येशू कति बजे क्रूसमा टाँगिनुभयो— ९ बजे वा १२ बजेपछि (यूहन्ना १९:१४) ?  

मर्कूसको सुसमाचारले स्पष्टसित बताउँछ कि येशू बिहानको ९ बजे क्रूसमा टाँगिनुभयो, “तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो” (मर्कूस १५:२५) । तर चौथो सुसमाचारअनुसार दिउँसो लगभग बाहृ बजेसम्म येशूको जाँच पडताल अझै जारी थियो, “दिउँसोको करीब बाहृ बजेको थियो । पिलातसले यहूदीहरूलाई भने, ‘हेर, तिमीहरूका राजा !’” (यूहन्ना १९:१४) । येशूलाई बाहृ बजेपछि मात्र क्रूसमा टाँगिएको थियो भनी यूहन्नाको यस विवरणले अङ्कित गर्छ । यहाँ हामी प्रस्ट विरोधाभास देख्छौँ । येशू कति बजे क्रूसमा टाँगिनुभयो— ९ बजे वा १२ बजेपछि ?

यो विश्वव्यापी रूपमा स्वीकार गरिएको छ कि “सम्मिलित सुसमाचारहरू” (मत्ती, मर्कूस र लूका) मा समयलाई सूर्योदयदेखि गणना गरिएको छ जुन लगभग बिहान ६ बजे सुरु हुन्थ्यो । यसको अर्थ हुन्छ कि येशू बिहान ९ बजे क्रूसमा टाँगिनुभयो (मर्कूस १५:२५), बिहान ९ देखि मध्यान्ह १२ बजेसम्म उहाँले क्रूसमा दुःख भोग्नुभयो, मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म सारा देशमा अन्धकार छायो (मत्ती २७:४५; मर्कूस १५:३३; लूका २३:४४), दिउँसो ३ बजे उहाँले प्राण त्याग गर्नुभयो (मत्ती २७:४६; मर्कूस १५:३४; लूका २३:४६) ।

“सम्मिलित सुसमाचारहरू” का लेखकत्रयले प्रयोग गरेका समय प्रणाली र चौथो सुसमाचारका लेखकले प्रयोग गरेका समय प्रणालीलाई हामीले बुझ्यौँ भने यो कठिनाइ दूर हुन्छ । मत्ती, मर्कूस र लूकाले यहूदी समय प्रणालीको प्रयोग गरेका छन् भने यूहन्नाले रोमी समय प्रणालीको । यहूदीहरूको दिन बेलुका ६ बजे आरम्भ भई अर्को दिनको बेलुका ६ बजे टुङ्गिन्थ्यो । तर रोमी गणनाअनसार हामी नेपालीहरूको जस्तै तिनीहरूको दिन मध्य रातबाट सुरु भई अर्को मध्य रातसम्म जारी रहन्थ्यो । यसको अर्थ हुन्छ कि यूहन्नाले करिब १२ बजे येशूको जाँच पडताल हुँदै थियो भन्दा यहूदी गणनाअनुसार त्यो बिहानको ६ बजेतिर थियो । थप केरकारपछि बिहान ९ बजे येशूलाई क्रूसमा टाँगियो ।

तर यूहन्नाले किन रोमी समय प्रणालीलाई पछ्याए त ? किनकि यूहन्नाले यो सुसमाचार रोमी प्रान्तको राजधानी एफिससमा बसेर लेखेका थिए । बाइबल धर्मशास्त्रका लेखकहरूले तिनीहरू बसेकै ठाउँको समय प्रणालीलाई अवलम्बन गरेका अन्य उदाहरणहरू पनि छन् । उदाहरणको लागि, उही वर्षलाई उल्लेख गर्न यर्मिया २५:१ र ४६:२ मा प्यालेस्टाइनको समय प्रणालीअनुसार गणना गरिएको छ भने दानिएल १:१ मा बेबिलोनी गणनाअनुसार ।

निष्कर्षमा मर्कूस र यूहन्नामा देखिएको विरोधाभास समयलाई गणना गर्ने दुईवटा बेग्लाबेग्लै प्रणालीको उपज मात्र हो । येशूको क्रुसारोहणको समयको सम्बन्धमा दुवै लेखक पूर्णतः सही छन्— येशू बिहानको ९ बजे क्रूसमा टाँगिनुभयो ।

Facebook Comments

Powered by Youth Circle