के येशूको बप्तिस्माअगि बप्तिस्मा-दिने यूहन्नाले येशूलाई चिनेका थिए ?

बप्तिस्मा-दिने यूहन्नाले येशूको बारेमा भने, “म आफैले उहाँलाई चिनेको थिइनँ” (यूहन्ना १:३१) । अर्को ठाउँमा व्यक्त भाषाअनुसार पनि तिनले येशूलाई चिनेका थिएनन्, “मैले उहाँलाई चिनेको थिइनँ” (यूहन्ना १:३३) । तर येशू बप्तिस्मा-दिने यूहन्नाको हातबाट बप्तिस्मा लिन आउनुहुँदा तिनले उहाँलाई चिनेका थिए भन्ने तथ्य छर्लङ्ग हुन्छ, “तब येशू गालीलबाट यूहन्‍नाकहाँ तिनीद्वारा बप्‍तिस्‍मा लिन यर्दनमा आउनुभयो । तर यूहन्‍नाले यसो भनेर उहाँलाई रोक्‍न खोजे, ‘बरु मलाई पो तपाईंबाट बप्‍तिस्‍मा लिनु आवश्‍यक छ, र के तपाईं मकहाँ आउनुहुने ?'” (मत्ती ३:१३-१४) । येशूको बप्तिस्माअगि बप्तिस्मा-दिने यूहन्नाले येशूलाई चिनेका थिए कि थिएनन् ?

निस्सन्देह, येशूको बप्तिस्माअगि बप्तिस्मा-दिने यूहन्नाले येशूको बारेमा सुनेका थिए र तिनलाई उहाँको ख्याति थाहा थियो । येशू बप्तिस्मा-दिने यूहन्नाका आफन्त पर्नुहुन्थ्यो (लूका १:३६) । तर उहाँ नै मसीह हुनुहुन्छ भनेरचाहिँ उहाँको बप्तिस्माअगि तिनले चिनेका थिएनन् । यूहन्नाले “मैले उहाँलाई चिनेको थिइनँ” (यूहन्ना १:३३) भन्नुको अर्थ हुन्छ कि उहाँ मसीह हुनुहुन्छ भनेर तिनले चिनेका थिएनन् । येशूको बप्तिस्माको क्षणमा पवित्र आत्मा ओर्लनुका साथै स्वर्गबाट पिताको आवाज आएपछि येशू नै पिताद्वारा पठाइनुभएका मसीह हुनुहुन्छ भन्ने तथ्यमा बप्तिस्मा-दिने यूहन्ना पक्का भए । येशूको बप्तिस्माअगि पनि धेरै मानिसले येशूलाई चिनेका भए तापनि उहाँ नै मसीह हुनुहुन्थ्यो भनेरचाहिँ कसैले चिनेको थिएन (यूहन्ना १:३१) ।

Facebook Comments

Powered by Youth Circle