त्रिएक परमेश्वरबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

  1. त्रिएक परमेश्वरको शिक्षा अत्यधिक महत्त्वपूर्ण सिद्धान्त हो । बाइबल धर्मशास्त्रमा ‘त्रिएक’ शब्द नपाइए तापनि यसबारे प्रस्ट रूपमा सिकाइएको छ । ‘त्रिएकता’ अङ्ग्रेजी शब्द Trinity को अनुवाद हो जसको अर्थ हुन्छ, तीनमा एकत्व । कुनै सिद्धान्त स्थापित हुनको लागि धर्मशास्त्रमा ‘शब्द’ नै उल्ललिखित हुनुपर्छ भन्ने छैन । अवधारणा प्रस्टसित सिकाइएको छ भने त्यो पर्याप्त हुन्छ । त्रिएकताको लागि प्रयोग गरिने अर्को शब्द हो, त्रिएकत्व ।
  2. त्रिएक परमेश्वरको सिद्धान्तअनुसार पिता परमेश्वर हुनुहुन्छ, पुत्र परमेश्वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । ‘सार’ मा परमेश्वर एक हुनुहुन्छ तर ‘व्यक्तित्व’ मा तीन हुनुहुन्छ भन्ने शिक्षा नै त्रिएक परमेश्वरको सिद्धान्त हो ।
  3. त्रिएक परमेश्वर भनेको के हो भनेर अध्ययन गरिरहँदा यो के होइन भनेर पनि बुझ्नुपर्ने हुन्छ । त्रिएक परमेश्वर भनेको तीन जना छुट्टाछुट्टै परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने होइन । त्यस्तो शिक्षालाई त त्रिईश्वरवाद भनिन्छ जुन बहुईश्वरवादको एउटा स्वरूप हो । त्रिएक परमेश्वर भनेको पिता नै पुत्र बन्नुभयो र पुत्र नै पवित्र आत्मा बन्नुभयो भन्ने पनि होइन । यस्तो शिक्षालाई प्रकारविषयकवाद भनिन्छ । त्रिएक परमेश्वर भनेको पिताभन्दा पुत्र सानो हुनुहुन्छ र पुत्र परमेश्वर नभई प्रथम सृजित व्यक्ति हुनुहुन्छ भन्ने पनि होइन । एरियनवादले यस्तो शिक्षा सिकाउँदछ । त्रिईश्वरवाद, रूपवाद र एरियनवाद त्रिएकताबारे गलत धारणाहरू हुन् ।
  4. त्रिएकताको शिक्षामुताबिक परमेश्वर सारमा एक हुनुहुन्छ । उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म यो कुरो सिकाइएको छ । “हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ” (व्यवस्था ६:४) । “म परमेश्‍वर हुँ, र अरू कोही छैनँ । म परमेश्‍वर हुँ, मजस्‍तै अरू कोही छैन” (यशैया ४६:९) । परमेश्वर एक हुनुहुन्छ भनी पुरानो करारमा मात्र नभई नयाँ करारमा पनि सिकाइएको छ । “एक परमेश्‍वरबाहेक अरू” अस्तित्वमा छैन (१ कोरिन्थी ८:४) । “तिमीहरू विश्‍वास गर्दछौ कि परमेश्‍वर एउटै हुनुहुन्‍छ । त्‍यो असल हो” (याकूब २:१९) ।
  5. त्रिएकताको शिक्षामुताबिक परमेश्वर व्यक्तित्वमा तीन हुनुहुन्छ । सारमा परमेश्वर एक हुनुहुन्छ भनेर मात्र बाइबलले सिकाउँदैन, तर व्यक्तित्वमा तीन हुनुहुन्छ भनेर पनि सिकाउँछ अर्थात् त्रिएकताका तीनै सदस्य पिता, पुत्र र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर हुनुहुन्छ भनी पत्रुस प्रस्ट पार्छन्, “येशू ख्रीष्‍टको आज्ञापालन र उहाँका रगतको छिट्‌काइको निम्‍ति पवित्र आत्‍माद्वारा शुद्ध भई परमेश्‍वर पिताद्वारा उहाँको पूर्वज्ञानअनुसार चुनिएकाहरूलाई: अनुग्रह र शान्‍ति प्रशस्‍त हुँदैजाओस्‌” (१ पत्रुस १:२) । पुत्र परमेश्वर हुनुहुन्छ भनी थोमाले स्वीकार गरे, “मेरा प्रभु र मेरा परमेश्वर!” (यूहन्ना २०:२८) । पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भनी प्रेरितको पुस्तकमा सिकाइएको छ । “पवित्र आत्मासँग झुट” बोल्नु भनेको परमेश्वरसँग झुट बोल्नु बराबर थियो (प्रेरित ५:३-४) ।
  6. पिता, पुत्र र पवित्र आत्मा एक परमेश्वर हुनुभए तापनि छुट्टाछुट्टै व्यक्तित्व हुनुहुन्छ । उहाँहरू सारमा एक हुनुभए तापनि फरक-फरक व्यक्तित्व हुनुहुन्छ । येशूले यर्दन नदीमा बप्तिस्मा लिनुहुँदा हामी तीन जना व्यक्तित्वलाई देख्छौँ । पुत्रले बप्तिस्मा लिँदै हुनुहुन्थ्यो, पवित्र आत्मा ढुकुरको रूपमा ओर्लनुभयो भने पिता स्वर्गबाट बोल्नुभयो (मत्ती ३:१३-१७) । येशूको बप्तिस्माको घडीमा मात्र नभई उहाँको महान् आज्ञामा पनि तपाईंले एकसाथ त्रिएक परमेश्वरसित जम्काभेट गर्नुहुन्छ । आफ्नो स्वर्गारोहणअगि येशूले चेलाहरूलाई आज्ञा दिनुभयो, “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ” (मत्ती २८:१९) ।
  7. त्रिएकताका तीनै जना सदस्य अधिकारमा समान हुनुहुन्छ । पुत्र पिताभन्दा सानो हुनुहुन्न न त पवित्र आत्मा पुत्रभन्दा सानो हुनुहुन्छ । पिता सर्वोच्च हुनुहुन्छ, “हाम्रा निम्‍ति त एउटै परमेश्‍वर पिता हुनुहुन्‍छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्‍ति हामी जिउँदछौं” (१ कोरिन्थी ८:६) । पुत्र पितासित समान हुनुहुन्छ, “किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्‍छ र तिनीहरूलाई जीवन दिनुहुन्‍छ, त्‍यसरी नै पुत्रले पनि जसलाई इच्‍छा गर्दछ, त्‍यसलाई जीवन दिँदछ । … सबैले पुत्रको आदर गरून्‌, जसरी तिनीहरूले पिताको आदर गर्दछन्‌ । पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन” (यूहन्ना ५:२१-२३) । त्यसै गरी पवित्र आत्मा पिता र पुत्रसित समान हुनुहुन्छ, “त्‍यसैकारण म तिमीहरूलाई भन्‍दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्‍वर-निन्‍दा क्षमा हुनेछ, तर पवित्र आत्‍माको विरुद्धमा गरिएको निन्‍दा क्षमा हुनेछैन” (मत्ती १२:३१) । पिता परमेश्वरझैँ पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर पनि सर्वशक्तिमान्, सर्वज्ञानी, सर्वव्यापी, अनन्त, पूर्ण पवित्र, स्वअस्तित्वान्, अपरिवर्तनशील, प्रेमिलो, न्यायी आदि हुनुहुन्छ ।
Facebook Comments

Powered by Youth Circle