कोरोना: ह्विलचेएरमा बस्ने गभर्नरले भने— परमेश्वरमाथि भरोसा राख्नुहोस्

टेक्सास अमेरिकाको दक्षिणमा पर्ने एउटा राज्यको नाउँ हो । क्षेत्रफलको आधारमा यो अमेरिकाको दोस्रो ठुलो राज्य हो । पहिलो अलस्का हो । ६,९६,२४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो राज्य नेपालभन्दा झन्डै पाँच गुणा ठुलो छ । २०१९ को आँकडाअनुसार यहाँको जनसङ्ख्या २ लाख ८९ हजार रहेको छ ।[i] यहाँका ७७% मानिस ख्रीष्टियान छन् ।[ii]

कोरोना सङ्क्रमणको दृष्टिकोणबाट अमेरिकी राज्य टेक्सास एघारौँ स्थानमा रहेको छ । यहाँ २१,४५८ जना सङ्क्रमित छन् भने ५५० जनाले ज्यान गुमाएका छन् ।[iii]

यो राज्यका वर्तमान गभर्नर हुन्, ग्रेगोरी वेने अब्बोट । ख्रिस्टाब्द २०१५ देखि सेवामा रहेका तिनी टेक्सासका ४८ औँ गभर्नर हुन् । पास्टर ज्याक ग्राहमद्वारा तिनीसित हालै लिइएको एउटा अन्तर्वार्तामा यस कोरोना भाइरस (कोभिड-१९) को महामारीको बिचमा तिनले परमेश्वरमाथि भरोसा गर्न अनुरोध गरेका छन् ।[iv]

गत आइतबार मण्डली सेवाको बेलामा लिइएको अन्तर्वार्तामा गभर्नर अब्बोटले कोरोना भाइरस विरुद्धको लडाइँमा हामी परमेश्वरको सक्रिय हात देख्न सक्छौँ भनी बताए । यस कहरको बिचमा तिनले आफ्नो व्यक्तिगत सङ्घर्षलाई यसरी सम्झे, “म २६ वर्षको छँदा मेरो ढाँड भाँचिएको थियो ।” तिनको कम्मरभन्दा मुनिको भाग चल्दैन । आँधीबेहरीपश्चात् भाग्ने क्रममा रुख ढलेर तिनलाई लागेको थियो ।

यस दुर्घटनाबाट तिनी सदाका लागि पक्षाघाती बन्न पुगे । यही चोटले तिनलाई यस्तो ठाउँमा पुर्‍यायो जहाँ तिनले टेक्सासलाई प्रभावकारी ढङ्गमा अगुवाइ गर्न सके । तिनका अनुसार यसले तिनको विश्वासको जाँच गरे तापनि तिनले परमेश्वरमाथिको भरोसा गुमाएनन् । यस दुर्घटनापश्चात् परमेश्वर र येशू ख्रीष्टसित भएको तिनको सम्बन्ध झनै प्रगाढ भयो । तिनले सम्झे, “यसले मलाई महान् राज्य टेक्सासको गभर्नर हुन सक्षम तुल्यायो ।”

जीवनमा हरेकले चुनौतीको मात्र नभएर जाँचको पनि सामना गर्नुपर्छ । चुनौतीका बाबजुद पनि येशूले मानिसहरूलाई मदत गर्नुहुन्छ र उहाँ सधैँ तिनीहरूका साथमा हुनुहुन्छ । अपाङ्गता भएका गभर्नरले सान्त्वना दिएका छन् कि तपाईंले येशू ख्रीष्ट र परमेश्वरमाथि विश्वास गर्नुभयो भने तपाईंले यस आँधीबेहरीबाट पार पाउन सक्नुहुने छ । तिनले जारी राखे, “परमेश्वरले हामीलाई आँधीबेहरीविनाको जीवन कहिल्यै प्रतिज्ञा गर्नुभएको छैन । उहाँले गर्नुभएको प्रतिज्ञाचाहिँ ती आँधीबेहरीबाट उम्कने बाटो हो । मैले मेरो जीवनमा त्यही देखेको छु र टेक्सासमा पनि त्यही देखिरहेको छु ।”

गभर्नर अब्बोटका अनुसार कोरोना भाइरसको सवालमा परमेश्वरले आफ्ना जनहरूको प्रार्थनाको जवाफ दिइरहनुभएको छ । परमेश्वरले वैज्ञानिकसाथै चिकित्सकहरूमार्फत काम गरिरहनुभएको छ । यस्तो सङ्कष्टको घडीमा तिनले सबैलाई परमेश्वरमाथि भरोसा राख्न अनुरोध गरेका छन् ।

“परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता” (भजनसंग्रह ४६:१) ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Texas Accessed on 23 April 2020

[ii] https://en.wikipedia.org/wiki/Texas#Religion Accessed on 23 April 2020

[iii] https://www.worldometers.info/coronavirus/country/us/ Accessed on 23 April 2020

[iv] https://stream.org/while-ny-gov-cuomo-rejects-gods-help-in-this-crisis-texas-governor-abbott-says-put-your-faith-in-god/?fbclid=IwAR2SLK9A9aSPjnH-q6mpoeLYkIGMKwZRhKvYqV_VwH3A1Vav6MQGYdkgQmk Accessed on 23 April 2020

Facebook Comments

Powered by Youth Circle