सुसमाचारको आगमनसँगै मानव बलिमा रोक

२७ जुलाई २०१५ मा सीएनएनले नेपालको कुरीतिबारे एउटा खबर प्रकाशित गरेको थियो जसअनुसार नवलपरासी जिल्लाको कुदिया गाविसमा जीवन कोहार नाउँ गरेका १० वर्षीय बालकलाई बलि दिइएको थियो । बालकलाई मन्दिरमा लगिएपछि धार्मिक रीति सम्पन्न गरियो अनि नजिकै लगेर घाँटी रेटियो । यस नरबलीका गुरुयोजनाकार कोदाई हरिजनका १८ वर्षे छोरो अस्वस्थ थिए र मानव बलि दिएको खण्डमा निको हुने अपेक्षासहित बालकको हत्या गरिएको थियो । जिल्ला अदालतले पुजारीसहित घटनामा संलग्न ११ जनालाई दोषी ठहर गरी सजाय सुनाएको थियो ।[1]

धार्मिक रीतिको नाउँमा मानिसलाई काटेर दिइने बलिलाई नरबलि अर्थात् मानव बलि भनिन्छ । इतिहासभरि विभिन्न संस्कृतिहरूमा नरबलिको अभ्यास गरिएको पाइन्छ । देवी-देवता वा मृतकका आत्माहरूलाई खुसी पार्ने उद्देश्यका साथ बलि दिने काम गरिन्थ्यो ।[2]

मानव बलि अन्यजाति संस्कृतिहरूमा मात्र सीमित थिएन, तर आत्मिक रूपमा पतित हिब्रू राजाहरूले पनि यसको अभ्यास गरे । मिसनरी प्याट्रिकले आयरल्यान्डमा येशूको सुसमाचार पुर्‍याउनुअगि त्यहाँका बासिन्दाहरू पनि नरबलिमा संलग्न थिए ।[3] अन्यजाति प्रुसियन र लिथुसियनहरूले तेर्‍हौँ र चौधौँ शताब्दीसम्म पनि मानव बलिको अभ्यास गर्थे ।[4] ख्रिस्टाब्द १८०२ मा ब्रिटिस लेखक एडवार्ड राएनले विश्लेषण गरे कि यी मानिसहरूमाथि ख्रीष्टियान शिक्षाको प्रभाव नपरेको भए तिनीहरू अझै पनि यही कुरीतिमा लागिरहेका हुन्थे ।[5] उत्तर अमेरिकाको दक्षिणमा अवस्थित हाल मेक्सिको भनेर चिनिने मुलुकमा पनि व्यापक रूपमा मानव बलिको अभ्यास गरिन्थ्यो । नेपालमा अझै पनि यसको अभ्यास गरिएको छ भन्दा हाम्रो आङै सिरिङ्ङ हुन्छ ।

नवौँ शताब्दी ख्रिस्टपूर्व (झन्डै २,९०० वर्षअगि) मा प्यालेस्टाइनमा बाल देवताका आराधकहरूले बालकहरूलाई होम दिने गर्थे । परमेश्वरको अनुमोदनपश्चात् एलिया अगमवक्ताले यस अभ्यासको भर्त्सना मात्र गरेनन, तर कर्मेल पर्वतमा ४५० जना बालका अगमवक्तालाई पनि मारे (१ राजा १८:१६-४०) । नवौँ शताब्दी ख्रिस्टपूर्वमा इस्राएलका भ्रष्ट राजा आहाब र रानी ईजेबेल बालका आराधकहरू थिए (१ राजा १६:३१) । आठौँ शताब्दीमा परमेश्वरबाट तर्केर गई इस्राएलका दुष्ट राजा आहाजले आफ्नै छोरोलाई मोलोख देवताको निम्ति होम गरे (२ राजा १६:३) । केही वर्ष बित्न नपाउँदै अर्का पतित राजा मनश्शेले पनि हिन्नोमको बेँसीमा आफ्नै छोरोलाई बलि दिए (२ राजा २१:६) ।

ओरिएन्टल इन्स्टिच्युट अफ द युनिभर्सिटी अफ सिकागोले सामरियास्थित अशेरा देवीको मन्दिरको अवशेषको उत्खनन् गरी ‘आहाबको समयको क्षेत्र’ भनेर चिनिने जग्गामा अनुसन्धान गरेपछि नतिजा सार्वजनिक गरिएको थियो, “यो मन्दिरभन्दा केही कदम पर मात्र एउटा समाधीस्थल थियो जहाँ थुप्रै माटाका भाँडाकुँडाहरू पाइए जसभित्र यही मन्दिरमा बलि दिइएका शिशुहरूका अवशेषहरू थिए । … बाल र अशेराका अगमवक्ताहरू ससाना बालकका अधिकारप्राप्त हत्याराहरू थिए ।”[6]

परमेश्वरले मोशामार्फत आफ्ना मानिसहरूलाई चेताउनी दिनुभएको थियो, ” तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, … उनीहरू आफ्‍ना छोराछोरीहरूलाई पनि आफ्‍ना देवताहरूका लागि आगोमा होमिदिन्‍छन्‌” (व्यवस्था १२:३१) । आफ्नो बालक मोलोख देवतालाई चढाउने मानिसलाई मृत्युदण्डको सजाय तोकिएको थियो (लेवी २०:२) । “आफ्‍ना छोराछोरीहरूलाई आगोमा बलि” गरेकाले सातौँ शताब्दी ख्रिस्टपूर्वको उत्तरार्द्धमा यर्मिया अगमवक्ताले कैयौँ इस्राएलीहरूको भर्त्सना गरे” (यर्मिया ७:३१) ।

बाइबलमा कतै पनि परमेश्वरले नरबलिको अनुमोदन गर्नुभएको छैन । यो एउटा घृणित अभ्यास भएकोले परमेश्वरले पटक-पटक यसलाई घृणा गर्नुभयो । विभिन्न अन्यजाति संस्कृतिहरूमा सुसमाचारले प्रवेश पाएसँगै यस्तो कुरीतिमा पूर्णविराम लागेको इतिहास छर्लङ्गै छ ।

 

सन्दर्भ स्रोतहरूः

[1]      https://edition.cnn.com/2015/07/27/asia/nepal-human-sacrifice/index.html

[2]     https://en.wikipedia.org/wiki/Human_sacrifice

[3]     कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ८९ ।

[4]     Alvin J. Schmidt, How Christianity Changed the World [Kindle Version]. Retrieved from Amazon.com

[5]     Edward Ryan, The History of the Effects of Religion on Mankind: In Countries Ancient and Modern, Barbarous and Civilized (Dublin: T. M. Bates, 1802), 267.

[6]     D. James Kennedy and Jerry Newcombe, What If Jesus Had Never Been Born? [Kindle Version]. Retrieved from Amazon.com

Facebook Comments

Powered by Youth Circle