रक्षाशास्त्रको इतिहास: पहिलो शताब्दिदेखि बिसौँ शताब्दीसम्म

नयाँ करारको कुनै पनि पुस्तक सिधै रक्षाशास्त्रसित सम्बन्धित नभए तापनि प्राय: सबै रचनामा ख्रीष्टियान विश्वासको जवाफ दिने प्रयास गरिएको पाइन्छ । “पावलका मुख्य पत्रहरू, हिब्रू, चारवटा सुसमाचार र प्रेरितको पुस्तकजस्ता नयाँ करारका भागहरूले लेखकहरूका मनमा भएको रक्षाशास्त्रसम्बन्धी विचारलाई प्रकट गर्छन् ।” यो हिस्ट्री अफ अपोलोजेटिक्स (रक्षाशास्त्रको इतिहास) बाट उद्धृत छोटो अंश हो ।

पुस्तक पठन यात्रामा यो मेरो ३२ औँ पुस्तक हो । ४२० पृष्ठको यो किताब पढेर सिद्ध्याउन मलाई १७ दिन (अप्रिल ९-२५) लाग्यो । ख्रिस्टाब्द २०१८ मा प्रकाशित यस पुस्तकका लेखक हुन्, कार्डिनल अभेरी डुलेस । लेखक नास्तिकबाट ख्रीष्टियान बनेका थिए । नामबाटै स्पष्ट छ कि यो रक्षाशास्त्रको इतिहाससित सम्बन्धित पुस्तक हो । फेरि एक पटक, रक्षाशास्त्र (अपोलोजेटिक्स) ख्रीष्टियान विश्वासको बौद्धिक प्रस्तुतिकरण हो ।

सातवटा भागमा विभाजित यस पुस्तकमा लेखक डुलेसले नयाँ करारको समयदेखि बिसौँ शताब्दीसम्म रक्षाशास्त्रको इतिहासलाई केलाएका छन् । पहिलो भागमा नयाँ करारमा विद्यमान रक्षाशास्त्रलाई उजागार पारिएको छ भने दोस्रोमा मण्डली पिताहरूको समयमा ख्रीष्टियान विश्वासको वकालत गर्नमा को-को मुख्य थिए भनी उल्लेख गरिएको छ । साधारणतया दोस्रो शताब्दीको आरम्भदेखि पाँचौँ शताब्दीसम्मको अवधिलाई मण्डली पिताहरूको युग भनेर चिनिन्छ । तेस्रो भागमा लेखकले मध्ययुग (छैटौँ शताब्दीदेखि-पन्ध्रौँ शताब्दी) रक्षाशास्त्रको गतिविधिबारे केलाएका छन् । यस युगमा तपाईंले अन्सेलमसाथै थोमस अक्विनासजस्ता रक्षाशास्त्रीहरूसित जम्काभेट गर्नुहुन्छ । चौथो भागमा सोर्‍हौँदेखि अठारौँ शताब्दीको रक्षाशास्त्रको चिरफार गरिएको छ भने पाँचौँ भागमा उन्नाइसौँ शताब्दीको । बिसौँ शताब्दीमा विद्यमान रक्षाशास्त्रलाई लेखकले भाग एक र दुई गरी दुईवटा भाग (छ र सात) मा विभाजन गरेका छन् ।

यो कुनै एउटा ख्रीष्टियान साम्प्रादायिक दृष्टिकोणबाट लिखित पुस्तक होइन । यहाँ लेखक ख्रीष्टियान जगत्‌ (रोमन क्याथोलिक, प्रोटेस्टेन्ट र ग्रिक अर्थोडक्स) ले स्वीकार गर्ने ख्रीष्टियान विश्वासका पक्षपोषक बनेका छन् । डुलेस ख्रीष्टियान आस्थाको सारमा केन्द्रित छन् । “आवश्यक कुराहरूमा एकता, माध्यमिक कुराहरूमा स्वतन्त्रता र सबै कुरामा परोपकारिता” लेखकको विधि रहेको छ । यो रक्षाशास्त्रको इतिहास भएकोले यहाँ ख्रीष्टियान विश्वासको प्रतिरक्षा गर्नुभन्दा पनि इतिहासमा कसरी पत्रुसको आज्ञा (तिमीहरूमा तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर, १ पत्रुस ३:१५) लाई शिरोपर गरियो भनी सर्वेक्षण गरिएको छ ।

फराकिलो दृष्टिकोणबाट लिखित रक्षाशास्त्रको इतिहासको लागि यो उत्कृष्ट कृति हो भन्ने मेरो बुझाइ रहेको छ ।

Facebook Comments

Powered by Youth Circle