बुद्धिमान् संरचनाका ४ ओटा उदाहरण

पृथ्वी हाम्रो सौर्य मण्डलको सूर्यबाट तेस्रो ग्रह हो । हालसम्मको मानवीय ज्ञानअनुसार यो मात्र एउटा यस्तो पिण्ड हो जसमा जीवको अस्तित्व छ । यस अद्भुत ग्रहको बारेमा कतिपय रहस्यहरू उजागर हुन बाँकी भए तापनि पत्ता लगाइएका तथ्यहरूले पनि हामीलाई छक्‍क पार्छन् ।

१. पृथ्वीको परिक्रमण
तपाईंले कुनै अफिसको टेबुलमा राखिएको ग्लोबलाई देख्‍नुभएको छ होला र त्यसलाई घुमाउनु पनि भएको होला । पृथ्वी आफ्नै अक्षवरिपरि घुम्‍नुलाई पृथ्वीको परिक्रमण भनिन्छ । यो घुमाइमा पृथ्वी घडीको विपरीत दिशा हुँदै पश्‍चिमबाट पूर्वतर्फ घुम्दछ । यो एक घण्टामा एक हजार माइलको रफ्तारमा हुँइकिन्छ अर्थात् हाम्रा लोकमार्गहरूमा कुद्‍ने रात्री बसको गतिभन्दा दस गुणा बेसी । यो गतिमा घुम्दा पृथ्वीलाई एक फन्को मार्न झन्डै २४ घण्टा लाग्दछ । पृथ्वीको यही घुमाइको कारणले हामीले १२ घण्टाको दिन र १२ घण्टाको रात पाउँछौँ । यदि पृथ्वी प्रति घण्टा १०० माइलको रफ्तारमा घुम्‍ने हो भने यहाँको वातावरणमा कायापलट आउँथ्यो अर्थात् बेस्सरी चिसो र तातो हुन्थ्यो । परिणामस्वरूप जीव बाँच्न लायक हुँदैनथ्यो ।

२. पृथ्वीको परिभ्रमण
आफ्नो उपग्रह चन्द्रमालाई साथमा लिई पृथ्वीलाई सूर्यको वरिपरि एक फन्को मार्न ३६५ दिन लाग्छ । पृथ्वीको यस घुमाइलाई पृथ्वीको परिभ्रमण भनिन्छ । यस घुमाइमा पृथ्वी आफ्नो कक्ष (बाटो) मा प्रति घण्टा ६७,००० माइल (करिब १९ माइल प्रति सेकेन्ड) को रफ्तारमा कुद्छ । आफ्नो वार्षिक यात्रामा यसको गतिमा थोरैभन्दा थोरै पनि अदलबदल हुँदैन ।

३. पृथ्वीको आकार
यदि पृथ्वी चन्द्रमा जत्तिकै सानो भइदिएको भए मानिसको आवश्यकताको निम्ति पर्याप्‍त वातावरणलाई कायम राख्‍न गुरुत्वाकर्षणको शक्ति निकै कमजोर हुन्थ्यो । अर्कोतिर, यदि यो बृहस्पति, शनि वा अरुणजत्तिकै ठुलो भइदिएको भए अत्यधिक गुरुत्वाकर्षणको शक्तिको कारणले मानवीय चलहललाई प्रायः असम्भव बनाइदिन्थ्यो ।

४. पृथ्वी र सूर्यबिचको दुरी
पृथ्वीदेखि सूर्य ९ करोड ३० लाख माइल टाढा छ । यदि पृथ्वी शुक्र ग्रहजत्तिकै नजिकै भइदिएको भए हामीले सूर्यको तापलाई सहन सक्दैनथ्यौँ । अर्कोतिर, यदि यो मंगल ग्रहजत्तिकै टाढा भइदिएको भए प्रत्येक रात हामीले हिउँको वर्षा सहनुपर्थ्यो ।

पृथ्वी आफ्नो अक्षमा र कक्षमा जुन रफ्तारमा कुद्छ; सूर्यबाट यो जुन दुरीमा रहेको छ; पृथ्वीको जुन ढल्काइ छ; यसको जुन आकार छ; यसमा जति मात्रामा अक्सिजन छ यी सबै नै मानव-जातिको लागि असाध्यै ठिक-ठिक छन् । यस्ता कुराहरूमा थोरै मात्र परिवर्तन भइदिएको भए जीवको अस्तित्व सम्भव हुनेथिएन ।

गोबरको थुप्रोलाई हातमा लिएर भित्तामा हान्दा नेपालको नक्सा बन्दैन भनी जान्‍नेहरूले नेपालको नक्साभन्दा हजारौँ गुणा जटिल संरचनाचाहिँ आफसे आफ उत्पन्‍न भयो भनेर पत्याउँदा तिनीहरू अन्धविश्‍वासी कि हामी ? ख्रीष्‍टियानहरूको पवित्र धर्मशास्‍त्र बाइबलले त प्रस्टसित बताउँछ कि मानव-जातिको आवासको लागि यस सुन्दर, व्यवस्थितसाथै जटिल पृथ्वीलाई परमेश्‍वरले सृष्‍टि मात्र गर्नुभएको छैन, तर यसको नियन्त्रण गर्ने पनि उहाँ नै हुनुहुन्छ । “उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ । यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन” (रोमी १:२०) ।

विश्‍व कति व्यवस्थित छ भन्‍नाका लागि सैयौँ खोजहरू पत्ता लगाइएका छन् । यी चारवटा उदाहरणले यस विषयमा पक्‍कै पनि तपाईंलाई एउटा गतिलो तस्बिर उपलब्ध गराएको छः
१. पृथ्वीको परिक्रमण ठिक छ ।
२. पृथ्वीको परिभ्रमण ठिक छ ।
३. पृथ्वीको आकार ठिक छ ।
४. पृथ्वी र सूर्यबिचको दुरी ठिक छ ।

Facebook Comments

Powered by Youth Circle