुरले भनेका थिए, “यदि हिन्दु धर्मोन्मत्त विधर्मीहरूको घातक आक्रमणबाट आफ्नो रक्षा गर्न चाहन्छौँ भनेदेखि जातपातलाई सर्वथा त्याग गरेर आफन्तहरूलाई सङ्गठित गर्नुपर्छ ।” भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू (ख्रिस्टाब्द १८८९-१९६४) ले व्यक्त गरेका थिए, “जबसम्म जातपातलाई नामोनिसान मेटाइदिइन्न त्यतिन्जेलसम्म भारतले संसारका सभ्य राष्ट्रहरूमा आफ्नो उचित स्थान पाउन सक्दैन ।” स्वतन्त्रताका योद्धा लाला लाजपत रायले जातपातलाई हिन्दु धर्मको सबैभन्दा ठुलो कलङ्कको रूपमा उल्लेख गरेका छन् । भारतीय स्वाधीन अभियानका प्रमुख अगुवासाथै येशूको हिंसारहित शिक्षाबाट प्रभावित महात्मा गान्धीले जातपात प्रथाको भर्सना गरे । ख्रिस्टाब्द १९८८ मा काठमाडौँमा बसेको ‘विश्व हिन्दु सम्मेलन’ मा छलफल गरिएको निष्कर्षलाई अङ्ग्रेजी समाचार पत्रिका द राइजिङ्ग नेपालले यसरी छापेको थियो, “यस सम्मेलनमा हिन्दु धर्मलाई जातपात र छुवाछुतको प्रथाले हानि पुर्‍याएको थाहा गरियो र हिन्दु धर्मका यी खराबीलाई उन्मूलन गर्ने प्रस्ताव पारित गरियो ।” मानवतावादी महाकवि देवकोटाले त्यसै यसरी लेखेका थिएनन्, “मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन ।”

एउटा मानिसबाट अर्को मानिसलाई ठुलो र सानो भनेर छुट्ट्याउने प्राकृतिक चिनो न कसैको अङ्गमा छ, न रगतमा, न त शरीरको बनोटमा । सुरु–सुरुमा छालाको रङको आधारमा छुट्ट्याउन खोजिएको वर्णवाद उहिल्यै नै रगतको छ्यासमिसले अर्थहीन भएर गइसक्यो । आज कोइलाजस्ता काला बाहुन, क्षेत्री पनि भेटिन्छन् भने दूधभन्दा सेता परिवार र वादी पनि भेटिन्छन् । आजको जस्तो वैज्ञानिक, लोकतान्त्रिक गणतन्त्र र मानवताको युगमा त जातीय प्रथा व्यक्ति, परिवार, समाज, मण्डली र राष्ट्रका निम्ति कोरोना भाइरसभन्दा पनि बढी हानिकारक छ । यो जन्ममूलक वर्णव्यवस्था मिथ्या, कपोलकल्पित, अन्याय र स्वार्थले भरिपूर्ण छ । यो गैरकानुनी, अवैज्ञानिक, अमानवीय मात्र छैन, तर अबाइबलीय पनि छ ।

Facebook Comments

Powered by Youth Circle