कोरोना भाइरसको महामारीको लागि को जिम्मेवार— परमेश्वर वा मानिस ?

यस्तो जटिल प्रश्नको जवाफ खोज्ने प्रयासमा प्रेरित पावलको अर्तीलाई ख्याल गरी पहिले मानवीय विनम्रतालाई व्यक्त गर्नु बुद्धिमानी हुन्छ, “आहा! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने! ‘किनभने प्रभुको मनलाई कसले जानेको छ ? अथवा उहाँको सल्‍लाहकार को भएको छ’” (रोमी ११:३३-३४) ? हामी सीमित मानव-जातिले असीमित परमेश्वरका थोरै कुरा मात्र बुझ्न सक्छौँ भनी मानिलिनु पहिलो कदम हुनुपर्छ ।

मानव-जाति यस अर्थमा भाग्यमानी छन् कि परमेश्वरले आफूलाई प्रकृतिमा मात्र नभई बाइबल धर्मशास्त्रमा पनि प्रकट गराउनुभएको छ जसलाई पारिभाषिक अर्थमा विशेष प्रकाश भनिन्छ ।

मानव-जातिको बिचमा पापको प्रवेश (उत्पत्ति ३) भएसँगै “सारा सृष्‍टि अहिलेसम्‍म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ” (रोमी ८:२२) । परमेश्वरको मूल सृष्टि जस्तो थियो, त्यो अहिले त्यही अवस्थामा छैन किनकि तपाईं र म अहिले पापले प्रवेश पाएको संसारमा बाँचिरहेका छौँ । सबै थोक सृष्टि गर्नुभएपछि उहाँले आफ्नो सृष्टिलाई हेरी निष्कर्ष निकाल्नुभयो, “त्‍यो साह्रै राम्रो थियो” (उत्पत्ति १:३१) । उहाँको सृष्टिमा पापको गन्ध पनि थिएन ।

बाइबल धर्मशास्त्रअनुसार मुल सृष्टि “सार्‍है राम्रो थियो” (उत्पत्ति १:३१) । त्यहाँ कुनै पाप थिएन, न त कोरोना भाइरस । तर आज हामीले यी सबै दुष्ट्याइँको सामना गरिरहनुपरेको छ । प्रथम दम्पतीले परमेश्वरले दिनुभएको स्वतन्त्र इच्छालाई उहाँको आज्ञा उल्लङ्घनको लागि प्रयोग गरेकाले मानव–जाति दुष्ट्याइँ विद्यमान संसारमा बस्नुपरको हो ।

के परमेश्वरले कोरोना भाइरस ल्याउनुभएको हो ? यसको जवाफ हुन्छ— होइन । किन ? किनकि बाइबलले हामीलाई बताउँछ कि “एकमात्र परमेश्‍वरबाहेक अरू कोही असल छैन” (मर्कूस १०:१८) । भजनका लेखक बताउँछन्, “उहाँका हातका कामहरू विश्‍वासयोग्‍य र न्‍यायपूर्ण छन्‌, उहाँका सबै आदेश विश्‍वसनीय हुन्‍छन्‌” (भजनसंग्रह १११:७) । प्रेरित यूहन्ना लेख्छन्, “परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन” (१ यूहन्ना १:५) ।

फेरि एक पटक, के परमेश्वरले कोरोना भाइरसको महामारी ल्याउनुभएको हो ? होइन । के परमेश्वरले यसलाई अनुमति दिनुभएको हो ? हो । यी दुईवटा प्रश्न उस्तै जस्तो लागे तापनि फरक छन् । यो भिन्नतालाई बुझ्ने कोसिस गरौँ । एउटा चालकको लापर्वाहीले दुर्घटना निम्त्याई ५० जना मानिस मरे भने त्यसको लागि को जिम्मेवार ? लाइसेन्स प्रदान गर्ने कार्यालय वा चालक स्वयम् ? कार्यालय दोषी हुँदैन भनी जोकसैलाई पनि थाहा छ ।

कोरोना भाइरस दुष्ट्याइँ अर्थात् खराबीको एउटा स्वरूप हो । परमेश्वर खराबीको प्रारम्भकर्ता हुन सक्दैन । परमेश्वरले दुष्ट्याइँको सम्भाव्यतालाई सृजनुभयो, तर मानव–जातिले त्यस सम्भाव्यतालाई वास्तविक बनाइदिए । परमेश्वर दुष्ट्याइँको स्रोत हुनुहुन्न; हाम्रो स्वतन्त्रतामा यसको सम्भाव्यता अन्तर्निहित थियो । तसर्थ कोरोना भाइरसलगायत संसारका सम्पूर्ण खराबीको जिम्मा मानव-जातिले नै लिनुपर्छ ।

के कोरोना भाइरसको महामारीलाई अनुमति दिएर परमेश्वरले भलाइ ल्याउन सक्नुहुन्छ ? बाइबल र इतिहासबाट एउटा-एउटा उदाहरण हेरौँ ।

उत्पत्तिको पुस्तकमा योसेफ आफ्ना लालची दाजुहरूबाट बेचिए । तर पछि तिनी मिश्रकै दोस्रो ठुलो पदमा पुगे । तिनले आफ्ना दाजुहरूलाई दिएका जवाफ निकै मननयोग्य छ, “तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्‍वरले त्‍यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो” (उत्पत्ति ५०:२०) ।

एक जना व्यक्ति आफ्नो फ्लाइट समात्न हतारसँगै जाने क्रमम उसको कारको टाएर पन्चट हुन पुग्यो । फोन रिसिभ गरेपछि उसले थाहा पायो कि उसले टिकट लिएको जहाज दुर्घटनामा परी सबै ११० जना नै मरे । बाटोमा टाएर फेर्नको लागि उसले अलमल नगर्नुपरेको भए मर्नेहरूको सङ्ख्या तिनीसहित १११ पुग्नेथियो । टाएर फेर्नुपरेकोले उसको जीवन बाँच्यो ।

हाम्रो जीवनमा परमेश्‍वरले उदेकका योजनाहरू बनाउनुभएको छ भनी हामीले मानिलिनुपर्छ यद्यपि हामी ती सबैलाई बुझ्नबाट चुक्छौँ । जेलाई हामी हानि ठान्छौँ त्यही कुरो भलाइमा परिणत भएका उदाहरणहरू बाइबलमा मात्र नभएर इतिहासमा पनि पाइन्छन् । “हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्छ” (रोमी ८:२८) ।

Facebook Comments

Powered by Youth Circle