अन्धकारलाई सराप्नुको साटो मैनबत्ती बाल्नुहोस्— एम्नेस्टी इन्टरनेसनल

पिटर बेनेन्सनको दाबीअनुसार १९ नोभेम्बर १९६० का दिन लन्डनमा यात्रा गर्दा तिनले युरोपको दक्षिण-पश्चिममा पर्ने मुलुक पोर्चुगलको कोइम्ब्रा नामक सहरकका दुई जना विद्यार्थीको बारेमा पढ्दै थिए । स्वतन्त्रताको पक्षमा वकालत गरेका आरोपमा तिनीहरूलाई पोर्चुगलमा सात वर्षको जेल सजाय सुनाइएको थियो ।[i] पछि द अबजर्भर नामक ब्रिटिस अखबारमा ‘बिर्सिएका बन्दीहरू’ शीर्षकमा पिटरको एउटा लेख छापियो । यस रचनामा तिनले मानव अधिकारको विश्वव्यापी घोषणाको धारा १८ र १९ लाई सरकारले उल्लङ्घन गरेको छ भनी तिनले पाठकहरूको ध्यान खिँचे र यो उल्लङ्घन विश्वव्यापी छ भनी लेखमा उल्लिखित थियो । व्यक्तिको विचार वा धर्मको कारण जेल हालिएको, यातनासाथै र मृत्युदण्डसमेत दिइएको तथ्यलाई तिनले सार्वजनिक गरे । त्यही वर्ष तिनले पर्सिक्युसन १९६१ (सतावट १९६१) नामक पुस्तक छापे जसमा बन्दीहरूको कथा वर्णित छ । मूलत: पिटरकै प्रभावमा एउटा संस्था जन्मन पुग्यो जसको नाउँ हो, एम्नेस्टी इन्टरनेसनल[ii]

ख्रिस्टाब्द १९६१ मा स्थापित एम्नेस्टी इन्टरनेसनल एउटा गैरनाफामूलक संस्था हो जसको मुख्यालय युकेमा छ । मूलत: मानव अधिकारमा केन्द्रत यो संस्थाका संसारभरि ७० लाख सदस्यसाथै समर्थकहरू रहेका छन् । नेपाललगायत १५० ओटाभन्दा बेसी मुलुक वा क्षेत्रमा फैलिएको एम्नेस्टी इन्टरनेसनल एउटा विश्वाव्यापी अभियान हो र मानव अधिकार उल्लङ्घनको अन्त्य नै यसको लक्ष्य हो । अन्धकारलाई सराप्नुको साटो मैनबत्ती बाल्नुहोस् भन्ने यो संस्था कुनै पनि राजनीतिक दर्शन, आर्थिक रुचि वा धर्मबाट स्वाधीन छ ।[iii]

मानव अधिकारको विश्वव्यापी घोषणा र अन्य अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी संङ्घ-संस्थाहरूमा उल्लिखित मानव अधिकारका सबै क्षेत्रमा संसारभरिका मानिसहरू रमाउन पाउनुपर्छ भन्ने संस्थाको मिसन रहेको छ । “यातनाको विरुद्ध मानवीय महत्त्वको प्रतिरक्षा” को खातिर संस्थालाई १९७७ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।[iv]

पिटर बेनेन्सन र एरिक बेकर नाउँ गरेका दुई जना व्यक्तिले यो संस्था स्थापना गरेका थिए । १९२१ मा इङ्गल्यान्डमा यहूदी परिवारमा जन्मेका पिटर १९५८ मा ख्रीष्टियान बनेका थिए । तिनी वकिलसाथै मानव अधिकारका पक्षपोषक थिए ।[v] १९२० मा इङ्गल्यान्डमै जन्मेका अर्का संस्थापक एरिक क्वाकर्स नाउँले चिनिने ख्रीष्टियान संस्थाका सदस्य थिए ।[vi]

एम्नेस्टी इन्टरनेसनल स्थापना भएको ८ वर्षपछि १९६९ मा नेपालमा एम्नेस्टी इन्टरनेसनल नेपालको स्थापना भयो । अन्तर्राष्ट्रिय मानव अधिकारको मूल्य-मान्यतमा रही मानव अधिकारको पक्षमा वकालत गर्नु नै नेपालस्थित यस संस्थाको काम हो ।[vii]

बाइबलीय दृष्टिकोणबाट हेर्दा एम्नेस्टी इन्टरनेसनलका वर्तमान कतिपय अडानसित एउटा ख्रीष्टियानले असहमति जनाउन सक्ने भए तापनि मानव अधिकारको हकमा यसले कैयौँ उल्लेखनीय काम गर्दै आएको छ । शोषित र दुर्व्यवहारमा परेकाहरूको पक्षमा यसको कदम प्रशंसनीय छ । तानाशाही मुलुकका राजनीतिक बन्दीहरू, मानव बेचविखनको सिकार भएकाहरू, साम्यवादीसाथै इस्लामिक मुलुकहरूमा धार्मिक असहमतिको कारण दु:खकष्ट भोग्नेहरूको पक्षमा यसको काम सराहनीय छ ।

परमेश्वरको स्वरूपमा सृष्टि गरिएकोले मानिस विशेष प्राणी हो, “यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो । परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो” (उत्पत्ति १:२७) । परमेश्वरको स्वरूप भएकोले मानिससँग विशेष क्षमताहरू मात्र छैनन्, तर ऊ अन्य सबै प्राणीभन्दा फरक पनि छ ।

मानिसमा भएको स्वरूपकै कारण हत्या अपराध भएको हो । दशाज्ञा (प्रस्थान २०) मा हत्या, चोरी, लालच, व्यभिचार र झुटो साक्षीजस्ता कुराहरू निषेध समेटिएका छन् जसले आफ्नो छिमेकीप्रति नैतिक व्यवहारको बढुवा गर्छन् । पत्रुसले भने, “परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न” (प्रेरित १०:३४) । हरेक व्यक्ति उहाँको अद्वितीय सृष्टि हो अनि जाति, वर्ण, लिङ्ग, भाषा, भूगोलको वास्ता नगरी उहाँले हरेकलाई प्रेम गर्नुहुन्छ ।

व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुन हो भन्ने व्यवस्थाको गुरुको प्रश्नमा येशूको जवाफ थियो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू । महान्‌ र प्रथम आज्ञा यही हो । दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू” (मत्ती २२:३७-३९) । एम्नेस्टी इन्टरनेसनल दोस्रो आज्ञाको लागि खडा भएको जस्तो देखिन्छ । मानव इतिहासमा ख्रीष्टियानहरूका अनगिन्ती योगदानहरूमध्ये एम्नेस्टी इन्टरनेसनलको स्थापना एक हो जुन परमेश्वरको स्वरूपमा सृजित मानव-जातिको पक्षमा खडा छ ।

 

सन्दर्भ सामग्रीहरू:

[i] https://en.wikipedia.org/wiki/Amnesty_International#History Accessed on 29 May 2020

[ii] https://en.wikipedia.org/wiki/Amnesty_International#History Accessed on 29 May 2020

[iii] https://www.amnesty.org/en/who-we-are/ Accessed on 29 May 2020

[iv] https://en.wikipedia.org/wiki/Amnesty_International Accessed on 29 May 2020

[v] https://en.wikipedia.org/wiki/Peter_Benenson Accessed on 29 May 2020

[vi] https://en.wikipedia.org/wiki/Eric_Baker_(activist) Accessed on 29 May 2020

[vii] https://amnestynepal.org/amnesty-international-nepal/ Accessed on 29 May 2020

Facebook Comments

Powered by Youth Circle