महामारीप्रति महान् सुधारवादी मार्टिन लुथरको प्रतिक्रिया

मानव इतिहासमा अभिलिखित सर्वाधिक डरलाग्यो महामारीको नाउँ हो, ब्ल्याक डेथ (अर्थात् कालो मृत्यु) । सात वर्षसम्म जारी (ख्रिस्टाब्द १३४६-१३५३) यस महामारीको चपेटामा परी ७ करोड ५० लाखदेखि २० करोडसम्म मानिसहरू मरे भनी अनुमान गरिएको छ । यसले तत्कालीन ज्ञात विश्वलाई प्रभाव पारेको थियो जस्तो अहिले कोरोना भाइरस (कोभिड-१९) ले प्रभाव पारेको छ । मानवीय क्षतिको दृष्टिकोणबाट हेर्ने हो भने त्यो महामारी अहिलेको भन्दा कैयौँ गुणा डरलाग्यो र भयावह थियो । यर्सिनिया पेस्टिस नाम गरेको ब्याक्टेरिया त्यस महामारीको कारण थियो भनी मानिएको छ ।[i]

२७ अप्रिलसम्ममा ३० लाखभन्दा बेसी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्, २,०७,७२२ जनाको निधन भएको छ, ८,९४,४६४ जना निको भएका छन् भने ५७,५४५ जनाको अवस्था गम्भीर छ ।[ii]

चौधौँ शताब्दीमा आइपरेको जस्तो यस्तो महामारीप्रति हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ भनी पन्ध्रौँ-सोर्‍हौँ शताब्दीका महान् सुधारक मार्टिल लुथरलाई सोधिएको थियो । तिनको जवाफ हाम्रो लागि नमुना हुन सक्छ । लुथरको जवाफमा जानुअगि तिनको बारेमा जानकारी लिनु मुनासिब हुन्छ ।

लुथरको जन्म तत्कालीन पवित्र रोमी साम्राज्यको इजलबेन (आधुनिक जर्मनीको एउटा सहर) भन्ने ठाउँमा भएको थियो । महत्त्वाकाङ्क्षी पिताले जेठो छोरो लुथरलाई वकिल बनाउने जमर्को गरेका थिए, तर तिनी त ईश्वरशास्त्री, प्राध्यापक, लेखकसाथै सुधारवादका प्रवर्तक बन्न पुगे । निस्सन्देह, लुथर मण्डली इतिहास र युरोपको इतिहासमा एक महत्त्वपूर्ण पात्र हुन् । तिनको जीवनी र रचनाहरूले एउटा अभियानकै प्रारम्भ गरायो जसले पश्चिमा ख्रिस्टियमतलाई दुई चिरामा विभाजन गरिदियो: प्रोटेस्टेन्ट र रोमन क्याथोलिक । तिनले जर्मन भाषामा बाइबल अनुवाद गरे; साहित्य र शिक्षालाई प्रोत्साहन दिए । धार्मिक क्षेत्रमा लुथर जिनिअस थिए ।[iii]

लुथरका कृतिहरूमध्ये ४३ औँ ठेलीको पृष्ठ सङ्ख्या १३२ मा तिनद्वारा रेभरेन्ड डा. जोन हेसलाई लिखित पत्र उल्लिखित छ जसको शीर्षक रहेको छ: के घातक विपत्तिबाट भाग्ने हो ? लुथरले लेखेका छन्:

हामीलाई सुरक्षा गर्नुहोस् भनी म कृपापूर्वक परमेश्वरलाई बिन्ती गर्ने छु । त्यसपछि म वातावरणलाई शुद्ध पार्न सहायता गर्ने छु अनि औषधिको सेवन गर्ने छु । सङ्क्रमित नहोस् भन्नाका लागि त्यस्ता ठाउँ वा व्यक्तिहरूका बिचमा मेरो उपस्थिति जनाउने छैनँ । … मेरो लापर्बाहीको नतिजास्वरूप अरूको मृत्यु नहोस् । परमेश्वरले मलाई उठाउने इच्छा गर्नुभयो भने उहाँले अवश्य मलाई फेला पार्नुहुने छ र उहाँले मबाट जे अपेक्षा गर्नुभएको थियो, त्यो मैले पूरा गरिसकेको छु । तसर्थ मेरो आफ्नै मृत्यु वा अरूहरूका मृत्युको लागि म जिम्मेवार छैनँ । तथापि मेरो छिमेकीलाई मेरो खाँचो पर्‍यो भने म त्यो ठाउँ वा व्यक्तिलाई बेवास्ता गर्ने छैनँ तर माथि उल्लेख भएझैँ स्वतन्त्रतापूर्वक जाने छु । यो परमेश्वरदेखि डराउने विश्वास हो ।[iv]

“परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता” (भजनसंग्रह ४६:१) ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Black_Death Accessed on 27 April 2020

[ii] https://www.worldometers.info/coronavirus/ Accessed on 27 April 2020

[iii] कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. २०० ।

[iv] https://www.patheos.com/blogs/bibleandculture/2020/04/26/luther-on-a-pandemic/?fbclid=IwAR0b_atFIOKfJ3_Hb1AzbGwzJem4P17BCeX4DjtJrQ745AviANtlNevtE_w Accessed on 27 April 2020

Facebook Comments

Powered by Youth Circle