प्रार्थनामा शक्ति छ— ९/११ को आक्रमण र कोरोनाबाट बाँचेका दम्पति

११ सेप्टेम्बर २००१ अमेरिकाको इतिहासमा अति भयावह दिन साबित भयो । चारवटा यात्रुवाहक विमानलाई १९ जना अपहरणकारीले नियन्त्रणमा लिई आत्मघाती आक्रमण गरेका थिए । आतङ्कवादी सङ्गठन अलकायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनको गुरु योजनामा उक्त आक्रमण गराइएको थियो । दुईवटा विमानलाई र्ल्ड ट्रेड सेन्टरको उत्तर र दक्षिणपट्टि ठोक्काइएपछि १ घण्टा ४२ मिनेटभित्रमा ११० तले दुवै भवन ध्वस्त हुन पुगे । तेस्रो विमानलाई अमेरिकाको रक्षा मन्त्रालय अर्थात् पेन्टागनमा लगेर विस्फोट गराइयो । चौथो विमानलाई अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा लगेर विस्फोट गराउने योजना थियो । तर यात्रुहरूले प्रतिरोध गरेकाले त्यो पेन्सलभेनियाको साङ्क्सभाइलमा गएर ध्वस्त भयो । कम्तीमा पनि ३० खरब नेपाली रुपियाँ बराबरको क्षति भएको यस घातक आक्रमणमा १९ जना अपहरणकारीसहित जम्मजम्मी २,९९७ जनाले ज्यान गुमाएका थिए भने २५,००० भन्दा बढी घाइते भए ।[i]

उक्त भर्त्सनायोग्य आक्रमणमा बाँच्न सफल एक महिलाको नाउँ हो, क्रिस्टिना रे स्टान्टोन । आफ्नो अनुभवलाई समेटी उनले आउट अफ द स्याडो अफ ९/११: एन इन्स्पाइरिङ्ग टेल अफ एस्केप एन्ड ट्रान्सफर्मेसन नामक पुस्तक लेखेकी छन् ।[ii] उनका पतिको नाउँ हो, ब्राएन ।

होस आएपछि हजारौँ मानिसँगै भाग्ने क्रममा र्ल्ड ट्रेड सेन्टरको भग्नावशेले अरूसँगै क्रिस्टिना र उनका पतिलाई पनि पुरिदियो । पति पत्नी नमरे तापनि धुलोको कारण तिनीहरूले वर्षौंसम्म स्वास्थ्यमा समस्या झेल्नुपर्‍यो । तिनीहरूले भोगेका सङ्कष्टले तिनीहरूलाई परमेश्वरको नजिक ल्याएको थियो । पत्नी सम्झन्छिन्, “९/११ को कारण हाम्रा सम्पूर्ण जीवन बद्लिएका छन् । निश्चय नै यसले ख्रीष्टसित भएको हाम्रो सम्बन्धलाई गहन बनाइदियो ।”

पति पत्नीले नै जीवनमा अर्को सङ्घर्षको सामना गर्नुपर्‍यो— दुवै जनामा कोरोना भारइस (कोभिड-१९) पोजेटिभ देखियो । पत्नी क्रिस्टिना दुई पटक अस्पतालमा भर्ना हुनुपर्‍यो । उनले भनिन्, “निश्चय नै यो एउटा युद्ध थियो ।”

वास्तवमा क्रिस्टिना दुई पटक नै मृत्युको मुखबाट उम्कन सफल भइन् । उनको बाँच्ने सम्भावना कति छ भनेर डाक्टरलाई सोधिँदा जवाफ थियो, “५०/५० ।” निश्चय नै उनको लागि यो त्रास मिश्रित आश्चर्य थियो । उनको स्वास्थ्यलाभको लागि मेडिकल सहायताभन्दा बेसी कुराको खाँचो थियो भनी उनले महसुस गरिन् । उनले भनेकी छन्, “ममा कोभिड-पोजेटिभ भएको मैले थाहा पाएपछि त्यसको केही घण्टाभित्रै मेरो लागि मानिसहरूलाई प्रार्थनाको अनुरोध गर्दै मैले सयभन्दा बेसी इमेल पठाएँ ।”

क्रिस्टिनाले स्वीकार गरिन्, “यस्ता क्षणहरू पनि आए जुन बेला म आफ्नै लागि पनि प्रार्थना गर्न सक्दिनथेँ । मैले आफ्नै लागि प्रार्थना गर्न नसके तापनि मेरा लागि प्रार्थना गर्न मानिसहरू थिए भनी मलाई थाहा थियो ।”

क्रिस्टिनाले थपिन्, “त्यसैले प्रार्थना सबै थोक हो । गएको महिना मैले येशू ख्रीष्टको नाउँलाई घरिघरि पुकारेँ । त्यो नाउँमा शक्ति छ र प्रार्थनामा शक्ति छ ।”[iii]

न ९/११ को आक्रमणको क्रिस्टिना दम्पतिलाई लिएर जान सक्यो, न त कोरोना भाइरसले ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/September_11_attacks Accessed on 29 April 2020

[ii] https://www.amazon.com/Out-Shadow-11-Inspiring-Transformation-ebook/dp/B07SJXTJJB/ref=tmm_kin_swatch_0?_encoding=UTF8&qid=&sr= Accessed on 29 April 2020

[iii] https://www.faithwire.com/2020/04/21/there-is-power-in-prayer-woman-that-survived-9-11-overcomes-2-covid-19-hospitalizations/ Accessed on 29 April 2020

Facebook Comments

Powered by Youth Circle