मदर्स डेबारे ख्रीष्टियानले जान्नुपर्ने ७ ओटा कुरा

१. ‘मदर्स डे’ अङ्ग्रेजी Mother’s Day को लिप्यन्तरण हो । यसलाई ‘मातृ दिवस’ भनेर अनुवाद गर्न सकिन्छ । यो परिवारको आमालाई विशेष किसिमले सम्झना गरी मनाइने दिवस हो । यसको अर्थ बाँकी ३६४ दिन आमाको बेवास्ता गरी त्यस दिन मात्र उहाँलाई सम्झने भन्ने होइन । आमा ३६५ दिनै अति आदरको योग्य छिन्, तर एक दिनचाहिँ विशेष किसिमले सम्झना गरौँ भन्ने हो । संसारका विभिन्न मुलुकमा बेग्लाबेग्लै मितिमा यो दिवस मनाइन्छ । नेपालमा भने मातातीर्थ औंसीको दिनमा यो दिवस मनाइन्छ ।

२. रेआको उत्सवसँगै मदर्स डेको थालनी भएको थियो । रेआ ग्रिक मिथ्याशास्त्रका एक पात्र हुन् । मिथ्याशास्त्रमा काल्पनिक कथाहरूको अध्ययन गरिन्छ । ‘देवहरूकी आमा’ को रूपमा चिनिएकी रेआ आकाशका देव अरुण र पृथ्वीकी देवी गाइयाका छोरी थिइन् । मदर्स डेसित सम्बन्धित आधुनिक समयमा मनाइने अधिकांश उत्सवहरू प्राचीन परम्परासित सम्बन्धित छैनन् ।

३. सत्रौँ शताब्दीमा इङ्गल्यान्डका ख्रीष्टियानहरूले ख्रीष्टकी आमा मरियमको सम्मानस्वरूप एउटा दिनमा उत्सव मनाउन थाले र पछि उक्त बिदाको दिनमा सबै आमालाई समेटियो । आधुनिक मदर्स डेको थालनी भने अमेरिकामा भयो । बिसौँ शताब्दीमा अन्ना मारिया जर्भिसले यसको थालनी गरेकी थिइन् । उनकी आमा सामाजिक अभियन्ता थिइन् जसबाट अन्नाले एउटा बाल सङ्गतिमा आमाबाट मदर्स डेको लागि प्रेरणा पाएकी थिइन् भनिएको छ । आज संसारका ४० ओटाभन्दा बेसी मुलुकमा मदर्स डे मनाइन्छ । आमालाई डिनरको लागि लगेर, फलफूलसाथै, कार्ड दिएर वा क्यान्डल बालेर मदर्स डे मनाउने चलन छ ।

४. हामीले आमा (र बुबा) दुवैको आदर गर्नुपर्छ भनी बाइबलले आज्ञा दिन्छ । पाँचौँ आज्ञामा लेखिएको छ, “आफ्‍ना बाबु र आमालाई आदर गर” (प्रस्थान २०:१२) । पावलले नयाँ करारमा पनि यो आज्ञालाई उद्धृत गरेका छन् (एफिसी ६:२) । बुबा आमाको आदर गरिनुपर्छ भनेर पुरानो र नयाँ करार दुवैमा प्रस्ट आज्ञा पाइन्छ ।

५. कुनै विशेष दिनमा बुबा वा आमाको आदर गर्नुपर्छ भनी बाइबलले कतै पनि आज्ञा दिएको छैन । अर्कोतिर, त्यसो गर्नुहुँदैन भनेर पनि कतै निषेध गरिएको छैन । तसर्थ गैरख्रिस्टियान चलनसित जोडिएको दिनलाई ख्रीष्टियानहरूले मदर्स डेको रूपमा मनाउनुहुन्छ वा हुँदैन भन्ने प्रश्न विचारणीय छ ।

६. यो सवालको जवाफ पाइन्छ रोमी १४:५-६ मा जहाँ लेखिएको छ, “कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्‍दा बढी महत्त्वको मान्‍छ, अर्को मानिसले सबै दिनलाई समान ठान्‍छ । हरेक मानिस आफ्‍नै मनमा पूर्ण रूपले निश्‍चित हुनुपर्छ । जुन व्‍यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्‍यसले प्रभुको आदरको निम्‍ति पालन गर्छ ।”

७. निस्सन्देह, हामी ख्रीष्टियानको जीवनमा परमेश्वरको इच्छाको पालना नै हाम्रो लक्ष्य हुनुपर्छ । धर्मशास्त्रमा प्रस्ट रूपमा सम्बोधन नगरिएको सवालको हकम त्यसलाई मान्ने वा नमान्ने भन्ने कुरो हाम्रो स्वतन्त्रतामा भर पर्छ । एउटा ख्रीष्टियानलाई मदर्स डे मान्नु उचित लाग्यो भने उसले मान्न सक्छ भने अर्कोलाई उचित नलागेमा उसले नमान्न सक्छ । नमान्नेले मान्नेलाई दोष नलगाओस् र मान्नेले नमान्नेलाई तुच्छ नठानोस् । जन्म दिने आमालाई गरिने आदर केन्द्रमा पर्नुपर्छ ।

Facebook Comments

Powered by Youth Circle