अगमवक्ता एलीशा बाटोमा गइरहँदा दर्जनौँ जवान मानिसले जिस्काएका कारण तिनले सराप दिए र बयालिस जनाले मृत्युको सजाए भोग्नुपर्यो, “त्यहाँबाट एलीशा उक्लेर बेथलेहेममा गए । जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट स-साना ठिटाहरू आएर तिनलाई यसो भन्दै जिस्क्याउन लागे, ‘ए मुडुले, माथि जाऊ । ए मुडुले, माथि जाऊ ।’ तिनले फर्केर तिनीहरूलाई हेरी परमप्रभुको नाउँमा सराप दिए । तब जङ्गलबाट दुई वटा भालू निस्केर तिनीहरूमध्येका बयालीस जना ठिटाहरूलाई फहराए” (२ राजा २:२३-२४) । के जिस्काएकै कारण यति डरलाग्दो नतिजा आउने गरी परमेश्वरका जनले सराप दिनु न्यायसङ्गत हुन्छ र ?
एलीशा यरीहोबाट बेथेल (नेपाली बाइबलमा गलत किसिमले बेथलेहेम भएको छ) तर्फ जाँदै थिए । एलीयाको स्वर्गारोहणपश्चात् एलीशा तिनका उत्तराधिकारी बनेका थिए र यही कुरो एलीशाले अन्य अगमवक्ताहरूलाई जानकारी दिन चाहन्थे । बेथेलमा परमेश्वरका अगमवक्ताहरू मात्र बस्दैनथ्ये, तर मूर्तिपूजकहरू पनि । बेथेल इस्राएलमा मूर्तिपूजाको केन्द्रस्थल थियो ।
यस खण्डमा उल्लिखित शब्द ‘ठिटाहरू’ हिब्रू ‘नार’ को अनुवाद हो जसले जवान मानिसहरूलाई जनाउँछ । तिनीहरू ससाना केटाकेटीहरू थिएनन्, तर ठिक र बेठिक छुट्ट्याउन सक्ने उमेरमा आइपुगेका युवाहरू थिए । तिनीहरू दुष्ट मानिस थिए जसलाई आधुनिक सडके गुन्डाहरूसित तुलना गर्न सकिन्छ । सायद तिनीहरू बाल देवताका झुटा अगमवक्ताहरू थिए । तिनीहरूका सङ्ख्या, पाप र अधिकारप्रति प्रस्ट अनादरको कारण एलीशा अगमवक्ताको जीवनै धरापमा परेको देखिन्छ ।
तिनीहरूले एलीशाको अगमवाणीय सेवाकार्यलाई नै चुनौती दिँदै थिए । सारमा तिनीहरूले भन्दै थिए, “तपाईं परमेश्वरद्वारा चुनिएका अगमवक्ता हुनुहुन्छ भने किन एलियाझैँ स्वर्गमा जानुहुन्न ?” तिनीहरूले परमेश्वरका जनलाई ‘मुडुले’ भनेका छन् । यो अनादरसूचक शब्द मात्र थिएन, तर कुष्ठरोगीको चिन्ह पनि थियो । तिनीहरूले अकस्मात् एलीशाको निन्दा गरेका थिएनन, तर यो सुनियोजित योजना थियो । यति बेला एलीशा जवानै भए तापनि तिनको कपाल झरिसकेको हुनुपर्छ । तिनीहरूको गिल्लाले अङ्कित गर्छ कि तिनीहरूले परमेश्वरका जनलाई घृणित अछुत व्यक्तिको रूपमा हेरे ।
यी सबै ऐतिहासिकसाथै सांस्कृतिक ज्ञानलाई मनन गर्दा हामी निष्कर्ष निकाल्न सक्छौँ कि तिनीहरूको अपराध सामान्य थिएन । तिनीहरूले अगमवक्ताको निन्दा गरेका थिए । अगमवक्ता परमेश्वर र उहाँका मानिसहरूका बिचमा रहेर सेवा गर्ने उहाँका प्रवक्ता थिए । एलीशाको सराप तिनको घमण्डबाट उत्पन्न भएको थिएन, तर परमेश्वरप्रति भएको तिनको आदरबाट । परमेश्वरका जनप्रति भएको ती जवान मानिसहरूको गतिविधिले परमेश्वरप्रति तिनीहरूको मनसाय प्रकट गर्छ । निस्सन्देह, तिनीहरूले भोगेका यस्तो भयानक दण्डले यस्तै किसिमका अन्य मानिसहरूका हृदयमा डर उत्पन्न गरायो ।