मिसनरीको घर जलाउन आएका आक्रमणकारीहरू प्रार्थनाको नतिजास्वरूप भागे  

उन्नाइसौँ शताब्दीको पूर्वाद्धमा स्कटल्यान्डमा जन्मेका जोन गिब्सोन पाटोन ख्रिस्टाब्द १८५८ मा न्यु हेब्रिडेस नाउँ गरेको टापुमा मिसनरी भएर गएका थिए । हाल भानुआतु नाउँले चिनिने यो टापु प्रशान्त महासागरको दक्षिणमा पर्छ । यी टापुका मानिसहरू यति हिंसक थिए कि तिनीहरूले मान्छेलाई मारेर उसको मासु खाने गर्थे । त्यस्ता आदिवासीहरूको बिचमा ख्रीष्टको सन्देश सुनाउन पाटोनलाई हम्मेहम्मे परेको थियो । तथापि तिनको निरन्तर सङ्घर्ष र कठिनाइपश्चात् त्यस टापुका जङ्गलीहरू बिस्तारै-बिस्तारै ख्रीष्टियान विश्वासतर्फ लम्के । स्थानीयहरूलाई सुसमाचार सुनाउने क्रममा पाटोनले अनुभव गरेका मनग्गे कठिनाइ र परमेश्वरको प्रबन्धबारे हामी यहाँ एउटा प्रसङ्गलाई ध्यान दिनेछौँ ।

एक रातको कुरो हो । जोन पाटोनप्रति वैरभाव राख्ने स्थानीयहरूले तिनको मिसन केन्द्रलाई घेरे, पाटोन र उक्त केन्द्रलाई जलाउने उद्देश्यले । त्यस त्रासदीपूर्ण रातमा पाटोन र तिनकी पत्नीले छुटकाराको लागि परमेश्वरलाई बिन्ती चढाए । बिहान भएपछि ती आक्रमणकारीहरू भागेर गएका देख्दा पाटोन दम्पती छक्क परे ।

एक वर्ष बित्यो । त्यसबिचमा आदिवासीको मुखियाले येशू ख्रीष्टलाई अङ्गालिसकेको थियो । उक्त घटनाको स्मरण गर्दै त्यस रातमा किन तिनीहरूले पाटोनको घरलाई नजलाएको भनेर तिनले मुखियालाई सोधे । मुखियाले छक्क पार्ने जवाफ दिए, “त्यहाँ तपाईंसँगै उपस्थित ती सबै मानिस को थिए ?” त्यस्ता कोही मानिसहरू त्यहाँ थिएनन् भनी पाटोनलाई राम्ररी थाहा थियो । तर मुखिया आक्रमण गर्नदेखि डराए किनकि हातमा तरवार लिएर सेतो वस्त्र धारण गरेका सैयौँ मानिस मिसन केन्द्रलाई घेरेर बसेका तिनले देखेका थिए भनी तिनले बताए ।

भजनसंग्रह ९१:११ मा लेखिएको वचन जोनको जीवनमा वास्तवमा लागु भएको जस्तो देखिन्छ, “किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुन्छ ।”

हाल भानुआतुका ८३% जनसङ्ख्या ख्रीष्टियान छन् । प्रशान्त महासागरको दक्षिणमा अवस्थित यस मुलुकमा केही विदेशी मिसनहरू अझै पनि सक्रिय भए तापनि झन्डै ९०% अगुवाहरू स्थानीय छन् । यहाँको संवाधानले धार्मिक स्वतन्त्रता प्रदान गरेको छ ।

Facebook Comments

Powered by Youth Circle