ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास नभई बौद्धिक विश्वास हो

“परमेश्वर कारणको परमेश्वर हुनुहुन्छ (यशैया १:१८), र उहाँले हामीलाई बौद्धिक प्राणीको रूपमा सृष्टि गर्नुभएको छ (उत्पत्ति १:२७; कलस्सी ३:१०) । त्यसैले हामीले कारणको वरदानलाई उपयोगमा ल्याउनु पक्कै पनि उहाँको चाहना हो । हामीले अन्धकारतिर डोर्‍याउने अन्धविश्वासलाई नभई असल साक्षीको प्रकाशमा बौद्धिक विश्वासलाई प्रयोग गरेका परमेश्वर चाहनुहुन्छ (हेर्नुहोस् यूहन्ना २०:२७) ।” यो रन रोड्सद्वारा लिखित फाइभ-मिनेट अपोलोजेटिक्स फर टुडे (आजको लागि ५ मिनेटको रक्षाशास्त्र) नामक पुस्तकबाट साभार अंश हो । ३८६ पृष्ठ लामो यो पुस्तकलाई ख्रिस्टाब्द २०१० मा प्रकाशित गरिएको थियो । सुव्यवस्थित ईश्वरशास्त्रमा विद्यावारिधि गरेका लेखक रन ६० ओटाभन्दा बेसी पुस्तकका लेखक हुन् र म आफैले तिनका केही पुस्तकहरू पढेको छु ।

ख्रिस्टाब्द २०१८ सम्ममा कतिवटा किताब पढेर सिध्याएँ मैले त्यसको कुनै अभिलेख राखिनँ । २०१९ बाट राख्न थालेँ र पुस्तक पठन यात्रामा यो मेरो ३० औँ पुस्तक हो । दैनिक एउटा पाठ पढ्ने गरी यो पुस्तकलाई ३६५ ओटा पाठमा विभाजन गरिएको भए तापनि मैले यसलाई १८ दिन (मार्च १३-३१) मा पढेर सकेँ । प्रत्येक पाठको अन्त्यमा लेखकले बुद्धिको वचन उल्लेख गरेका छन् ।

यस पुस्तकमा लेखक रनले रक्षाशास्त्रका विविध पक्षहरूलाई समेटेका छन् । रक्षाशास्त्र (अपोलोजेटिक्स) भनेको ख्रीष्टियान विश्वासको बौद्धिक प्रस्तुतिकरण हो । बौद्धिक परमेश्वरले हामीलाई उहाँको स्वरूपमा सृष्टि गर्नुभएकोले हामी बौद्धिक प्राणी हौँ । तसर्थ उहाँको राज्य विस्तारमा हामीले हाम्रो बौद्धिकताको भरमग्दुर प्रयोग गर्नुपर्छ । किनकि ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास नभई बौद्धिक विश्वास हो ।

लेखकले निरपेक्ष सत्यताबाट सुरु गरी हामीले निरन्तर रूपमा पढ्नुपर्छ भन्ने सन्देशसहित टुङ्ग्याएका छन् । पुस्तकमा लेखकले बाइबलका विविध विषहरूलाई समेट्नुका अतिरिक्त नीतिशास्त्रका कतिपय विषयहरूलाई पनि समावेश गरेका छन् ।

प्रकृतिबारे गरिने अर्थ खोलाइ र धर्मशास्त्रबारे गरिने अर्थ खोलाइको बिचमा कहिलेकाहीँ द्वन्द्व देखा पर्ने भए तापनि बाइबल र प्रकृति एक-अर्कामा जुध्दैनन् । दुवै नै परमेश्वरको हातका रचना हुन् । अगिल्लो विशेष प्रकाश हो भने पछिल्लो सामान्य प्रकाश । अध्ययनको क्षेत्र फरक-फरक भए तापनि स्रोत उही परमेश्वर हुनुहुन्छ ।

सामान्य अङ्ग्रेजी जानेको पाठकले पनि बुझ्न सक्ने गरी लेखिएकोले मात्र नभई कठिन विषयवस्तुहरूलाई पनि सरलीकरण गरिएकोले यो पढ्न लायक पुस्तक हो ।

हामी सधैँ अध्ययनशील विद्यार्थी हुनुपर्छ भन्ने आज्ञा दिँदै निम्न लिखित अर्तीसहित पुस्तकलाई टुङ्गोमा ल्याइएको छ:

  • ज्ञान धनसम्पत्तिभन्दा श्रेष्ठतर हो (उपदेशक ७:१२) । के यो सिक्नको लागि प्रेरणा दिने कथन होइन र ?
  • पवित्र आत्मा हाम्रो शिक्षक हुनुहुन्छ (यूहन्ना १४:२६) जसले आत्मिक कुराहरू बुझ्न हामीलाई सक्षम तुल्याउनुहुन्छ ।
  • ज्ञानले घमण्डमा डोर्‍याउन सक्छ (१ कोरिन्थी ८:१) । तसर्थ आफ्नो अध्ययनमा विनम्र हुनुहोस् ।
  • बुद्धिको लागि प्रार्थना गर्नुहोस् (याकूब १:५) । सोलोमनले त्यसै गरे अनि परमेश्वरले जवाफ दिनुभयो (१ राजा ४:२९) ।
  • जीवनका परिस्थितिहरूबाट सिक्नुहोस् (भजनसंग्रह ७८:१-८) । यसले तपाईंलाई बुद्धिमानी बनाउँदै लैजाने छ ।
  • दैनिक परमेश्वरको वचन अध्ययन गरेर उहाँ र उहाँका मार्गहरूबारे सिक्दै जानुहोस् (व्यवस्था ४:१०; हितोपदेश २२:६) ।
  • तपाईंले जे सिक्नुभएको छ, त्यसबाट तपाईंको जीवनमा परिवर्तन आओस् । वचन सुन्ने मात्र नभई पालन गर्ने पनि हुनुहोस् (याकूब १:२२) ।
Facebook Comments

Powered by Youth Circle