के उत्पत्ति १:२६ मा उल्लिखित शब्द ‘हाम्रै’ ले त्रिएकतालाई जनाउँछ ?

उत्पत्ति १:२६ मा लेखिएको छ, “फेरि परमेश्‍वरले भन्‍नुभयो, ‘मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌’ ।” यस पदमा प्रयोग गरिएको बहुवचन सर्वनाम हो— हाम्रै । यो परमेश्वरको सट्टामा प्रयोग गरिएको शब्द हो । परमेश्वर एक हुनुहुन्छ भनी व्यवस्थाको पुस्तकमा प्रस्टसित लेखिएको छ, “हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ” (६:४) । परमेश्वर एक हुनुहुन्छ भने उत्पत्ति १:२६ मा किन ‘हाम्रै’ शब्दको प्रयोग गरियो त ?

यो शब्द (हाम्रै) मा परमेश्वरले स्वर्गदूतहरूलाई पनि समावेश गर्नुभएको छ भनी कतिपय टिप्पणीकारहरूले दाबी गरे तापनि यो राय सम्भाव्य देखिँदैन । किनकि परमेश्वरले मानिसलाई उहाँको स्वरूपमा सृष्टि गर्नुभयो छ, स्वर्गदूतको स्वरूपमा होइन ।

अरू कतिपयको दाबी रहेको छ कि यहाँ उल्लिखित बहुवचन सर्वनाम (हाम्रै) ले त्रिएक परमेश्वरलाई उल्लेख गर्छ । पिता परमेश्वरसँगै पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर पनि सृष्टिको कार्यमा संलग्न हुनुभए तापनि यस पदमा अभिलिखित बहुवचन सर्वनाम ‘हाम्रै’ त्रिएक परमेश्वरको बहुचनको लागि होइन भनी हिब्रू व्याकरणका विद्यार्थीहरू बताउँछन् । परमेश्वरको लागि यहाँ उल्लिखित हिब्रू शब्द एलोहिम हो । यो हिब्रू भाषामा बहुवचन नाम हो, तर सङ्ख्याको बहुवचन भने होइन । त्यसैले यो शब्दले त्रिएकतालाई उल्लेख गर्दैन भन्ने व्याख्या मुनासिब नै देखिन्छ ।

हामीले भर्खरै माथि हेर्‍यौँ कि यस पदमा परमेश्वरको लागि प्रयुक्त हिब्रू शब्द एलोहिम हो । यो ‘वैभवको बहुवचन’ हो जसले परमेश्वरको वैभव, शुद्धता र महानतालाई अङ्कित गर्छ । बहुवचन हिब्रू नाम एलोहिमको कारण बहुवचन सर्वनाम (हाम्रै) को खाँचो परेको हो । अर्को शब्दमा भन्नुपर्दा, हिब्रू नाम एलोहिम स्वरूपमा बहुवचन भएकोले व्याकरणअनुसार सर्वनाम पनि बहुवचन नै हुनुपर्ने भएको हो ।

पुरानो करारमा त्रिएकताको सिद्धान्त पूर्णत: विकसित नभए तापनि विभिन्न खण्डहरूमा यसको छायाँ भने पाइन्छ (भजनसंग्रह ११०:१; यशैया ६३:७) । नयाँ करारमा त्रिएकताको सिद्धान्त काँचझैँ छर्लङ्ग छ (मत्ती ३:१६-१७; २ कोरिन्थी १३:१४) ।

निष्कर्षमा उत्पत्ति १:२६ मा उल्लिखित शब्द ‘हाम्रै’ मा स्वर्गदूतहरू समावेश छैनन्, न त यसले त्रिएकतालाई उल्लेख गर्छ । यस पदमा परमेश्वरको लागि प्रयुक्त हिब्रू नाम एलोहिम हो जुन ‘वैभवको बहुवचन’ भएकोले सर्वनाम ‘हाम्रै’ को खाँचो परेको हो ।

Facebook Comments

Powered by Youth Circle