परमेश्वरले हव्वालाई कहिले बनाउनुभयो— छैटौँ दिनमा वा त्योभन्दा पछि (उत्पत्ति २:२०-२२) ?

उत्पत्ति १ अध्यायअनुसार परमेश्वरले आदमलाई मात्र नभई हव्वालाई पनि छैटौँ दिनमा नै सृष्टि गर्नुभयो, “यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो । परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो” (पद २७) । मानव-जाति परमेश्वरद्वारा छैटौँ दिनमा सृष्टि गरिएका थिए भनी पद ३१ मा प्रकट गरिएको छ, “साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन ।” तर २ अध्यायको विवरणअनुसार हव्वा निकै पछि सृष्टि गरिएकीजस्तो देखिन्छ । आदमले सबै पशुपक्षीको नाउँ राखेपछि परमेश्वरले हव्वालाई बनाउनुभयो, “जुन करङ परमप्रभु परमेश्‍वरले मानिसबाट निकाल्‍नुभएको थियो, त्‍यसबाट एउटी स्‍त्री बनाएर मानिसकहाँ ल्‍याउनुभयो” (उत्पत्ति २:२२) । परमेश्वरले हव्वालाई कहिले बनाउनुभयो— छैटौँ दिनमा कि त्योभन्दा पछि ?

२ अध्यायमा आएर मात्र हव्वाको सृष्टिबारे सविस्तार वर्णन गरिएकोले उनलाई पछि नै सृष्टि गरियो भनी मानिसहरूले सोच्न सक्छन् । तर तपाईंले उत्पत्ति १:२७-३१ लाई हेर्नुभयो भने तपाईं प्रस्ट हुनुहुने छ कि परमेश्वरले आदम र हव्वा दुवैलाई छैटौँ दिनमा सृष्टि गर्नुभयो । “नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो” भन्ने उत्पत्ति १:२७ को भाषालाई ख्याल गर्नुहोस् । छैटौँ दिनको सृष्टिबारे उत्पत्ति १:२४-३१ ले जेजति बताउँछ उत्पत्ति २:७-२५ ले त्यही दिनको सृष्टिबारे थप जानकारी दिन्छ । मानिसको सृष्टिबारे १ अध्यायको वर्णन सङ्क्षिप्त हो भने २ अध्यायको वर्णन सविस्तार ।

निष्कर्षमा परमेश्वरले आदम र हव्वा दुवैलाई छैटौँ दिनमा नै सृष्टि गर्नुभयो भनी १ अध्यायले प्रस्ट पार्छ भने २ अध्याय (पदहरू २०-२२) ले उहाँले हव्वालाई कसरी सृष्टि गर्नुभयो भनी थप जानकारी दिन्छ । दुवै खण्डले छैटौँ दिनकै सृष्टिबारे उल्लेख गरेका हुन् ।

Facebook Comments

Powered by Youth Circle