ख्रीष्टियानहरूले शपथ खान मिल्छ (हिब्रू ६:१३-१४) वा मिल्दैन (मत्ती ५:३४) ?

डाँडाको उपदेशमा येशूले भन्नुभयो, “तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ” (मत्ती ५:३४) । याकूब पनि उस्तै तथ्य व्यक्त गर्छन्, “मेरा भाइ हो, सबै कुराभन्‍दा पहिले स्‍वर्गको वा पृथ्‍वीको अथवा अरू कुनै कुराको शपथ नखाओ” (याकूब ५:१२) । अर्कोतिर परमेश्वर स्वयम्‌ले शपथ खानुभयो, “परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्‍दा अझ ठूला अरू कुनै नभएकाले आफ्‍नै नाउँमा यसो भनेर शपथ खानुभयो, ‘म निश्‍चय तँलाई आशिष्‌ दिनेछु, र तेरो वृद्धि गर्नेछु’” (हिब्रू ६:१३-१४) । ख्रीष्टियानहरूले शपथ खान मिल्छ कि मिल्दैन ?

बाइबलमा शपथबारे झन्डै ३० ओटा सन्दर्भ पाइन्छन् । पुरानो र नयाँ करार दुवैमा केही उचित शपथहरूको उल्लेख गरिएका छन् ।

अब्राहामलाई आशिष् दिनेछु भनी परमेश्वर स्वयम्‌ले शपथ खानुभयो (हिब्रू ६:१३-१४) । येशूको पुजारीय कामको सन्दर्भमा पनि उहाँले शपथ खानुभयो, “परमप्रभुले शपथ खानुभएको छ, र आफ्‍नो मन बदल्‍नुहुनेछैन, ‘मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ'” (भजनसंग्रह ११०:४) । परमेश्वर सिद्ध हुनुभएकोले शपथ आफैमा कुनै खराबी छैन भनी हामीले बुझ्नु आवश्यक छ ।

येशूको जाँच पडताल गरिँदा प्रधान पुजारी कैयाफाले उहाँलाई सोधे, “जीवित परमेश्‍वरको शपथ खाएर भन्‍दछु, हामीलाई बता, के तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस्‌ ?” (मत्ती २६:६३) । येशूले इमानदारीसाथ जवाफ दिनुभयो, “तपाईंले नै भनिहाल्‍नुभयो” (पद ६४) । येशू पनि प्रधान पुजारीको शपथको अधीनमा आउनुभयो ।

प्रेरित पावलले कोरिन्थका विश्वासीहरूलाई लेख्दा तिनले पनि शपथको अङ्कित गरेका छन्, “परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ, कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्‍थमा आइनँ” (१ कोरिन्थी १:२३) । अर्को पत्रमा तिनको दृढ भनाइलाई ख्याल गर्नुहोस्, “परमेश्‍वरको सामु म तिमीहरूलाई विश्‍वास दिलाउन चाहन्‍छु, कि म जे लेख्‍तछु त्‍यो झूटो होइन” (गलाती १:२०) ।

धर्मी मानिसले “आफ्‍नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्‌लँदैन” (भजनसंग्रह १५:४) अर्थात् आफ्नो शपथमा परिवर्तन ल्याउँदैन ।

प्रेरित यूहन्नाको दर्शनमा देखा पर्ने स्वर्गदूतले शपथ खाए, “अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्‍वर्ग र त्‍यसमा भएका कुराहरू, पृथ्‍वी र त्‍यसमा भएका कुराहरू, समुद्र र त्‍यसमा भएका कुराहरूलाई सृष्‍टि गर्नुहुनेको नाउँमा तिनले शपथ खाएर अब ढिलो हुनेछैन भने” (प्रकाश १०:६) ।

परमेश्वरले मात्र शपथ खानुभएन, तर स्वर्गदूतले पनि शपथ खाए । येशू शपथको अधीनमा आउनुभयो र प्रेरित पावलले यसको अङ्कित गरे । धर्मी मानिसले आफ्नो शपथ बद्लँदैन । त्यसो हो भने शपथबारे येशू र याकूबको भनाइको मलतब के हो त ?

येशूले भन्नुभयो, “तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ” (मत्ती ५:३४) । बाइबलका पाठ्यांशहरूलाई बुझ्ने विविध सिद्धान्तहरूमध्ये एउटा हो, प्रसङ्ग । कुनचाहिँ सन्दर्भमा भनाइ व्यक्त गरिएको छ भनेर बुझिनुपर्छ । येशूको समयमा शपथ यति सामान्य कुरो भएको थियो कि कसैले शपथ नखाइकन बोल्दा त्यो साँचो हुन सक्दैनथ्यो भनी मानिन्थ्यो । येशूले शपथबारे धार्मिक अगुवाहरूको त्यस्तो बुझाइको खण्डन गर्नुभयो । हाम्रो वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ हुनुपर्छ भनी उहाँले जोड दिनुभयो (मत्ती ५:३७) ।    

याकूबको भनाइको अर्थचाहिँ के हो त ? “मेरा भाइ हो, सबै कुराभन्‍दा पहिले स्‍वर्गको वा पृथ्‍वीको अथवा अरू कुनै कुराको शपथ नखाओ” (याकूब ५:१२) । याकूबले यहाँ शपथको नकारात्मक पक्ष अर्थात् झुटोसाथै ईश्वर-निन्दक शपथको निषेध गरेका छन् ।

ख्रीष्टियानहरूका लागि सिद्धान्त प्रस्ट छ । चाहे प्रभुको निम्ति होस् वा अर्को व्यक्ति निम्ति होस्, शपथ खान होसियार हुनुहोस् । हाम्रो बुझाइ सीमित भएकाले हामीले मूर्खतापूर्वक वा अपरिपक्व रूपमा शपथ हाल्न सक्छौँ । प्रभु येशूले भन्नुभएझैँ हाम्रो वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ हुनुपर्छ । बाइबलले आदरणीय, इमानदार, वैवाहिक र अदालतमा खाइने शपथलाई कहिल्यै निषेध गरेको छैन । येशू (मत्ती ५:३३-३७) र याकूब (याकूब ५:१२) ले यस्ता शपथहरूको उल्लेख गरेका होइनन् । हामीले परमेश्वरको सत्यता व्यक्त गर्ने शपथ खाँदा कुनै भुल हुँदैन ।

Facebook Comments

Powered by Youth Circle