कोरोना: ख्रीष्टियानद्वारा स्थापित रेस्टुरेन्ट कम्पनीद्वारा १ अरब ३३ करोड राहतको घोषणा

चेक फिलए अमेरिकाको एउटा रेस्टुरेन्ट कम्पनीको नाउँ हो । ७४ वर्षअगि स्थापित यो रेस्टुरेन्टको मुख्यालय जर्जिया राज्यमा अवस्थित छ । यो अमेरिकाकै सर्वाधिक ठुला रेस्टुरेन्ट कम्पनीहरूमा पर्छ । बेलायत र क्यानडामा समेत आफ्नो व्यापारको पाल तन्काएको यस कम्पनीअन्तर्गत २,३०० ओटाभन्दा बेसी रेस्टुरेन्ट सञ्चालनमा छन् ।[i]

यसका संस्थापक समुएल ट्रुट केथी एक भक्त ख्रीष्टियान थिए । छ वर्षअगि आफ्नो स्वर्गीय घरमा प्रवेश गरेका तिनी व्यापारी, लगानीकर्ता, लेखकसाथै मानवतावादी थिए । ५० वर्षभन्दा बेसी बाल सङ्गतिमा पढाएर तिनले आफ्नो चर्चमा उल्लेखनीय योगदान दिए । तिनको जीवनको लागि बाइबल मार्गदर्शन गर्ने पुस्तक थियो ।[ii]

कम्पनीका अधिकांश मूल्य-मान्यता यिनै संस्थापकको धार्मिक विश्वासद्वारा प्रभावित छन् । पश्चिमेली मुलुकहरूका आइतबार ख्रीष्टियान आराधनाको दिन भएकोले यस कम्पनीअन्तर्गत रहेका सबै रेस्टुरेन्ट आइतबार बन्द हुन्छन् । यसका अतिरिक्त ख्रिस्टमससाथै धन्यवाद ज्ञापन दिवसको अवसरमा पनि रेस्टुरेन्टहरू बन्द गरिन्छन् ।[iii]

ख्रीष्टियान मूल्य-मान्यतामा आधारित यस कम्पनीले यही हप्ता कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई लक्षित गरी १ अरब ३३ करोड रुपियाँ राहतस्वरूप दिने घोषणा गरेको छ ।[iv]

यस सहयोगमार्फत स्थानीय समुदायहरूका आवश्यकताहरूमा तत्काल प्रभाव पार्नु कम्पनीको लक्ष्य रहेको छ । कम्पनीका वर्तमान अध्यक्ष डन केथीले भने, “सहयोगी, वास्ता गर्ने र उदारचित्तले दिने छिमेकी बन्नु हाम्रो डीएनएमा छ । हाम्रा रेस्टुरेन्ट सञ्चालकहरूले विभिन्न किसिमबाट स्थानीय तवरमा पनि सहयोग गरिहरेका छन् र त्यसले अहिले पनि निरन्तरता पाउँछ ।”

यो घोषणाभन्दा अगि पनि कम्पनीले विभिन्न किसिमले सहयोगी हात फैलाइसकेको छ । अमेरिकामा मार्च महिनामा महामारी फैलिएलगत्तै उसले ३,३२,००० निशुल्क खाना उपलब्ध गराएको थियो ।

“हाम्रा रेस्टुरेन्ट टिमहरूले देखाएका अद्भुत वास्ताबाट म प्रभावित छु । तिनीहरूले स्वास्थ्यकर्मीहरूलाई निशुल्क खाना उपलब्ध गराउनदेखि खाँचोमा परेका स्कुलका बालबालिकाहरूलाई खुवाएका छन्,” कम्पनीका वर्तमान प्रमुख केथीले भने । “तिनीहरूका स्थानीय समुदायमा खाँचो कहाँ छ भनी तिनीहरूलाई थाहा छ र यो चन्दाको लागि हाम्रो लक्ष्य भनेको तिनीहरूका प्रयासहरूको मदत गर्नु हो ।”

“खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ” (२ कोरिन्थी ९:७) ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Chick-fil-A Accessed on 24 April 2020

[ii] https://en.wikipedia.org/wiki/S._Truett_Cathy Accessed on 24 April 2020

[iii] https://en.wikipedia.org/wiki/Chick-fil-A Accessed on 24 April 2020

[iv] https://godtv.com/chick-fil-a-relief-effort/ Accessed on 24 April 2020

Facebook Comments

Powered by Youth Circle