क्वारेन्टाइनकै बेलामा एक लाखभन्दा बेसी मानिसले येशूलाई ग्रहण गरे

यो वर्षका ‘गुड फ्राइडे’ तथा ‘इस्टर’ जस्ता पवित्र दिनहरू ख्रीष्टियानहरूले घरघरमै बसेर मनाए । तरै पनि यो सालको पवित्र हप्तामा एक लाखभन्दा बेसी मानिसले येशूलाई ग्रहण गरेका छन् । लाइभ सञ्चालन गरिएको कार्यक्रमलाई संसारका विभिन्न कुनाबाट १७ लाखभन्दा बढी मानिसले हेरेका थिए ।[i]

मण्डली इतिहासमा विभिन्न किसिमका ‘जागृति’ देखिए तापनि ती कुनै एउटा ठाउँ विशेषमा हुन्थे, तर यो जागृति कुनै एउटा ठाउँको नभई संसारकै जागृति साबित भयो । त्यसैले यसलाई ‘महान् क्वारेन्टाइन जागृति’ भनिएको छ ।

पल्स नाउँ गरेको ख्रीष्टियान सेवाकार्यले लाइभ कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।[ii] निक हल यसका संस्थापक हुन् । तिनका अनुसार संसारभरिबाट मानिसहरूले इमेल, वेबसाइट, टेक्स्ट म्यासेजसाथै कलबाट आफ्ना प्रतिक्रिया दिएका थिए । नेपालदेखि नाइजेरियासम्म अनि भारतदेखि रुससम्मका मुलुकहरूका मानिसहरूले मोबाइल फोन, टेलिभिजनसाथै ल्यापटपजस्टा डिभाइसहरूमार्फत लाइभ कार्यक्रम हेरे । कोरोना भाइरस (कोभिड-१९) महामारीको बिचमा पनि परमेश्वर सक्रिय हुनुहुन्छ भन्ने यो स्पष्ट साक्षी हो । हलले भने, “हाम्रा मण्डली भवनका ढोकाहरू बन्द भएका हुन सक्छन्, तर मण्डली बन्द भएको छैन । हामी महान् क्वारेन्टाइन जागृतिद्वारा बाँचिरहेका छौँ र मलाई लाग्छ कि परमेश्वरले सुरु मात्र गर्दै हुनुहुन्छ ।”

लकडाउनको कारण मानिसहरू घरभित्रै थुनिए तापनि तिनीहरू प्रविधिबाट भने वञ्चित भएका छैनन् । इस्टरअगि पल्सले केही गर्ने आशा लिएको थियो । त्यसैले उसले संसारका विविध क्षेत्रमा छरिएर रहेका ब्रोडकास्ट कम्पनी, अनुवादकहरूसाथै अनुगमन गर्ने सेवाकार्यको विशाल नेटवर्क खडा गर्‍यो । यसले ल्याएको विस्मयकारी नतिजा देखेर पल्स छक्क पर्‍यो ।

पल्सले विश्व प्रसिद्ध रक्षाशास्त्री रबि जकारिया, सर्वाधिक परिचित लेखक म्याक्स लुकाडो, ख्यातिप्राप्त कोच टोनी डङ्गीजस्ता प्रभुका जनहरूलाई कार्यक्रममा ल्याएको थियो । सेवालाई नेपाल, भारत, चीन, जापान, थाइल्यान, केन्या, नाइजेरिया, युक्रेनसाथै रुसजस्ता झन्डै १०० ओटा मुलुकमा प्रसारण गरिनुकासाथै ४० ओटा भाषामा अनुवाद गरिएको थियो ।

रेभरेन्ड रोड्रीगजले भने, “म कृतज्ञ छु, महामारीको लागि होइन, न त कोभिड-१९ को लागि, तर परमेश्वरले आफ्ना सन्तानहरूको सामूहिक भलाइको खातिर यी कुराहरूलाई उल्ट्याइदिनुहुने छ भन्नाका लागि म कृतज्ञ छु ।” तिनले जारी राखे, “उहाँले आफ्नो तरिकाले काम गर्नुहुने छ: विश्वास गर्नेहरूको भलाइको लागि सबै कुरा मिलेर काम गर्ने छन् । यस्तो ताजा जागृतिको अनुभव गर्ने यस समयमा बाँच्न पाएकोमा म कृतज्ञ छु ।”[iii]

“किनकि सदासर्वदा जीवित हुनुहुने, उच्‍च र श्रेष्‍ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्‍नुहुन्‍छ, ‘म उच्‍च र पवित्र ठाउँमा बस्‍दछु, विनम्रको आत्‍मा जागृत गराउन र पश्‍चात्तापीको हृदय जागृत गराउन, त्‍यससँग पनि बस्‍दछु जो आत्‍मामा पश्‍चात्तापी र विनम्र छ'” (यशैया ५७:१५) ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://churchleaders.com/news/374789-nick-hall-100000-salvations-linked-to-great-quarantine-revival.html?fbclid=IwAR0rXHEWKeZwJJkMoHN1OnZoE1AS6NrBcRZuM_gB7QzChh7dtXoBN5fEB-A Accessed on 25 April 2020

[ii] https://www1.cbn.com/cbnnews/cwn/2020/april/the-great-quarantine-revival-100-000-choose-christ-during-virtual-and-broadcast-services-easter-week?fbclid=IwAR06pGCsLi82i9WHptGxwqdOYpTUW48Tz8FDUq8Gn7kqFQHQ8cmG4zu8QoA Accessed on 25 April 2020

[iii] Ibid.

Facebook Comments

Powered by Youth Circle