“ईश्वरशास्त्र, आराधना, मण्डलीको व्यवस्था र मिसनमा मात्र नभई शिक्षा, सरकार, अर्थतन्त्र, उद्योग र सामाजिक कार्य सबैमा काल्भिनको विचारको छाप पाइन्छ ।” यो चर्च हिस्ट्री १०१: द हाइलाइट्स अफ ट्वेन्टी सेन्चुरिज (मण्डली इतिहास १०१: बिस शताब्दीका मुख्य-मुख्य घटनाहरू) नामक पुस्तकबाट साभार गरिएको अंश हो । जोन काल्भिन सोर्हौँ शताब्दीका मात्र नभएर इतिहासकै प्रभावशाली व्यक्तित्व थिए ।
पुस्तक पठन यात्रामा यो मेरो ३४ औँ पुस्तक हो । यसका लेखक तीन जना छन्: सिनक्लेर बी. फेर्गुसन, जोएल आर. बिकी र मिखाएल ए. जी. हेकिन । ११२ पृष्ठ लामो यस किताबलाई मैले केवल तीन दिन (मार्च १२-१४) मा पढेर सकेँ । यो ख्रिस्टाब्द २०१६ मा प्रकाशित भएको थियो ।
नामबाटै प्रस्ट छ कि यो मण्डली इतिहाससित सम्बन्धित कृति हो । लेखकत्रयले पहिलो शताब्दीदेखि बिसौँ शताब्दीसम्म मण्डली इतिहासका घटनाहरूलाई सङ्क्षिप्त रूपमा अभिलिखित गरेका छन् । यसमा जम्माजम्मी २० ओटा पाठ छन् र प्रत्येक पाठलाई शताब्दीअनुसार विभाजन गरिएकोले हरेक पाठले एउटा शताब्दीको दृश्य प्रस्तुत गर्छ ।
पहिलो शताब्दीमा ख्रिस्टियमतका संस्थापक प्रभु येशू ख्रीष्ट बाँच्नुकै साथै मण्डलीको स्थापना भयो । दोस्रो शताब्दीमा ख्रीष्टियान सहादतले सुसमाचारीय सत्यताको पुष्टि गर्नुका अतिरिक्त विश्वव्यापी विश्वासका सारहरू देखा परे । तेस्रो शताब्दीमा ख्रीष्टियानहरूले सामना गरेका प्रश्न थियो: सतावट र झुटा शिक्षाहरूप्रति ख्रीष्टियान प्रतिक्रिया कस्तो हुनुपर्छ ? ख्रीष्टियान ईश्वरशास्त्रीसाथै रक्षाशास्त्रीहरूले बौद्धिक जवाफ जुटाए ।
चौथो शताब्दीमा कम्तीमा पनि तीनवटा उल्लेखनीय घटना घटे: (१) रोमी सम्राट् कन्स्टेन्टाइन ख्रीष्टियान बने, (२) यही समयमा नैसियाको परिषद् बस्यो र (३) अनैतिकताको सागरमा डुबुल्की मारिरहेका अगस्टिले येशूमा नयाँ जन्म पाए ।
अगस्टिनका सर्वाधिक महत्त्वपूर्ण कृतिहरूको सूचीमा पर्ने एउटा पुस्तकको नाउँ हो, द सिटी अफ गड अर्थात् परमेश्वरको सहर । यो पाँचौँ शताब्दीले अनुगामी ख्रीष्टियान जगत्लाई सुम्पेको अनमोल उपहार थियो । दिगो सहर वा राज्य परमेश्वरले येशू ख्रीष्टमा निर्माण गरिरहनुभएको छ र अगस्टिनका अनुसार त्यो सहर मण्डली हो ।
छैटौँ शताब्दीमा जस्टिनिएन प्रथमको शासनकालमा रोमी साम्राज्यले महान् नवीकरण देख्न पायो । तिनीद्वारा निर्मित रोमी कानुनकै जगमा मनग्गे युरोपेली मुलुकहरूको न्याय प्रणाली हुर्क्यो । यही समयमा हागिया सोफिया नाउँ गरेको इतिहासकै एक सर्वाधिक ठुलो मण्डली भवन निर्माण भएको थियो । सुसमाचारद्वारा केही बरबरतापूर्ण जातिहरूको परिवर्तन यो शताब्दीको अर्को उपलब्धि थियो ।
सातौँ शताब्दीमा तपाईंले दुई जना महत्त्वपूर्ण व्यक्तिसित जम्काभेट गर्नुहुन्छ । एक थिए, ग्रेगोरी महान् । सम्पूर्ण संसारलाई विश्वासमा ल्याउने तिनको प्रयासस्वरूप कैयौँ राजासाथै शासकहरू मण्डलीमा आए । अर्का थिए, मुहम्मद । सम्भवत: नयाँ जन्म नपाएका ख्रीष्टियानहरूको प्रभावमा परी तिनले नयाँ धर्मको थालनी गरे जसलाई इस्लाम भनेर चिनिन्छ । अहिले यो संसारको दोस्रो ठुलो धर्म बनेको छ, पहिलो ख्रीष्टियान हो ।
प्राचीन मण्डलीमा दुईवटा प्राथमिक भाषा थिए: ल्याटिन र ग्रिक । पहिलो पश्चिमी मण्डलीको भाषा थियो भने दोस्रोचाहिँ पूर्वीय जगत्को । आठौँ शताब्दीमा भाषा, परम्परासाथै प्रतीमाहरूको प्रयोगबारे मण्डलीमा ठुलो विवाद आयो ।
नवौँ शताब्दी मण्डलीमा शक्तिको तँछाडमछाडमा बित्यो भने दसौँ शताब्दीलाई अन्धकारको समय भनेर चिनिन्छ किनकि मण्डली ईश्वरशास्त्रीय दृष्टिकोणबाट मात्र नभई सांस्कृतिक र राजनीतिक रूपमा पनि अवनतितर्फ लम्कँदै थियो । एघारौँ शताब्दीमा महाविभाजन भयो । ख्रिस्टाब्द १०५४ मा पूर्व र पश्चिम गरी ख्रीष्टियान जगत् दुई चिरामा विभाजित भयो जसलाई मण्डली इतिहासमा ‘महाविभाजान’ भनिन्छ । यो फुटपश्चात् पश्चिमी जगत् रोमन क्याथोलिक मण्डली बन्यो भने पूर्वीय जगत् ग्रिक अर्थोडक्स मण्डली ।
बार्हौँ शताब्दीमा मण्डलीले महाविभाजनका तिक्त फलहरूको अनुभूति गर्नुपर्यो । यो समयमा क्रुसेड अर्थात् धर्मयुद्धको थालनी भयो । विश्वास, प्रेम, प्रार्थना, सुसमाचार प्रचारसाथै भलाइका कामहरूजस्ता आत्मिक हतियारमा भर पर्नुको साटो इस्लाम धर्मको खतरालाई जवाफ दिन मण्डली राजनीतिक, सैनिक र आर्थिक शक्तिमा भर पर्यो ।
तेर्हौँ शताब्दीमा दुई जना प्रभावशाली व्यक्ति देखा परे: फ्रान्सिस र थोमस अक्विनास । सरल जीवन जिएका फ्रान्सिसले पश्चात्तापी जीवनलाई जोड दिन्थे भने अक्विनास मध्याकलकै प्रभावशाली रक्षाशास्त्रीसाथै दार्शनिक थिए जसका अवधारणाहरूले एक्काइसौँ शताब्दीका विचारकहरूलाई पनि प्रभावित तुल्याइरहेका छन् ।
मण्डलीमा शक्तिमाथिको तँछाडमछाडले चौधौँ शताब्दीमा पनि निरन्तरता पाए तापनि यस शताब्दीमा परमेश्वरले जोन विक्लिफ नाउँ गरेका आफ्नो दासलाई उदय गराउनुभयो । तिनले अङ्ग्रेजी भाषामा बाइबल अनुवाद गर्ने काम मात्र गरेनन्, तर तत्कालीन सांस्कृतिक मण्डलीका कतिपय अभ्यासहरूमाथि प्रश्नसमेत तेर्साउने काम गरे । तिनी मण्डलीमा सुधार चाहन्थे । तसर्थ तिनलाई ‘सुधारवादको बिहानको तारा’ भनी आदर गरिन्छ ।
पन्ध्रौँ शताब्दी युरोपेली पुनर्जागरणको युग थियो । सामाजिक जीवन, कला, बौद्धिक गतिविधिमा अद्भुत जागृति देखा पर्यो । यस युगमा हामीले खास गरी दुई जना व्यक्ति (जोन हस र गिरोलामो साभोनारोला) लाई सम्झनुपर्ने हुन्छ ।
३१ अक्टोबर १५१७ का दिन विटेनवर्गस्थित मण्डलीको ढोकामा मार्टिन लुथरले ९५ ओटा थेसिस टाँसिदिएसँगै सुधारवादको जन्म भयो । विश्वव्यापी मण्डलीमा तेस्रो ठुलो विभाजनको थालनी भयो जसलाई प्रोटेस्टेन्टवाद अर्थात् सुधारवाद भनिन्छ । स्मरण रहोस्, १०५४ मा रोमन क्याथोलिक र ग्रिक अर्थोडक्स गरी मण्डली दुई भागमा विभजान भएको थियो भने १५१७ मा क्याथोलिक मण्डली फेरि फुट्यो जसबाट तेस्रो ठुलो हाँगा निस्क्यो जसलाई सुधारवाद भनेर चिनिन्छ । यो समयमा लुथर, काल्भिन, मेलाङ्थोन, ज्विङ्ली, बुलिङ्गर, नक्स, क्र्यान्मरजस्ता सुधारवादीहरूले उल्लेखनीय योगदान पुर्याए ।
मण्डली सुधारको ज्वाला सत्रौँ शताब्दीमा इङ्गल्यान्डमा दन्कियो । अङ्ग्रेजी भाषामा प्रकाशित किङ्ग जेम्स भर्सन बाइबल यस शताब्दीको ठुलो उपहार थियो । राजा जेम्सको सहायतामा ख्रिस्टाब्द १६११ मा यो बाइबल प्रकाशित भएको थियो ।
अठारौँ शताब्दीमा आइपुग्दा ख्रीष्टियान युरोप सतत धार्मिक कलह र रक्तपातले लत्पतिएको थियो । ईश्वरशास्त्रलाई दर्शनशास्त्रको अधीनमा ल्याइनुका अतिरिक्त देववाद (डिइज्म) साथै हेतुवादजस्ता अवधारणा हावी भए । मण्डलीमा जागृतिको खाँचो थियो । फलत: जर्ज ह्वाइटफिल्ड, जोन वेस्लीसाथै चार्ल्स वेस्लीजस्ता सेवकहरूले जागृतिको आगो बाले ।
उन्नासौँ शताब्दीको प्रवेशसँगै आधुनिक ईश्वरशास्त्रको थालनी भयो । इम्मानुएल कान्टसाथै फ्रेडरिक स्केलरमाकरजस्ता दार्शनिकहरूले उल्लेखनीय रूपमा मण्डलीमा प्रभाव पार्दै आएका थिए । ‘आधुनिक मिसनका पिता’ भनी चिनिएका विलियम केरी ख्रिस्टाब्द १७९३ मा भारतमा आएसँगै मिसनको अवधारणा विस्फोट भयो । रोबर्ट मोफाट, डेभिड लिभिङ्गस्टोन, जोन पाटोन, हडसन टेलरजस्ता मिसनरीहरूले येशूको सन्देशलाई संसारका कुनाकाप्चामा पुर्याए ।
बिसौँ शताब्दी अद्भूत विरोधाभासको समय थियो । किनकि संसारका कतिपय भूभागमा मण्डलीको अवनति भएको थियो भने कतिपय भागमा विस्मयकारी ढङ्गमा उन्नति । पेन्टिकोस्टलवादको उदयले निदाएका ख्रीष्टियानहरूलाई ब्युँझाउने काम मात्र गरेन, तर जोसिलो पनि बनाइदियो । यस शताब्दीमा ख्रिस्टियमतको विनाशको लागि भौतिकवाद र नास्तिकवादको नाउँमा साम्यवाद कटिबद्ध भए तापनि त्यो असफल मात्र भएन, तर इतिहासको डस्टबिनमा पुग्यो । आज रुसमा जोसिलो मण्डली मात्र अस्तित्वमा छैन, तर संसारको कुनै पनि देशमा भन्दा चीनमा ख्रीष्टियानहरूको सङ्ख्या द्रुतगतिमा बढ्दै पनि छ ।