“हरेकले दुष्ट्याइँको अनुभव गर्छ । यो दर्द, दु:खकष्ट, रोग, विपत्ति, मृत्युजस्ता विभिन्न रूपमा आउँछ । के दर्दको कुनै उद्देश्य छ ? मैले मन पराएको मान्छे किन मर्यो ? किन हाम्रो सहरलाई आँधीबेहरीले प्रहार गर्यो ? किन हाम्रो घरमा चट्याङ पर्यो ? किन हाम्रो छिमेकमा तुफान आयो ? किन खडेरी र भोकले गर्दा धेरै मान्छे मर्छन् ? हरेकले यी प्रश्नहरूको जवाफ खोज्छ । दुष्ट्याइँको समस्यादेखि छक्क नपर्ने व्यक्ति पूर्णत: असंवेदनशील हुनुपर्छ ।” यो नर्मन गेइस्लरद्वारा लिखित इफ गड, ह्वाई इभिल (परमेश्वर हुनुहुन्छ भने किन दुष्ट्याइँ छ ?) ? नामक पुस्तकबाट साभार गरिएको अंश हो ।
नर्मन गेइस्लर मलाई मनमर्ने लेखक हुन् । तिनका पुस्तकहरूले मलाई अत्यधिक प्रभाव पारेका छन् । ख्रीष्टियान शिक्षाका विभिन्न हाताहरूमा कलम चलाएका गेइस्लर ख्रीष्टियान ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री थिए । तिनी अत्यधिक धेरै लेख्ने लेखकहरूमा गनिन्छन् । दर्शनशास्त्रमा विद्यावारिधि हासिल गरेका तिनी ९० भन्दा बेसी पुस्तकका लेखक, सहलेखकसाथै सम्पादक थिए । तिनको यो कृति २०११ मा प्रकाशित भएको थियो । यस पुस्तकको शीर्षकलाई सरलीकृत गर्दा यस्तो हुन्छ: परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने संसारमा किन खराबी छ त ? यो सदिऔँदेखि सोधिएको प्रश्न मात्र नभई आस्तिकवादको लागि निकै कठिन प्रश्न पनि हो । कठिन प्रश्नहरूको अध्ययनमा लेखकले पचास वर्ष बिताए र तिनी स्वयम्लाई पनि यो सबैभन्दा बेसी सोधिएको प्रश्न हो ।
१७८ पृष्ठ लामो यस पुस्तकलाई मैले ८ दिन (अप्रिल १-८) मा पढेर सिद्धयाए । पुस्तक पठन यात्रामा यो मेरो ३१ औँ पुस्तक हो । दसवटा अध्यायमा विभाजित यस पुस्तकमा दुष्ट्याइँ (इभिल) अस्तित्वसित जोडिएका विविध पक्षहरूको चिरफार गरिएको छ । सारा दुनियाँले कोरोना भारइस (कोभिड-१९) महामारीको सामना गरिरहेको बेलाम यो प्रश्न झनै सार्थक बनेको छ ।
पुस्तकको पहिलो अध्यायमा दुष्ट्याइँबारे तीनवटा दृष्टिकोण उल्लिखित छन् भने दोस्रोमा यसको प्रकृतिबारे सम्बोधन गरिएको छ । तेस्रो अध्याय दुष्ट्याइँको उत्पत्तिसित सम्बन्धित छ भने चौथो यसको निरन्तरतासित । पाँचौँ अध्यायले यसको उद्देश्यलाई सम्बोधन गर्छ भने छैटौँले यसको निराकरणलाई । सातौँ अध्यायमा भौतिक दुष्ट्याइँको समस्याको बारेमा चर्चा गरिएको छ भने आठौँमा आश्चर्यकर्म र दुष्ट्याइँको बारेमा । नवौँ अध्यायले अनन्त दुष्ट्याइँ (नरक) को समस्याबारे सम्बोधन गर्छ भने दसौँ अर्थात् अन्तिम अध्यायले कहिल्यै सुसमाचार नसुनेकाहरूलाई के हुन्छ भन्ने प्रश्नको जवाफ दिने कोसिस गर्छ । यसका अतिरिक्त, तीनवटा परिशिष्टमा लेखकले अन्य विषयहरूलाई पनि उठाएका छन् ।
हामीले जानेका हुनुपर्छ कि परमेश्वरको सृष्टि ‘असल’ थियो । सबै थोक सृष्टि गर्नुभएपछि उहाँले मूल्याङ्कन गर्नुभयो, “त्यो साह्रै राम्रो थियो” (उत्पत्ति १:३१) । तर आज हामी खराबी विद्यमान संसारमा बाँचिरहेका छौँ ।
हामी पापले प्रवेश पाएको पतित संसारमा बाँचिरहेका भए तापनि ख्रीष्टको दोस्रो आगमनसँगै दुष्ट्याइँको निराकरण हुने छ भनी बाइबलले प्रतिज्ञा गरेको छ । जसरी पाप प्रवेशअगिको अदनको बगैँचा नैतिक र प्राकृतिक दुष्ट्याइँरहितको थियो, त्यसै गरी नयाँ स्वर्ग र नयाँ पृथ्वी दृष्ट्याइँरहितको हुने छ । अन्ततः न्यायले विजय हासिल गर्ने छ । परमेश्वर पूर्णतः असल हुनुभएकोले एक दिन उहाँले दुष्ट्याइँलाई पराजित गर्नुहुने छ । उहाँ सर्वशक्तिमान् हुनुभएकोले उहाँले एक दिन दुष्ट्याइँलाई पराजित गर्न सक्नुहुन्छ ।
परमेश्वर दुष्ट्याइँको प्रारम्भकर्ता हुनुहुन्न, यद्यपि उहाँले यसको सम्भाव्यतालाई सृजनुभयो । मानवीय स्वतन्त्रतामा यसको सम्भाव्यता अन्तर्निहित थियो र उसले यसलाई वास्तविक बनाइदियो । तर उहाँले यसलाई अनुमति दिनुभएको हो भनेर चाहिँ हामीले भुल्नुहुँदैन । परमेश्वर असीमित रूपमा बुद्धिमानी हुनुभएकोले यसको अनुमति दिनुको पछाडि प्रस्ट कारण भने हामीलाई थाहा छैन । योसेफ किन मिश्री दासत्वमा बेचिए भनी तिनलाई थाहा नभए तापनि अन्तत: तिनले आफ्ना दाजुहरूलाई भन्न सके, “तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो” (उत्पत्ति ५०:२०) ? “सबै ताडना सुरुमा सुखद हुँदैन तर दु:खदायी हुन्छ, तर ताडनाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ” (हिब्रू १२:११) ।