पावलको शरीरमा भएको काँढो के थियो (२ कोरिन्थी १२:७) ?

पावलको शरीरमा एउटा काँढो दिइएको थियो भनी तिनले लेखे, “तर प्रशस्‍त प्रकाशहरूको कारण घमण्‍डले म बढ्‌ता नफुलूँ भनेर मलाई सताउन र घमण्‍डबाट रोक्‍नलाई शैतानको दूत, अर्थात्‌ एउटा काँढो मेरो शरीरमा दिइयो” (२ कोरिन्थी १२:७) । तर तिनको शरीरमा दिइएको काँढोचाहिँ के थियो ?

यहाँ ‘शरीर’ को लागि जुन ग्रिक शब्दको प्रयोग गरिएको छ त्यो भौतिक संरचनालाई जनाउने सामान्य शब्द हो । तसर्थ यहाँ उल्लिखित शब्द ‘शरीर’ ले कुनै पापमय स्वभावलाई नभई रगत र मासुले बनेको भौतिक बनावटलाई उल्लेख गर्छ । पावलले जुनसुकै कुरोबाट दु:ख भोगे तापनि त्यो शरीरसित जोडिएको थियो र यसले तिनलाई चोट पुर्‍याएको थियो ।

यस खण्डमा उल्लिखित शब्द ‘काँढो’ ग्रिक भाषाको स्कोलोप्सको अनुवाद हो । यसले काठको कुनै तीखो टुक्रालाई जनाउँछ । यसको कारण पावलले कष्ट भोग्दै थिए । यो कुनै सानो छेस्को मात्र थिएन । यसको कारण पावलले लामो समयसम्म कष्ट भोग्दै थिए किनकि यो काँढो हटोस् भनी तिनले प्रभुसँग तीन पटक बिन्ती गरे । तर उहाँले सुन्नुभएन, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ” (२ कोरिन्थी १२:९) ।

पावलको आँखामा गम्भीर समस्या थियो र तिनले त्यही समस्यालाई यहाँ ‘काँढो’ को रूपमा उल्लेख गरेका हुन् भन्ने धेरै बाइबल विद्वान्‌को राय रहेको छ । पावलले गलातीहरूलाई लिखित आफ्नो पत्रमा पनि आफ्नो शारीरिक दुर्बलताबारे उल्लेख गरेका छन्, “तिमीहरूलाई थाहा छ, कि शरीरको अस्‍वस्‍थताले गर्दा नै मैले पहिले तिमीहरूलाई सुसमाचार सुनाएथें । यद्यपि मेरो बिरामी अवस्‍था तिमीहरूका लागि एउटा परीक्षा थियो, तथापि तिमीहरूले मलाई तिरस्‍कार गरेनौ, न घृणा नै गर्‍यौ, तर परमेश्‍वरको एउटा दूतलाई, ख्रीष्‍ट येशूलाई झैँ मलाई ग्रहण गर्‍यौ” (गलाती ४:१३-१४) । धुलोको कणले पनि आँखामा कस्तो समस्या ल्याउँछ भनेर मैले तपाईंलाई बताइरहनुपर्दैन । सायद आँखामा भएको समस्याकै कारण एसिया माइनरभरि पावलले एकलै यात्रा नगरेका हुन् (प्रेरित १५:४०; १६:१-३) । पक्कै पनि तिनलाई गाइडको खाँचो थियो ।

काँढो हटोस् भनेर बिन्ती चढाए तापनि परमेश्वरले तिनको अन्तरबिन्ती सुन्नुभएन । परमेश्वरले नसन्नुको कारण पावलमा भएको विश्वासको कमी वा पाप थिएन । वास्तवमा त्यो काँढो दण्डको लागि नभई सुरक्षाको लागि थियो । तिनलाई घमण्डी हुनबाट जोगाउन परमेश्वरले तिनको शरीरमा यो काँढो दिनुभएको थियो । यही कारणले गर्दा पावलले परमेश्वरको निर्णयलाई आनकान नगरी स्वीकार गरे ।

Facebook Comments

Powered by Youth Circle