क्रूर शिविरबाट भाग्न सफल बौद्ध धर्मका किशोर पास्टर बने

तिनी कम्युनिस्टहरूको पञ्जामा थिए । कम्युनिस्टहरू सत्तामा आएपछि अन्य कैयौँ बन्दीहरूसँगै तिनी पनि आफ्नो किशोर अवस्थामा क्याम्बोडियाको एउटा शिविरमा बन्दी बनाइएका थिए । तिनलाई आफ्नो परिवारबाट अलग गरिएको थियो । तिनले दिनमा १२–१४ घण्टासम्म काम गर्नुपर्थ्यो । पानीजस्तो तरल पदार्थ नै तिनको खाना थियो भने आफूले समातेका छेपाराहरू तरकारी । रातमा कम्युनिस्ट अगुवाहरूले कसलाई डाक्थ्यो भनी थाहा हुँदैनथ्यो । डाकिएको व्यक्तिलाई फेरि देख्न पाईंदैनथ्यो । त्यहाँ क्रुरताको पराकाष्ठा थियो ।

यो १९७७ सालको अन्त्यतिरको कुरो हो । एक पटक ती किशोर सिकिस्त बिरामी परे । तिनलाई बेसरी ज्वरो आएको थियो । तिनले तिन/चार दिनसम्म काम गर्न सकेनन् । त्यस बेला काम नगर्ने व्यक्तिलाई बेकम्मा ठानिन्थ्यो जसलाई कम्युनिस्टहरूले राख्दैनथ्ये । काम नगर्नुको कारण पत्ता लगाउन तिनलाई घिसारेर लगियो । तिनलाई लाग्यो, तिनको मृत्यु ढोकैमा थियो । तिनी भयभीत भए र डरले काँप्न थाले । तिनीहरूले तिनको जाँच गर्न लागे । एक जनाले तिनको टाउकोमाथि हात राख्यो भने अर्कोले कुममाथि । एक जनाले छातिमा हात राख्न तिनको सर्ट खोल्यो । ती किशोरले धागोले बाँधेर घाँटीमा क्रूसको लकेट झुण्ड्याएका रहेछन् । क्रूसको ज्योति हात्तीको दाराजस्तो टल्कियो । तिनी ख्रीष्टियान भएकाले क्रूसलाई झुन्ड्याएका थिएनन् । वास्तवमा तिनी बौद्ध धर्मावलम्बी थिए । केही समयको मौनतालाई चिर्दै एक जनाले भन्यो, “यो ठिटो साँच्चै बिरामी रहेछ । उसलाई जान देऊ ।” तिनलाई त्यस क्रूसको बारेमा केही पनि थाहा थिएन, तर त्यही क्रूसले नै तिनको ज्यान जोगाएको थियो भनी तिनले विश्वास गरे ।

त्यस क्रूर शिविरबाट भाग्नु नै उचित ठानी १९७९ को आरम्भतिर तिनी त्यहाँबाट भागे । तिनलाई थाहा थियो पक्रिएको खण्डमा तिनको ज्यान जानेथियो । तर त्यहाँ बसेर कठिनाइपूर्वक काम गर्दा पनि मृत्यु अवश्यमभावी थियो । त्यसैले तिनले भाग्ने निर्णय गरे जसमा तिनी सफल भए ।

पछि ती किशोर अमेरिका पुगे । तिनी एउटा मण्डलीको वरिष्ठ पास्टर बने जहाँ तिनले २० वर्षसम्म प्रभुको सेवा गरे । तिनको नेतृत्वमा २०० ओटाभन्दा बेसी मण्डली स्थापना भइसकेका छन्  । तिनको नाउँ हो, क्रिस्टोफर लापेल ।

Facebook Comments

Powered by Youth Circle