“बाइबलको हरेक शब्द वाक्यको एउटा भाग हो । हरेक वाक्य अनुच्छेदको एउटा भाग हो । हरेक अनुच्छेद पुस्तकको एउटा भाग हो । हरेक पुस्तक सम्पूर्ण धर्मशास्त्रको एउटा भाग हो । कुनै विषयबारे कुनै एउटा खास खण्डको अर्थ खोलाइ धर्मशास्त्रको पूर्ण शिक्षाको विपरीत हुनुहुँदैन ।” यो कमन्ली मिसअन्डर्स्टुड बाइबल भर्सेस (सामान्य रूपमा गलत बुझिएका बाइबलीय पदहरू) नाम गरेको पुस्तकबाट साभार गरिएको अंश हो ।
पुस्तकका लेखक हुन्, रन रोड्स । यसअगि पनि मैले रनको फाइभ-मिनेट अपोलोजेटिक्स फर टुडे नामक किताब पढेर सकेको थिएँ । सुव्यवस्थित ईश्वरशास्त्रमा विद्यावारिधि गरेका रन ६० ओटाभन्दा बेसी पुस्तकका लेखक हुन् ।
पुस्तक पठन यात्रामा यो मेरो ३३ औँ पुस्तक हो । ३०६ पृष्ठ लामो यस पुस्तकलाई पढेर सिध्याउन मलाई १६ दिन (अप्रिल २६-मे ११) लाग्यो । यो किताब ख्रिस्टाब्द २००८ मा प्रकाशित गरिएको थियो ।
बाइबलमा हामी सजिला कुरा मात्र पाउँदैनौँ, तर अप्ठ्यारा कुरा पनि । बाइबलका वचनहरू एक-अर्कासित गाँसिएर रहेकाले त्यसलाई त्यही सन्दर्भमा बुझिनुपर्छ । नत्रभने गलत शिक्षाको उदय हुन पुग्छ । उदाहरणको लागि उत्पत्ति ६:३ मा लेखिएको छ, “त्यसको उमेर एक सय बीस वर्षको हुनेछ ।” यस पदअनुसार मान्छेको आयु १२० तोकिएको रहेछ भनी मैले सुन्दै र बुझ्दै आएको थिएँ । तर लेखकको कृति पढेपछि म छर्लङ्ग भएँ कि यस पदमा अभिलिखित १२० वर्ष मान्छेको आयु नभएर जलप्रलयको न्याय ल्याइनुअगि पश्चात्तापको लागि परमेश्वरले तोकिदिनुभएको अवधि रहेछ ।
यस पुस्तकमा उल्लिखित केही कठिनाइहरू निम्न लिखित छन् जसको लेखकले जवाफ जुटाएका छन्:
- परमेश्वरले चौथो दिनमा सूर्य बनाउनुभएको थियो भने अगिल्ला तीन दिनको उज्यालो कहाँबाट आयो (उत्पत्ति १:१४) ?
- किन परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभए, तर कयिनको गर्नुभएन (उत्पत्ति ४:३-५) ?
- के काँसाको सर्प बनाउनु मूर्तिपूजा थियो (गन्ती २१:९) ?
- आकानको पापको कारण किन परमेश्वरले पूरै परिवारलाई दण्ड दिनुभयो (यहोशू ७:१५,२४) ?
- परमेश्वरको नामै उल्लेख नगर्ने पुस्तक (एस्तर) किन बाइबलमा छ ?
- के शैतानको स्वर्गसम्म पहुँच छ (अय्यूब २:१-२) ?
- के शपथ खानु गलत हो (मत्ती ५:३७) ?
- परमेश्वरको राज्य र स्वर्गको राज्यबिचको भिन्नता के हो ? (मर्कूस १:१५) ?
- के आदि ख्रीष्टियानहरूले साम्यवादको अभ्यास गर्थे (प्रेरित २:४४-४५) ?
- के भूतात्मा ख्रीष्टियानभित्र बास बस्न सक्छ (१ यूहन्ना ४:४) ?
बाइबलका कठिनाइहरूलाई बुझ्न लेखकले विभिन्न निर्देशनहरू दिएका छन् ।
- खण्डको सामान्य अर्थले राम्रो अर्थ दिन्छ भने अर्को अर्थ नखोज्नुहोस् ।
- आफ्ना सम्पूर्ण ‘पूर्वबुझाइ’ लाई धर्मशास्त्रको अधीनमा ल्याउनुहोस् ।
- सन्दर्भलाई ध्यान दिनुहोस् ।
- साहित्यक शैलीको पहिचान गर्नुहोस् ।
- इतिहास र संस्कृतिलाई बुझ्नुहोस् ।
- कठिन खण्डहरूलाई प्रस्ट खण्डहरूको प्रकाशमा अर्थ खोल्नुहोस् ।
- पुरानो करारलाई नयाँ करारको प्रकाशमा अर्थ खोल्नुहोस् ।
- वर्णनात्मक र निर्देशनात्मक खण्डबिचको भिन्नता छुट्ट्याउनुहोस् ।
- केही बाइबलीय सत्यता प्रस्ट छन् भने केही अस्पष्ट छन् भनी ख्याल गर्नुहोस् ।
- प्रतिज्ञा र सिद्धान्तहरूबिच भिन्नता छुट्ट्याउनुहोस् ।
- उचित अर्थ खोलाइको लाभबारे निश्चित हुनुहोस् ।
यी निर्देशनहरूलाई ख्याल गरिएमा बाइबलका कठिनाइहरूलाई बुझ्न सजिलो हुन्छ । यो पुस्तक लेखकको दसकौँ वर्षसम्म गरिएको अध्ययनको नतिजा हो । पुस्तकमा लेखकले उत्पत्तिदेखि प्रकाशसम्म भएका विभिन्न किसिमका कठिनाइहरूलाई सरल तरिकाले जवाफ दिएका छन् । बाइबलका कतिपय खण्डहरूले तपाईंलाई टाउको दुखाइरहेका छन् भने सम्भवत: यो पुस्तक तपाईंको समाधान हुन सक्छ । आवासीय विद्यार्थी बनेर म आफैले बाइबल कलेजमा ६ वर्ष बिताएँ र बाइबल स्कुलमा पढाउँदै आएको १५ वर्षभन्दा बढी भए तापनि यो पुस्तकले मेरा धेरै कठिनाइलाई एक प्रकाश वर्ष टाढा पुर्याइदिएको छ । तसर्थ म लेखकप्रति ह्रदयदेखि आभारी छु । प्रत्येक गम्भीर बाइबल विद्यार्थीको निजी पुस्तकालयमा यसले ठाउँ पाउनुपर्छ भन्ने मेरो ठम्याइ रहेको छ ।