पुनरुत्थानपश्चात् येशू पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो (यूहन्ना २०:११-१८) । यी तिनै स्त्री थिइन् जसबाट येशूले सातवटा भूत निकाल्नुभएको थियो (लूका ८:२) । तर उनले उहाँलाई चिनिनन्, “यी कुरा भनेर तिनी पछिल्तिर फर्किन्, र तिनले येशूलाई उभिरहनुभएको देखिन्, तर येशू नै हुनुहुन्छ भनी चिनिनन्” (पद १४) । उनले आफूसित बात गर्ने मानिसलाई माली ठानिन्, पुनरुत्थान हुनुभएका प्रभु येशू होइन । येशू उही शरीरमा पुनरुत्थान हुनुभएको थियो भने मरियमले येशूलाई किन चिन्न सकिनन् ? येशूलाई चिन्न नसक्नु मरियमको असफलता थियो कि येशू भिन्नै शरीरमा देखा पर्नुभएको थियो ? मरियमले पुनरुत्थान हुनुभएका येशूलाई सुरुमै चिन्न नसक्नुका सम्भाव्य कारणहरू यस प्रकार छन्:
- मरियमले येशूलाई भेट्दा अँध्यारै थियो, “हप्ताको पहिलो दिन बिहान अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले ढुङ्गा चिहानबाट हटाइएको देखिन्” (यूहन्ना २०:१) ।
- मरियम गहिरो शोकमा थिइन्, “मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन् । तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्” (पद ११) । रुवाइको कारण उनको हेराइ अस्पष्ट भएको हुन सक्छ । वास्तवमा मरियमलाई येशूको पहिलो वचन थियो, “नारी, तिमी किन रुँदैछ्यौ ? (पद १५) ।
- येशू क्रूसमा टाँगिनुहुँदा सिपाहीहरूले उहाँको वस्त्र लिएका थिए (यूहन्ना १९:२३-२४) । उहाँको दफनमा प्रयोग गरिएका मलमलका बेह्रने कपडाहरू चिहानमै त्यसै पडिरहेका थिए (यूहन्ना २०:६-७) । मरियमसितको जम्काभेटमा येशूले त्यस्तो कपडा लगाउनुभएको थियो जसले गर्दा मरियमलाई एक झलकमा उहाँलाई चिन्न कठिन भयो भनी अनुमान गर्न सकिन्छ । सायद पुनरुत्थानपश्चात् उहाँले पहिरनुभएको वस्त्र मालीको जस्तै थियो कि ?
- जसरी इम्माउसको बाटोतिर गइरहेका दुई जना चेलाका आँखा उहाँलाई नचिन्ने तुल्याइएका थिए, त्यसै गरी मरियमका आँखामा पनि अलौकिक हस्तक्षेप भएको हुन सक्छ ।
तर केही क्षणको वार्तालापपछि येशूले मरियमको नामै तोकेर सम्बोधन गर्नुभएपछि उनले पुनरुत्थान हुनुभएका येशूलाई चिनिन्, “येशूले तिनलाई भन्नुभयो, ‘मरियम! तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्, ‘रब्बोनी, अर्थात् हे गुरुज्यू!'” (यूहन्ना २०:१६) । निस्सन्देह, पहिले पनि मरियमले येशूलाई धेरै पटक यही नामले सम्बोधन गरेकी हुनुपर्छ ।