सुसमाचारको ग्रहणपश्चात् मान्छेले मान्छेको ज्यान लिने खेलको अन्त्य

मानिसहरू रङ्गशालामा सदाझैँ खेल हेर्न झुम्मिएका थिए । खेल सुरु हुनै लागेको थियो । टेलेमाखस नाम गरेका ख्रीष्‍टियान मैदानमा ओर्लिए र तिनले ती लडाकाहरूलाई छुट्ट्याउने कोसिस गरे । त्यस दृश्यलाई देखेर दर्शकगण यति क्रुद्ध भए कि तिनीहरूले तिनीमाथि ढुङ्गा बर्साए र तिनी मारिए । टेलेमाखसको साहस र सहादतबाट ख्रीष्‍टियान सम्राट् होनोरिअस अति प्रभावित भए र ख्रिस्टाब्द ४०४ मा तिनले यस हिंसात्मक खेललाई निषेध गरे ।[1]

यहाँ उल्लेख भएको खेलको नाउँ हो, ग्ल्याडिएटरवाद । प्राचीन रोममा खेलिने यो एउटा यस्तो डरलाग्दो खेल थियो जसमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो । इतिहासमा मान्छे मार्ने खेलको पनि अभ्यास गरिन्थ्यो भन्दा तपाईं छक्क पर्नुहोला । तर यो साँचो हो । यस्तो अमानवीय खेलको सिकार भई दसौँ हजार मानिसले आफ्ना जीवन गुमाए । रोमीहरूको बुझाइमा मानवीय जीवन कति सस्तो रहेछ भनी यस खेलले छर्लङ्ग पार्छ ।

कहिलेदेखि यो खेलको सुरुआत भयो भन्ने विषयमा प्रारम्भिक साहित्यिक स्रोतहरूका बिचमा मतैक्य छैन । रोमी लेखक उसोनियसका अनुसार रोममा २६४ ख्रिस्टपूर्वमा यो खेलको आरम्भ भएको थियो ।[2] यस खेलमा भाग लिने सहभागीहरू साधारणतया दास, दण्डाज्ञा पाएका अपराधी वा युद्धका बन्दीहरू हुन्थे ।[3] पैसा कमाउन वा दर्शकगणको तालिमा रमाउन कहिले कहीँ फुक्काहरू पनि खेलमा सहभागी हुन्थे । अनियमित रूपमा र सम्राट्‌को उर्दीद्वारा मात्र खेल सञ्चालनमा आउँथ्यो । सर्वसाधारणको रुचिलाई तीव्र पार्ने उद्देश्यले साधारणतः अनेपिक्षत रूपमा खेलको घोषणा गरिन्थ्यो । पहिलो शताब्दी ख्रिस्टपूर्व र ख्रिस्टाब्द दोस्रो शताब्दीको बिचमा यो खेल पराकाष्ठामा पुगेको थियो ।[4]

ख्रिस्टियमत रोमसम्म आइपुग्दा मान्छेले मान्छेलाई मारेर मनोरञ्जन लिने यस खेलको नतिजास्वरूप हजारौँले ज्यान गुमाइसकेका थिए । आदि ख्रीष्‍टियानहरू यस्तो खेलदेखि डराउँथे किनकि यो कुनै खेल नभई हत्या थियो । “हत्या नगर्नू” (प्रस्थान २०:१३) भन्ने परमेश्‍वरको आज्ञाबारे तिनीहरू सचेत थिए । यस्तो रक्तपात प्रतिस्पर्धालाई तिनीहरूको कुनै अनुमोदन थिएन । यस्तो खेलमा भाग लिने मान्छेले आफ्नो पेसा नबद्लेसम्म मण्डलीले उसलाई बप्‍तिस्मा दिँदैनथ्यो । मण्डली पिता तर्तुलियनले आफ्नो एउटा पुस्तकमा यस्ता खेलहरूमा भाग नलिन अर्ती दिँदै पूरै अध्याय समर्पित गरेका छन् ।[5]

मानवीय जीवनबारे ख्रिस्टियमतको उच्च दृष्टिकोण, कमजोर र थिचोमिचोमा परेकाहरूप्रति यसको चिन्ता अनि यसको जारी वृद्धिसाथै प्रभावको नतिजास्वरूप रोमी सम्राट्हरूले यस अमानवीय खेलको निषेध गरे । मानव-जातिको नैतिक इतिहासमा मान्छेले मान्छेको ज्यान लिने यस क्रूर खेलको निषेध एउटा उल्लेखनीय सुधार थियो । माथि उल्लेख भएझैँ ख्रिस्टाब्द ४०४ मा सम्राट् होनोरिअसले यस खेलको अन्त्य गरेका थिए । मानव सभ्यता निर्माणमा ख्रीष्टियानहरूले उल्लेखनीय भूमिका निभाएका छन् जसमध्ये मान्छेको ज्यान लिने यस क्रूर खेलको निर्मूलन एउटा ज्वलन्त उदाहरण हो ।

खेलको नाउँमा हजारौँ मानिसले ज्यान गुमाएको रङ्गशालामा आज एउटा विशाल क्रूस खडा छ । यो प्राचीन संसारको क्रूरतामाथि ख्रिस्टियमतको विजयको मौन साक्षी हो ।[6]

 

सन्दर्भ स्रोतहरूः

[1]   कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ११ ।

[2]   Alvin J. Schmidt, How Christianity Changed the World [Kindle Version]. Retrieved from Amazon.com

[3]   Ibid.

[4]   https://en.wikipedia.org/wiki/Gladiator

[5]   तर्तुलियनको पुस्तकको नाउँ हो, De Spectaculis.

[6]   D. James Kennedy and Jerry Newcombe, What If Jesus Had Never Been Born? [Kindle Version]. Retrieved from Amazon.com

Facebook Comments

Powered by Youth Circle